Sunday, April 5

‘समाचार र विचारको
साझा चौतारी’





शैली मात्र फेरिएको महिला हिंसा


– अनिल शर्मा विरही

विश्वभरिनै महिलाहरुमाथिको हिंसा र दुव्र्यवहार बढिरहेका छन् । त्यस्तो बढोत्तरी अविकसित र पछोटे समाज मात्र छैन । युरोप र अमेरिका जस्ता पुँजीवादी देशहरुमा पनि उस्तै छ । यो वर्षको ८ मार्च अर्थात अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कोरोना भाइरस रोग २०१९ (कोभिड २०१९)को कारण छायाँमा पर्यो । शोषणको रुपमात्र फेरिएको महिला हिंसाको विषयमा संक्षिप्त चर्चा यहाँ गरिने छ ।

डिसेम्बर दोस्रो साता बेलायतमा मध्यावधि निर्वाचन भएको थियो । सो निर्वाचनमा उमेदवार बन्न चाहेका कैयौं महिलालाई यौन दुव्र्यवहार, हिंसा र धम्की दिइयो । त्यसमध्ये १८ जना उमेदवारले नामांकन गर्नबाटै पछाडि हटेका थिए । बेलायतमा महिला सांसदलाई नै विपक्षी दलका पुरुष तथा स्वार्थ टक्करराइरहेका पुरुषद्वारा हत्या र बलत्कारका धम्की आउने कुरा सामान्य भएका छन् । बेलायतकी सांसद एन्ड्रिय जेनकिन्सले धम्कीको कारण पटक पटक आफूमा आत्महत्याको भावना मनमा आउने गरेको बताइएकी थिइन । बेलायत पुँजीवादको जननी देशको अवस्था त्यस्तो छ भने अरु देशको अवस्था कस्तो होला ! विश्वको अर्को ठूलो लोकतन्त्र मानिएको भारतलाई त युरोपका कतिपय अखबारले ‘रेफिसिटी’ (बलत्कारी शहर) भन्ने गरेका छन् । दक्षिण एशियामा बाल बिवाह हुने देशमा पहिलो बंगलादेश, भारत दोस्रो र नेपाल तेस्रो नम्बरमा पर्दछन् । बाल विवाह हुनु भनेको अनिवार्य रुपमा सामन्तवाद बलियो हुनु पनि हो । यस्ता अनेक तथ्यहरुले यो वर्ष पनि संसार भरी महिलामाथि उत्पीडन र हिंसाका घटनामा बढोत्तरी नै भएको हुने देखिन्छ ।

गएको वर्ष महिलामाथि राज्य नियन्त्रित हिंसा हुने देशमध्ये कास्मिर अग्रपंक्तिमा छ । कस्मिरमा भारतीय सेनाद्वारा हत्या, बलत्कार, दुव्र्यवहार सामान्य विषय भएका छन् । दुःखको कुरा त के छ भने कस्मिरी महिलाहरु आफूमाथिको ज्यादती व्यक्त गर्न पनि सक्दैनन्, पाउँदैनन् । त्यसो गरियो भने उनीहरुलाई भारतीय सेनाले आतंककारी भनिदिन्छ र दोहोरो मूठभेडको नाममा हत्या गरिदिन्छ । “नभनिएको कथा आफ्नो मनमा दबाउनु जतिको पीडा अरु केही छैन” माया आन्जेलु भन्छिन् । हो आजको २१औँ शताव्दीमा पनि कस्मिरी महिलाहरु पीडा पोख्न पाउँदैनन्, रुन पनि पाउँदैनन् । गत वर्ष कास्मिरको कुनन पोस्पोदा गाउँकी एक पीडित महिलाले भारतीय राज्य हिंसाको भण्डाफोर गर्दै “हामीलाई थाहा थियो, यदि हामी मौन बस्यौं भने उनीहरुले फेरि त्यस्तै गर्नेछन्, हाम्रो गाउँमा नभर पनि अर्को कुनै गाउँमा” फरवरी १९१९ मा भनेकी थिइन ।

नेपाल गणतन्त्रात्मक देशमा प्रवेश गरेको छ । राजतन्त्र भनेको सामन्तवादको प्रतिनिधि हो । जसको जरा जमिन, संस्कृति र पुस्तासम्म फैलिएको हुन्छ । विकसित उत्पादन प्रणाली, त्यही अनुसारको राज्यव्यवस्था, भौतिकवादी संस्कृति र नयाँ व्यवस्थामा नयाँ नेतृत्व आवश्यक पर्दछ । तर नेपालमा पछौटे उत्पादन प्रणाली कायम छ । सामान्ती संस्कृतिलाई कम्युनिस्ट नामधारी सामन्तहरुले नेतृत्व गरेका छन् । राजतन्त्रलाई आदर्श मान्दै आएका फुच्चे राजाहरु नै गणतन्त्रका पनि नेतृत्वमा छन् । त्यसरी नेपालमा नयाँ रुपको सामन्ती व्यवस्था (राजतन्त्र) कायम छ । सारतत्वमा सामान्ती व्यवस्था, रुपमा (हेर्दा, भन्दा, कानुनी रुपमा) गणतन्त्र यही अन्तरविरोधको कारण समस्या बल्झिका छन् । सोच र व्यवहारमा महिला विरोधी, मनुवादी चिन्तन यथावत छ ।

