Sunday, April 5

‘समाचार र विचारको
साझा चौतारी’





सन्दर्भ: कोइराला स्मृति दिवस ‘गिरिजा बाबुको अविष्मरणीय राजनीतिक यात्रा’


हरिविनोद अधिकारी

बीपीको असली कार्यकर्ताभन्दा पनि कुशल संगठक भएकाले गिरिजाप्रसाद कोइराला मृत्युपर्यन्त कांग्रेसको पर्यायवाची भएर रहनुभयो। गिरिजा बाबु कांग्रेसको सभापति हुनुभयो, बारम्बार कांग्रेसको संसदीय नेताका हैसियतले प्रधानमन्त्री हुनुभयो।

प्रधानमन्त्री हुँदा पनि उहाँलाई कांग्रेसको संगठनकै चिन्ता हुन्थ्यो। बीपी स्वयं पनि कतिपय सांगठनिक कुरामा गिरिजा बाबुको सल्लाहले मात्र काम गर्नुहुन्थ्यो भन्ने भनाइ छ।पछि त गिरिजा बाबुप्रति जतिसुकै कुरा नमिले पनि उहँँका समकालीन र अग्रज नेताहरूले उहाँलाई मान्नै पर्ने अवस्था सृजना भयो, जुन उहाँको जीवनभरि लागू भयो।

तर त्यस्तो व्यक्ति पनि एकदिन यो नश्वर शरीर यहीँ छोडेर जानुभयो। आध्यात्मिकताका आधारमा भन्ने हो भने, उहाँले अर्को चोलाका लागि यो शरीररुपी लुगा परिवर्तन गर्नुभयो, भौतिकवादी तरिकाले भन्दा उहाँको भौतिक अस्तित्व यहीँ विलीन भयो। त्यो दिन थियो २०६६ साल चैत्र ७ गते। एउटा प्रजातान्त्रिक सेनापतिको महाप्रयाणको दिन। स्मृति दिवस।

कोइरालाको क्रान्तिकारी अतीत, अदम्य साहस र स्वार्थरहित समन्वयकारी क्षमताले गर्दा नै पहिलो संविधानसभाको निर्वाचन सम्भव भएको थियो। त्यसपछिका दिनहरू पनि अझै उहाँका देनहरूले डोरिँदै गएका छन्। तर लाग्दै छ, मुलुक अबचाहिँ अकल्पनीय परिणामका लागि कतै डोरिँदै छ र फेरि उहाँको आवश्यकताबोध हुने गरी तुफान आउन थालेको आभास भएको छ।

प्रजातान्त्रिक नेपालको एउटा अविस्मरणीय नाम गिरिजाप्रसाद कोइराला। प्रजातन्त्रको स्थापना, पुनस्र्थापना र विकासका लागि सदैव अविचलित नाम गिरिजाप्रसाद कोइराला। प्रजातन्त्रका लागि फेरि–फेरि कुनै पनि नेपालीले कुनै पनि किसिमको आन्दोलन कहिल्यै गर्नु नपरोस् भनेर ८३ वर्षको उमेरमा पनि आफैँ प्रजातन्त्र स्थापनाका लागि सडक संघर्षमा होमिने गिरिजाप्रसाद कोइराला।

प्रजातन्त्र पुनस्र्थापनापश्चात् २०४८ को आमनिर्वाचनपछि जननिर्वाचित नेपालको बारम्बार हुने प्रधानमन्त्रीका रुपमा भन्दा पनि एउटा क्रान्ति नायकका रुपमा उहाँको परिचय नेपाली जनताले पाएका हुन्। समाज रुपान्तरणको पक्षमा सदैव समर्पित एउटा अनवरत यात्री गिरिजाप्रसाद कोइराला। जीवनको एउटा लक्ष्य र परिणाम नै प्रजातन्त्रप्रति समर्पित व्यक्तित्व गिरिजाप्रसाद कोइराला।

