Sunday, April 5

‘समाचार र विचारको
साझा चौतारी’





श्रमिक महिला दिवसका अवसरमा


– विप्लव

नेपालमा यो वर्षको श्रमिक महिला दिवस विशिष्ट खालको रह्यो । कारण एकथरी महिलाहरूले केवल वक्तव्यबाजी गरेर मनाए तर वास्तविक नेपाली श्रमिक महिलाहरूको नेतृत्वदायी सङ्गठन अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) की अध्यक्ष बन्धु चन्द, महासचिव धीरेन्द्राकुमारी उपाध्याय ‘ भृकुटी’, कम्युनिस्ट पार्टीकी नेता कमरेड शिलुसहित दर्जनौँ महिला नेता–कार्यकर्ताहरूले कम्युनिस्ट नामधारी केपी सरकारको जेल र हिरासतभित्र श्रमिक महिला दिवस मनाउनुभयो । दमन गर्दागर्दै पनि महिला सङ्घका अन्य नेताहरूले श्रमिक महिलाहरूसँग दिवस मनाए ।
यसो त श्रमिक महिला दिवसको इतिहास पुँजीवादी उत्पीडन, महिला अधिकार, कम्युनिस्ट चेतना र विद्रोहसँग जोडिएको छ । विभेद, शोषण, उत्पीडनका विरुद्ध रक्तरञ्जित विद्रोहसँग गाँसिएको छ । श्रमिक महिला दिवस मनाउनुको अर्थ र सार्थकता पनि यही गौरवपूर्ण सङ्घर्षको मूल्यबोधसँग जोडिन्छ ।
नेपालमा महिलाहरूमाथि केही वर्ष पहिलेसम्म कति विभेद, शोषण, दमन थियो, उल्लेख गर्न पनि डर लाग्ने खालको छ । परिवार र समाजमा महिलाहरू पुरुष र श्रीमान्का लागि उपभोग्य वस्तु थिए । उनीहरूको काम भनेको श्रम गर्नु मात्र थियो । सत्ता, सम्पत्ति र शिक्षामाथि कानुनी रूपले नै महिलाहरूलाई कुनै अधिकार थिएन । श्रीमान् मर्दा स्वर्गका लागि सँगै चितामा जल्नुपर्ने विवशता थियो । महिलामाथिका यी शोषण, उत्पीडनको संरक्षक नै राज्यसत्ता थियो । विद्रोह, बलिदान र विभिन्न परिवर्तनका कारण श्रमिक महिलाहरूले अति उत्पीडनबाट केही मुक्ति र अधिकार पाउँदै आएका छन् । खासगरी २००७ सालको विद्रोह र परिवर्तन, पञ्चायतविरुद्ध भएका सङ्घर्षहरू, २०५२ सालदेखि २०६३ सालसम्म चलेको जनयुद्ध र महत्वपूर्ण जागरण एवम् परिवर्तनले गर्दा महिलाहहरूले केही महत्वपूर्ण अधिकारहरू प्राप्त गरेका छन् । मुख्य रूपले अहिले महिलाहरूले शिक्षा, राजनीति र आर्थिक क्षेत्रमा केही न केही कार्य गर्ने मौका प्राप्त गरेका छन् । हुन पनि ती विद्रोह, आन्दोलन र क्रान्तिमा महिलाहरूको सहभागिता पुरुषसमान नै रहँदै आएको छ । खासगरी जनयुद्धमा सबैभन्दा तीव्रता र व्यापकतामा महिला सहभागिता रहेको थियो । त्यसमा अभूतपूर्व कार्यहरू महिला वीराङ्गनाहरूबाट गरिए । राजनीतिज्ञ, सेना, सङ्गठन, सत्ता सञ्चालक, विभिन्न क्षेत्रका काम र बलिदान गर्नेमा महिला सहभागिता पुरुषसमान थिए । त्यो विद्रोहमा भाग लिने र नेतृत्व गर्नेमा कमरेड बन्धु चन्द, धीरेन्द्राकुमारी उपाध्याय ‘भृकुटी’ हरू पनि हुनुहुन्थ्यो । विडम्बना ! आज तिनै महिला नेत्रीहरूले अधिकारका लागि सङ्घर्ष गरेबापत कम्युनिस्ट नामधारी केपी सरकारको जेल र हिरासतमा बन्द हुनुपरेको छ । यसले एकदमै राम्रोसँग बुझाउँछ– अधिकारका लागि लड्ने क्रान्तिकारी महिलाहरू आज पनि दलाल पुँजीवादी राज्यसत्ता र केपी सरकारका आँखामा अपराधी देखिएका छन् । महिलाहरूले अधिकार खोज्नु अपराध भएको छ । केपी सरकारको भनाइ छ– नेपालमा लोकतन्त्र र गणतन्त्र छ । यसमा सबै बराबर भइसके । महिलाले पाउने अधिकार यति हो । यसभन्दा बढ्ता खोज्नु संसदीय व्यवस्था र गणतन्त्रका विरुद्धको अपराध हो ।
