‘समाचार र विचारको
साझा चौतारी’





मुर्दा हुन् भने एक दिन खरानी हुनेछन्


कविता

– झपेन्द्रराज वैद्य

 

मुर्दा हो त्यो जुन
संवेदनहीन हुन्छ
चरित्रहीन हुन्छ
जुन मानवताहीन हुन्छ ।
हृदयहीन, भद्दा
अनि कुरूपहुन्छ
कलाहीन, पाषाण हुन्छ
इतिहासको मजाक गर्ने
हुतिहारा, भद्दा खेलाडी हुन्छ
फोहोरको डङ्गुरमा आहाल हुन्छ ।

मानवता हराएको छ
स्वाधीनता बेचिसकेको हुन्छ
छातीमा डोजर चल्दा
ऊ त मस्त निद्रामा
ताण्डवनृत्य हुन्छ बगरमा
सहरमा लाखेनाच
अनि रहरमा भालुनाच हुन्छ
त्यो त मुर्दा नभएर के हुन्छ ?
चाहे पहाडै ढलोस्
महाकाली सुकोस्
वा मधेस डुबोस्
मुर्दा त कठोर पत्थर बन्छ ।

नक्सामा देश गुमेर के भो र !
दानापानी प्रभुले दिएपछि
लिपुलेक त के हो र ?
नेपालै जोखिममा रहेपछि ।

चार लेनको पिच रोड बनोस्
अहँ थाहा छैन, कहीँकतै
पक्की घर बनोस् वा सहर होस्
कर्णाली सुकोस् वा अरुण फलोस्
मुर्दालाई के थाहा हुन्छ ?
जहाँजहाँ फोहोर हुन्छ
बास उसको त्यहीँ हुन्छ
जहाँ भाइरस हुन्छ
लौलौ दया गर पारिका प्रभु !
त्वम् शरणम् गच्छामी
अहिले लिजमा, पछि सिजमा
प्रभुको लीला अपरम्पार ।

कालापानी आँखाको नानी
हिमाल शिर नेपाल हाम्रो
पहाड ढाड, तराई छाती
वीर गोर्खाली गौरव हाम्रो
तर अफसोच !
यहाँ छ लुटेराहरूको कहानी ।
तर खेद छैन
देश दुख्दा उठ्छन् नेपाली
इतिहास साक्षी छ रगत तातो छ
हेसियार लेन्डुपेहरू !
झुक्दैन हिमाल, डग्दैन नेपाल
इतिहास रातो छ, रगत तातो छ ।

होसहवास छैन अचेल तिम्रो
सत्ता जोगाउने खेल
जोडी पनि कस्तो मेल ?
बुद्धको देश नेपालमा
किन हुन्छ रगतको होली ?
जति थुने पनि जति पिटे पनि
करेन्ट लागे पनि
वारेन्ट काटे पनि
गल्दैनगल्ने, मान्छे नै नगन्ने
कस्तो हो तिम्रो जोडी ?

राष्ट्रियता र स्वाधीनतामा गाईजात्रा
चील आयो चील आयो भनेर
स्यालले चल्ला टिपेर लगेजस्तै
तिमीले जति ध्यान मोडे पनि
यमराजलाई पो चुनौती दिने
मृत्युसँग खेलबाड ?
अनि बनाउँछौ तिलको पहाड ।
जय प्रभु जय प्रभु रक्षा गर
भन्दै गीत गाउने स्वरमा स्वर मिलाउने
मसानघाटको मुर्दा हौ कि ?
वा डम्फू बजाउने लम्फू !
ताण्डवनृत्य छ
नसुन्ने, नदेख्ने मुर्दा हौ कि
बुख्याचाँ वा सुनाखोरी हो
लोकतन्त्र कहाँ छ ?
उसको बोली र गोलीमा छ ।
कफ्र्यु लगाएर होस् वा
बन्द–प्रतिबन्ध !
सधैँ छ असार पन्ध्र ।
तर याद गर
तिम्रो उन्माद पानीको फोका हो ।
पारि मात्र होइन
इन्डो–प्यासिफिक पनि
केवल कागजी बाघ हो ।
मसानघाटमा जति स्यालहुइँया गरे पनि
कलो खानेहरू
कलो जता पाउँछन्
उतै जान्छन्
उसैको गीत गाउँछन्
तर खबरदार !
एक दिन मुर्दाहरू खरानी हुनेछन् ।
र्मिर्मिरे पछि सुनौलो बिहान हुनेछ ।
मुर्दाहरूको अवसानपछि
नयाँ बिहानी आउनेछ ।
नयाँ चेतना, नयाँ उमङ्ग
नयाँ नेपाल हुनेछ ।

 ई-रातो खबर

प्रतिकृया दिनुहोस्