‘समाचार र विचारको
साझा चौतारी’





देश यो मर्न दिन्नँ म


कविता

– डा. रामप्रसाद ज्ञवाली

 

लुक्दै सेता परेवा छन् ढुक्दै क्रूर हुँडार छ
छिमेकी भैदिँदा दुष्ट आतङ्कित समाज छ
सधैँ सधैँ परेवामा बाजकै डरत्रास छ
ब्युँझ हो ए परेवा हो ! नयाँ नेपाल आज छ !

ब्वाँसो हे ! क्रूरता तेरो सधैँ सधैँ सहन्नँ म
सधैँ लाछी सधैँ रुन्चे सधैँ कायर हुन्नँ म
अब तेरो इसारामा पानी बन्दै बहन्नँ म
मेरो जीवनमा तेरो हस्तक्षेप सहन्नँ म !

मेरो भूमि नदीनाला तँलाई टेक्न दिन्नँ म
मै लेख्छु जिन्दगी मेरो तँलाई लेख्न दिन्नँ म
नयाँ नेपालको यात्रा तँलाई रोक्न दिन्नँ म
कानमा गीत गाएर गालामा टोक्न दिन्नँ म !

मिचेर भूमि यो मेरो र्याल काढ्दै तँ बाँच्दछस्
सीमास्तम्भ उखेलेर बौलाहासरि हाँस्दछस्
तेरो सोच तथा हाँसो असाध्यै अपवित्र छ
नछो नेपालको माटो यो असाध्यै पवित्र छ !

तेरो सेतो लुगाभन्दा सेतो मेरो हिमाल छ
तेरो चौडा जिमीभन्दा छाती मेरो विशाल छ
नटेक् यो वीरको भूमि क्रान्तिका बीज छन् यहाँ
नछो यो बुद्धको भूमि शान्तिका दीप छन् यहाँ !

नठानेस् दास तेरो हुँ जे गरे नि सहन्छु म
आफ्नो अस्तित्वका निम्ति युगौँ लडिरहन्छु म
हार्छ नेपाल ठान्दो होस् वीरता हार्छ पो कहाँ ?
कसरी हार्छ यो राष्ट्र म ज्युँदै छु अझै यहाँ !

तँलाई देशमा मेरो साँढे झैँ चर्न दिन्नँ म
मेरो अस्तित्वमा दागा तँलाई धर्न दिन्नँ म
यो मेरो देशमा राज्य तँलाई गर्न दिन्नँ म
मर्नुपरे म नै मर्छु देश यो मर्न दिन्नँ म !

मेरो शरीरमा रातो रक्त बाँकी रहेतक
देशका निम्तिमा मर्ने भक्त बाँकी रहेतक
नेपाल राष्ट्र यो मेरो रहने छ सुरक्षित
यो देशका सबै शत्रु हुने छन् क्षत–विक्षत

२०७७, २९ बैशाख सोमबार ई-रातो खबर

प्रतिकृया दिनुहोस्