सायद दुई वर्ष अगाडि खिमा रिजालले आफूमाथि हिंसा भएका केही घटनाहरु सार्वजनिक गरिन् । प्रकाशनको कार्यालयमा भएका एकजनाले ‘त्यो केटी नै खराब हो’ भनिदिए । अरुले सही थापे । बहस भयो कि एउटा महिलाले भएको कुरा त भन्न सक्दैनन् भने नभएको दावी कसरी गर्न सक्छन् ? अनुसन्धान नै नगरी महिलालाई दण्डित गर्ने सामन्तवाद (पुरुषवाद) छ हाम्रो दिमागमा । अक्टोबर क्रान्ति शताब्दी दिवसको समापन समारोह गत वर्ष प्रज्ञा भवनमा चलिरहेको थियो । आस्था केसीसँग क्यान्टिनमा हामी छलफलमा थियो । “म आफ्नै परिचय तथा व्यत्तित्व निर्माण गर्न चाहन्छु । तर पुरुषको निगाह, दया र यौनिक स्वार्थभन्दा माथिको व्यवहार कतै पाउँदिन” आस्थाको भोगाइ थियो । गत वर्ष म एउटा छलफलमा थिएँ । निर्मला पन्तको बलत्कार र हत्याको विषयमा छलफल चलिरहेको थियो । एकजना कम्युनिस्ट नेताले फ्याट्ट भनिहाले “सबै देखिने छोटा कपडा लगाएपछि बलत्कार नभएर के हुन्छ त ?” विचरा कम्युनिस्ट नेताको त यस्तो सामन्ती सोंच छ भने दिनदिनै कुरान र मनुस्मृति पढनेको चिन्तन कस्तो होला । ‘साडी लगाउन् या कट्टु’ लगाउनेको रुची र अधिकार हो । कसैको अधिकार र रुचीलाई सीमाबद्ध गर्ने अधिकार अरु कसैलाई हुँदैन । त्यसो त अस्लिलता दृश्यमा होइन आशयमा हुन्छ । केही वर्ष अघिको कुरा हो रेनमिन विश्व विद्यालयको चौर (बेइजिङ)मा हामी तीन जना गफइरहेका थियौं । एक जना साथीले महिलालाई ‘कुरौटे र अनुशासनहीन’ टिप्पणी गरे । त्यही छलफलमा थाहा खबर (त्यसबेला उनी कान्तिपुर टिभीमा थिए) का एक जनाले “हामी पुरुष पनि कहाँ कम छौं र तीन जना भएर एउटीको कुरा काटेका छौं । एक जना गएपछि दुई भएर त्यसको एउटीको कुरा काटेका छौं ।” आफ्नै शैलीमा प्रतिवाद गरे । त्यसबेला मलाई भने ‘पोथी बास्नु हुँदैन’ कुन्ता शर्माको चर्चित कविताको सम्झना भइरहेको थियो । सायद टोलीका टाठा महिलाको भूमिका कतिपयलाई पचेको थिएन । २०६५ माघ २७ गते सांगठानिक कामको दौरान उमा भुजेल ‘शिलु’सहितको टोली सिन्धुली जिल्लामा थियो । “नेताहरु फलानो गाउँतिर र महिला भएको टोली फलानो गाउँतिर जाऔं” जिल्ला नेताले भनेका थिए । “म महिला होइन लिडर हो । मलाई महिला मात्र देख्नु भएको छ ?” कमरेड शिलुले तुरुन्तै प्रतिवाद गर्नु भएको थियो । २०६९/०७० तिर हामीले भारतीय मालबाहक बाहन नेपाल प्रवेश गर्न रोकेका थियौं । प्रहरीले केही दिनपछि चितवन, पुल्चोकबाट १९ जनालाई गिरफ्तार गर्यो । “रोजर सर, १६ जना मान्छे, ३ जना महिलालाई नियन्त्रणमा लिइएको छ…..” उसले जानकारी गरायो । लाग्थ्यो उसले महिला पनि मान्छे नै हो भन्ने बुझेकै छैन ।

निष्कर्षमा भन्दा, सामन्ती विचारधारात्मक सत्ता, पित्रृसत्ता, राजनीतिक सत्ता, विरासत सत्ता, धार्मिक सत्ता, पुँजीवादी सत्ता सबैको घालमेल भएर नेपालमा पनि नारी उत्पीडक सत्ता कायम छ । तर दुःख र चुनौतिको विषय के छ भने दलाल पुँजीवादले ८ मार्चलाई उसका पत्रु सामान बिक्री गर्ने अवसरका रुपमा दुरुपयोग गरिरहेको छ । त्यसैले क्रान्तिकारी विचारधारा, शोषण विहीन शासन व्यवस्था र त्यस अनुसारको नयाँ नेतृत्व निर्माण नभएसम्म महिला उत्पीडन र हिंसाको शैलीमात्र फेरिन्छ, रोकिन्न । सामाजिक दलाल व्यवस्था र कम्युनिस्ट नामधारी सामन्ती नेतृत्वबाट महिला मुक्तिको सम्भावना छैन । जुन कुरा व्यवहारतः पुष्टि भएको छ । कोराजोन अक्विनो, आङसाङ सुकी, इन्दिरा गान्धी अथवा फुलनदेवी निर्माण गर्नु नै महिला मुक्ति होइन ।२०७६, १३ चैत्र बिहीबार ०८:५८ ई-रातो खबर

प्रतिकृया दिनुहोस्