यथार्थमा महिलाहरूमाथि आज पनि परिवार, समाज र राज्यभित्र अनेकौँ विभेद, उत्पीडन र दमन छन् । धेरै भित्र नपसेर बाहिरबाटै सर्लक्क देखिने विभेदमा अझै छोरा र छोरीमा विभेद छ । छोरालाई जन्मसिद्ध सम्पत्तिको अधिकार छ तर छोरी थुप्रै कानुनी अड्चन पार गरेर मात्र आंशिक हकदार बन्छिन् जस्तो कि बाबुको सम्पत्ति पाउन छोरीलाई सन्तान भएबापत पुग्दैन, एउटा उमेर काट्नुपर्छ । आर्थिक कार्यमै पुरुषभन्दा कमजोर सुविधा छ जस्तै पुरुषले उही काममा १००० पाउँछ भने महिलाले ७०० पाउँछिन् । विभिन्न सामाजिक कुरीतिमा महिलाहरू परिरहेका छन् जस्तो कि दाइजो, छाउपडी, बोक्सी, घुम्टो, बुर्का आदि प्रथाहरू । शारीरिक शोषण महिलाहरूमै अतुलनीय रूपले छ । जस्तो कोठीमा बेच्ने, वेश्यालयमा बेच्ने, जबरजस्ती यौनशोषण गर्ने, बलात्कार गर्ने, कुटपिट गर्ने, जबरजस्ती काममा लगाउने कार्यहरू भइरहेका छन् । राजनीतिक रूपले कुनै पनि क्षेत्रमा पुरुषसरह सहभागिता छैन । पुँजीवादी कानुनमै महिलालाई प्रतिशत तोकेर तल पारिएको छ । कैयौँ देशमा त महिलालाई मानवको स्थितिमा समेत राखिएको छैन । जस्तो कि मुख छोप्नुपर्ने, राजनीतिमा भाग लिन नपाउने, पढ्न नपाइने, खेल खेल्न, गाडी चलाउन नपाइने, पुरुषलाई भगवान् मान्नुपर्नेजस्ता अवस्थाहरू छन् । यसकै विरुद्ध लड्दा महिलाहरूले जेलमा सड्नुपर्ने भएको छ । के यो बलिदानीपूर्ण इतिहास र सत्यप्रतिको उपहास होइन !
हुनत पुँजीवादी—दलाल पुँजीवादी राज्य जहाँ र जहिले पनि श्रमिक एवम् सचेत महिलासँग त्रसित र दमनकारी रहँदै आएको छ । आफ्नो श्रममा बाँच्ने, श्रमअनुसारको दाम वा अधिकार माग गर्नेलाई श्रमचोर र शोषकहरूले आफ्नो आँखाको कसिङ्गर ठान्दै आएका छन् । जुनसुकै नामका होऊन्, उनीहरू शासक र शोषकमा बदलिएपछि श्रमिकहरूलाई आफ्नो दुस्मन देख्न पुग्छन् । अमेरिकाको सिकागोमा भएको महिला विद्रोह र बलिदानसहित विश्वका अनेकौँ महिला सङ्घर्षहरू यसैका परिणाम थिए । केपी वली सरकार तिनै दमनकारी सत्ताको उत्तराधिकारीमा पतन भएकाले अधिकारका लागि विद्रोह गर्ने महिलालाई जेलमा कोच्ने नै भयो । मजाक यो भएको छ– नेपालको राष्ट्रपतिमा महिला नेता विद्या भण्डारी नै छिन् तर श्रमिक महिलाको पूर्ण अधिकारका लागि हिजो लडेका र आज लडिरहेका बन्धु चन्दहरू जेलमा सडिरहनुभएको छ । केपी सरकार कतिसम्म क्रूर देखियो भने नेता बन्धु चन्दकी आदरणीय आमा अस्पतालमा छट्पटाउँदै अन्तिम अवस्थामा पुग्दासमेत भेट्न दिइएन । उहाँको निधनपछि श्रद्धाञ्जलीसभामा भाग लिन दिइएन । यस्तो विषय विद्यालाई थाहा छ कि छैन ? उनीलगायत कैयौँ महिला नेताहरूले वास्तविक क्रान्तिकारी महिला आन्दोलनका नेता बन्धु चन्दहरूलाई जेल कोचेर श्रमिक महिला दिवसको चर्चा गरिरहन्छन् भने विद्याहरू दमनकारी सत्ताको हतियार र डण्डा बनेर आफ्नै वर्गप्रति घोर अपराध गरिरहेका छन् भन्ने स्पष्ट हुँदैन र !
तर इतिहासको सत्यले बताउँछ– श्रमिक महिलाहरूमाथिको दमनले श्रमिक महिलाका अधिकार प्राप्तिको न्यायपूर्ण आन्दोलनलाई कहिल्यै रोक्न सक्दैन । दमनले अवश्य बलिदानको माग गर्छ तर क्रान्तिकारी महिलाहरूको बलिदानबाट पैदा हुने आँधीले दमनकारी सत्ता र त्यसका नाइकेहरूलाई धर्तीबाट नामेट पारिदिनेछ । एक दिन केपी वलीहरूको दमनकारी सत्ता र सरकार समाप्त हुनेछ भने महिला नेता बन्धु र भृकुटीहरू विजयी हुनुहुनेछ । दमनकारी शासकहरू कलङ्कित हुँदै गर्दा श्रमिक महिला मुक्तिका लागि लड्ने वीराङ्गनाहरूले भने आफ्नो गौरवपूर्ण इतिहासमा नयाँ इँट थप्दै सर्वोत्तम प्रेणा दिइरहनेछन् ।
२८ फागुन, २०७६, २०७६, ७ चैत्र शुक्रबार १४:२९ ई-रातो खबर

प्रतिकृया दिनुहोस्