Sunday, April 5

‘समाचार र विचारको
साझा चौतारी’





राजधानी बाहिरका अस्पताललाई कोरोना आशंका गरिएका बिरामीको नमुना पठाउन समस्या


काठमाडौं— राजधानी बाहिरका अस्पतालहरुले शंकास्पद कोरोना संक्रमितको नमुना परीक्षणका लागि काठमाडौं पठाउन समस्या भएको गुनासो गरेका छन्।

नेपालमा कोरोना संक्रमणको परीक्षण हालसम्म टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र हुन्छ।

भेरी अस्पतालका मेसु डा प्रकाश थापाले लकडाउन भएकाले संकलन गरीएका नमुना पठाउने माध्यम नभएको बताए। यसअघि प्लेनको माध्यमबाट नमुना पठाउने गरेको उनले जानकारी दिए।
हालसम्म अस्पतालले ७ जनाको नमुना परीक्षणका लागि पठाएको र सबैको परीक्षणमा कोराना संक्रमण नदेखिएको बताए।
उनले भने, ‘हामीसँग अहिले नमुना संकलन गर्न कीट पनि छैन, गरिएका नमुना पठाउने माध्यम पनि नभएकाले समस्या छ। चिकित्सक र स्वास्थ्यकर्मीको व्यक्तिगत सुरक्षाको समस्या पनि छँदैछ।’

उनले कोरोना संक्रमण रोकथामका लागि अस्पताल परिसरमा चार दिन अघिबाट ज्वरो क्लिनिक सञ्चालन गरिएको पनि बताए।

राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति डा संगीता भण्डारीले कोरोना संक्रमणबारे मन्त्रालय, प्रदेश र स्थानीय तहमा कोकोसँग सम्पर्क गर्ने भन्ने मुख्य समस्या भएको बताइन।

उनले भनिन्, ‘हामीसँग भारतको केरेलाबाट व्यक्ति आएका छन्, नमुना लिएर परीक्षणको लागि पठाउनुपर्नेमा लकडाउन भएका कारण पठाउनलाई साधन नै छैन। उनीहरुलाई आइसोलेसनमा राखेका छौँ।’

उनले अस्पतालमा १० वटा आइसोलेसन र ५ वटा क्याविन तयारी अवस्थामा राखेको जानकारी दिइन। अस्पतालसँग परीक्षण संकलन गर्न कीटको पनि अभाव रहेको उनले जानकारी दिइन्। ‘नमुना संकलन गरेर कसरी पठाउने यो कुरा स्पष्ट पार्नुप¥यो, अस्पतालमा व्यक्ति भर्ना गरेर राखेका छौँ। ऊ घर जान कर गर्छ। शंकास्पद हुनाले हामीले छोड्न पनि मिल्दैन,’ उनले गुनासो गरिन्।

यसैगरी, धनगढीस्थित सेती अस्पतालका चिकित्सकले पनि नमुना पठाउन समस्या भएको बताएको छन्।

मंगलबारदेखि लकडाउन गरेपछि सेती अस्पतालमा मात्र नभई समग्र प्रदेशमा नै ‘स्वाव’ परिक्षणमा समस्या भएको हो।

सुदूरपश्चिम प्रदेशको प्रादेशिक प्रयोगशाला सेती प्रादेशिक अस्पतालभित्र राखिएको छ। नौ वटा जिल्ला रहेको प्रदेशका आठ वटै जिल्ला अस्पतालले पठाएको नमुना प्रादेशिक प्रयोगशालामा संकलन गरिदै आएको थियो। प्रदेशिक प्रयोगशालामा संकलन भएका नमुनाहरु धनगढी विमानस्थलबाट काठमाडौं पठाइने गरेको थियो।

सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले ‘स्वाव’ परिक्षण लकडाउनले प्रत्यक्ष असर पारेको बताए। उनले भने –‘विमान नउड्ने भएपछि संकलन भएका स्वाव कसरी पठाउने भन्ने समस्या भएको छ।’

सेती प्रादेशिक अस्पतालले आईतबारसम्म आठ जनाको ‘स्वाव’ परिक्षणका लागि काठमाडौं पठाइसकेको छ। जसमा सात जनाको रिपोर्ट ‘नेगेटिभ’ आइसकेको छ भने एक जनाको आउन बाँकी रहेको सेती प्रादेशिक अस्पतालका डाक्टर जगदिश जोशीले बताए ।

डाक्टर जोशीले सोमबार एक जनामाथि आशंका गरि ‘स्वाव’ संकलन गरिएको र मंगलबार तीन जनाको संकलन गरिएको बताए। डाक्टर जोशीले नमुना कसरी पठाउने भन्ने अहिले समस्या भइरहेको बताए।

यसैगरि, कोशी अस्पतालले पनि कोरोना संक्रमण परीक्षण गर्न लिइएको नमुना पठाउन समस्या भएको बताएका छन्।

काठमाडौँं बाहिर नमुना परीक्षण नहुने र लकडाउन भएका कारणले संकलन गरिएका नमुना पठाउन समस्या भएको अन्य अस्पतालहरुले पनि बताइरहेका छन्।

मंगलबार कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समितिले नेपालगञ्ज, पोखरा र धरानमा तत्कालै परीक्षया सेवा सुरु गर्ने निर्णय गरेको छ।

समितिले ती अस्पतालमा यथाशीघ्र परीक्षण कार्य सुरु गर्न प्रयोशाला परीक्षण सामग्री र तलिमको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हाे।

सोही स्थानहरुमा प्रयाेगशाला परीक्षण सेवा सञ्चालन नभएसम्मका लागि विराटनगर र नेपालगञ्जबाट स्वाब संकलन गरी हवाई मार्गबाट काठमाडौं ल्याइने भएको छ। त्यसकाे व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयको समवन्यमा संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रलालयलाई व्यवस्था मिलाउन निर्देशन दिएको छ।swsthyakhabarpatrika

प्रतिकृया दिनुहोस्