एउटा राष्ट्र र राष्ट्रका स्वाभिमानी जनताका लागि राष्ट्रियता र प्रजातन्त्र भनेको अभिन्न अवयव मान्ने कोइराला। चाहे पञ्चायतका विरुद्धको सशस्त्र संघर्ष होस् वा पञ्चायतको विकल्पको खोजीमा गाउँ–गाउँ जनताको राय लिन जाने एउटा सक्रिय राजनेताको रुपमा होस्। नेपालको अनुहार फेर्न र आगामी दिनमा प्रजातन्त्रको लागि कसैले पनि कहिल्यै पनि आन्दोलन गर्नु नपरोस् भनेर आफ्नै जीवनकालमा नै प्रजातन्त्रको प्रत्याभूति दिलाउन आजीवन त्यागको प्रतिमूर्ति गिरिजाप्रसाद कोइराला।

इतिहासमा त्यस्तो बेला एकपल्ट एकजनाको हातमा आउँछ भन्ने कुरा गिरिजा बाबुको त्यो साहसका लागि लागू हुन्छ, जसले जंगल कब्जा गरेको कुरा गर्थे, उनैलाई सत्तामा भागीदार बनाउने आँट गर्नुभयो र मुलुक आजको अवस्थासम्म आएको छ। हिजोका दिनमा अनवरत जनयुद्ध भइरहेको अवस्था र आजको शान्तिप्रक्रियाको अवस्थालाई तुलना गरेर हेराँै, अनि मात्र मुलुकको आजको अवस्थाको विकासक्रमलाई नियाल्न सजिलो हुनेछ।

नेपालमा नै गिरिजा बाबुजस्ता साहसी रणनीतिकार नेता थिए भन्ने कुरा भावी दिनमा हाम्रा सन्ततीलाई सुनाउन पाउने इतिहास आजको विश्वमा हामीसँग मात्र छ। उहाँको देहावसानपश्चात्का दिनमा शान्तिप्रक्रियाले गति लिन सकेन, यसका लागि सबै उत्तिकै दोषी छन्। सबैभन्दा बढी अनुत्तरदायीचाहिँ तत्कालीन नेकपा माओवादी केन्द्रलाई मान्न सकिन्छ। किनभने उसमा कुनै अवधारणा र रणनीति रहेनछ जनताका पक्षमा गरिने कामको। न त सत्य निरुपण तथा मेलमिलाप आयोगले गति लिन सक्यो, न त बेपत्ता भएकाहरूका बारेमा कुनै नयाँ प्रक्रिया अगाडि बढ्न सकेको देखियो।

हुन त गिरिजा बाबु लामो प्रवासपछि २०३७ सालको शुरुमा आममाफी पाएर मात्र नेपाल प्रवेश गर्नुभएको थियो तर नेपाली राजनीतिमा उहाँको नाम पहिलेदेखि नै क्रान्तिकारी नेताको रुपमा चित्रित थियो। त्यसपछिका दिनहरूमा गिरिजा बाबुका कामहरू नेपालीहरूका लागि खुला किताब जत्तिकै स्पष्ट छन्। मानिसहरू कसैको निधनपश्चात् हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दा भन्ने वा लेख्ने गर्छन् कि असामयिक निधन भयो, अपूरणीय क्षति हुन पुग्यो। वास्तवमा गिरिजा बाबुको निधनचहिँ नेपाली राजनीतिमा असामयिक नै भएको रहेछ। अपूरणीय क्षति नै भएको रहेछ। त्यसपछिका राजनीतिक घटनाक्रमले त्यही साबित गरिरहेका छन्।

कुनै एउटा व्यक्तिको अनुपस्थितिले मुलुकको राजनीतिको गति नै रोकिन्छ या जानुपर्ने दिशातिर नगएर गलत दिशातिर मोडिने सम्भावना सामान्यतः भएको पाइँदैन। कतिपयको निधनले मुलुकको राजनीतिले फेरि नयाँ बाटो पहिल्याएको देखिन्थ्यो तर उहाँको निधनले नेपाली राजनीतिको गतिलाई समेत सीमित बनाएको रहेछ र कुनै पनि अर्को व्यक्ति जेलिन लागेको या कसिन लागेको राजनीतिक गाँठो फुकाउन सक्षम रहेनछ।

उहाँलाई नेपाली राजनीतिबाट पन्छाउन तत्कालीन एनेकपा माओवादीले शुरु गरेको अभियानले आज आफ्नो नकारात्मक परिणाम देखाइरहेको छ। त्यसको माखेसाङ्लोमा सबैभन्दा बढी जेलिएको त उही नै देखिएको छ। खोलो त¥यो, लौरो बिर्सियो भन्ने अस्वस्थकर राजनीतिक खेलले पनि आजको राजनीतिक मञ्चमा गलत परिणामहरू देखिन थालेका हुन् भन्ने कुरा ढुक्कसँग भने हुन्छ।

भनिन्छ, तत्कालीन एमाओवादीले गिरिजा बाबुलाई राष्ट्रपतिको आशा देखाएको थियो। यदि त्यो सत्य थियो भने गिरिजा बाबु राष्ट्रपति अनि प्रचण्ड प्रधानमन्त्री भएको समयमा नै संविधान आउँथ्यो र सफल कार्यान्वयन त्यही बेलामा नै हुन्थ्यो भन्ने अनुमान सहजै गर्न मिल्छ।

अहिले राजनीतिक फाँटमा एउटा कुरा बडो जोडतोडका साथ भन्ने गरिन्छ कि राजनीतिक स्वार्थभन्दा माथि उठेर, व्यक्तिगत स्वार्थभन्दा माथि उठेर त्यागी हुन सक्नुपर्छ र निःस्वार्थका साथ मुलुकका लागि काम गर्नुपर्छ। वास्तवमा यो उत्तरआधुनिक नेपालमा त्यसोचाहिँ गिरिजा बाबुले मात्र गर्नुभयो।

मुलुकलाई शान्तिको आवश्यकता छ भन्ने महसुस गरेर नै उहाँले आफ्नो दलभन्दा माथि उठेर र हिंसात्मक सशस्त्र युद्धमा रहेको त्यस्तो दल नेकपा माओवादी जसले सबैभन्दा ठूलो शत्रु भनेर नेपाली कांग्रेसलाई मात्र घोषणा गरेको थियो, त्यसैलाई सम्झाएर र सत्ताको भागीदार बनाएर राजनीतिक मूलधारमा ल्याउनुभयो। यसो गरेकोमा नेपाली कांग्रेसमा अझै त्यसको विरुद्धमा ध्वनि प्रतिध्वनित छ। हुन पनि कांग्रेसमा त्यसपछि मणि हराएजस्तो भएको छ।

सधँैभरि पड्कने बम, मारिने नेपालीका परिवारको चित्कार र मुलुकमा अब कहिले यो द्वन्द्व थामिएला भन्ने अन्यौलका बीचमा आफूलाई र आफ्नो दललाई महान् शत्रु घोषणा गर्ने भूमिगत गुरिल्ला योद्धालाई शन्तिमार्गमा ल्याउनुभयो, लोकतन्त्रप्रतिको आस्थावान् बनाउनुभयो। लोकतान्त्रिक प्रक्रियाद्वारा लोकतन्त्रको संरक्षण गर्नका लागि बाध्य बनाउनुभयो।

अहिलेको विश्वमा लोकतन्त्रका विरुद्धमा जानेहरूको के हाल हुन्छ भन्ने कुराका लागि नेपालको माटोमा जरो गाडेर बसेको राजतन्त्रको अवस्था नै अनुपम उदाहरण बनेको छ। प्रजातन्त्रका विरुद्धमा कम्मर कसेर लागेको राजतन्त्रलाई समाप्त गर्ने वैधानिक नायकत्व गिरिजा बाबुले गर्नुभएको थियो।

हुन त गिरिजा बाबुलाई तत्कालीन एमाले महासचिव माधवकुमार नेपालको पूर्ण सहयोग थियो र एमालेसहित अन्य पाँच दलहरूको सहयोगले काम फत्ते गर्ने तारतम्मे मिलेको थियो होला। तर रणनीतिकारको अदम्य साहसविना त्यो सम्भव थिएन, जस्तो कि सेनापतिले आफ्ना सेनाको कमान्ड सम्हालेको हुन्छ।

गिरिजा बाबुले दलभन्दा माथि उठेर, व्यक्तिगत स्वार्थभन्दा माथि उठेर मुलुकलाई एउटा अन्यौलपूर्ण महाभेलमा फसेको डुंगालाई माझ भेलबाट वा बैता लाग्ने अवस्थाबाट किनारामा ल्याउनुभएको थियो। आज त्यही कुरा नै स्मरणीय हुन जान्छ। भोलिका लागि अनुपम उदाहरण बन्न जान्छ। ती महामानवको सम्झनामा हामीले कुनै दीप प्रज्ज्वलन गर्नु जरुरी छैन, कुनै स्मारक बनाउनु जरुरी छैन। तर प्रजातन्त्रको दियो जलाइरहनु नै पर्याप्त हुनेछ।

अहिले गिरिजा बाबुलाई बिर्सिने खेल नेपाली कांग्रेसभित्रै भइरहेको आभास हुन्छ। अहिलेको सबै राजनीतिक विकृतिको दोष उहाँमा खन्याएर सबै पानीमाथिको ओभानो हुन चाहेका छन्। तर के बिर्सिए भने, अन्तरिम संविधान आएपछि नै मधेस आन्दोलनले उग्ररुप लिएको थियो। कोइरालाको क्रान्तिकारी अतीत, अदम्य साहस र स्वार्थरहित समन्वयकारी क्षमताले गर्दा नै पहिलो संविधानसभाको निर्वाचन सम्भव भएको थियो।

त्यसपछिका दिनहरू पनि अझै उहाँका देनहरूले डोरिँदै गएका छन्। तर लाग्दै छ, मुलुक अबचाहिँ अकल्पनीय परिणामका लागि कतै डोरिँदै छ र फेरि उहाँको आवश्यकताबोध हुने गरी तुफान आउन थालेको आभास भएको छ। आशा गरौँ, स्वार्थभन्दा माथि उठेर समन्वय गर्ने अर्को गिरिजाप्रसाद यहाँ
जन्मियोस् र मुलुकलाई एउटा द्वन्द्वरहित अनि सामाजिक न्यायतर्फको बाटोमा लिएर जाने कामको थालनी गर्न सकोस्।

नेपालको राष्ट्रियताको समृद्धि र प्रजातन्त्रको स्थायित्व नै गिरिजा बाबुप्रतिको श्रद्धाञ्जलि हुनेछ। कांग्रेसीजनले बिर्सिऊन् तर नेपालीजनले कोइरालाको त्यो गुण बिर्सने छैनन्, जसले जनहत्याको रापले धपधपी बलेको नेपालको राजनीतिमा मलहम लगाउँदै शान्तिको सन्देश फैलाएका थिए, ती जनहत्याका नायकहरूलाई जनताको महत्व सम्झाउँदै शान्तिको मूलधारमा ल्याएर कर्तव्याकर्तव्यको पाठ पढाएका थिए।

अहिले एकदम बलियो सरकार छ भनिन्छ, झन्डै दुई तिहाइको बलसहितको, माथिल्लो सदनमा त अझ धेरै। सात प्रदेशमध्ये ६ प्रदेशमा त केन्द्र सरकारकै दलको सरकार छ र स्थानीय तहमा पनि धेरै सरकारहरू नेकपाकै छन्, तर पनि किन स्थिति स्थायित्वपूर्ण राजनीतितर्फ डोरिएको छैन ? यसका लागि गिरिजा बाबुबाट केही गुण लिने र दलभन्दा राष्ट्र ठूलो मानेर समस्या समाधानका लागि लाग्ने प्रेरणा लिने काम गरौँ। प्रजातन्त्रप्रतिको अडिग र अविचल आस्था नै गिरिजा बाबुप्रतिको श्रद्धाञ्जलि हुनेछ।newsofnepal

प्रतिकृया दिनुहोस्