सम्पादकीय

भारतीय च्यानल बहिस्कार गरौं

सिङ्गो विश्व कोभिड १९ को कहरबाट गुज्रीरहेको बेला बन्दाबन्दीको मौका छोपेर छिमेकी भारतले नेपाली भुमी लिपुलेक,कालापानी र लिम्पियाधुरा समेत मिचेर कैलाश मानसरोवर जाने बाटो उद्धाट्न गरेपछी नेपाल भारत विवाद पुनः एकपटक सतहमा आएको छ ।

इतिहासको कालखण्डमा कसैको उपनिवेश तथा गुलाम नभएको एउटा सार्वभौमसत्ता सम्पन्न राष्ट्र नेपालका लागि आफ्नो एक चिम्टी माटो पनि अनमोल थियो र भारतीय मिचाहा प्रवृत्ति सह्य थिएन । भुगोल र क्षेत्रफलका हिसाबले कुनै मुलुक सानो ठूलो होला तर राष्ट्रियता र स्वाभिमानका हिसाबले सबै मुलुकको हैसियत समान हुने गर्दछ ।

भारतले नेपालको महत्पुर्ण भुभाग मिचेर बनाएको सडक उद्घाटन गरेपश्चात तातेको राष्ट्रिय राजनितिले सरकारलाई मिचिएको भुमी फिर्ता गर्न अतिक्रमित भुमि समेत समावेश गर्दै नयाँ नक्सा जारी गर्न चौतर्फी दबाब पर्‍यो,भुमी फिर्ता ल्याउने पहिलो खुट्किलोको रुपमा सरकारले नयाँ नक्सा जारी गरिसकेको छ । आफ्नो भुमी एक इन्च छोड्न हुदैन र मिचिएको भुभाग फिर्ता लिनु पर्छ भन्ने मामिलामा पुन एकपटक सत्तारुढ तथा विपक्षी दलहरु एउटै कित्तामा आईपुगेका छन ।

नेपाल सरकारले भारतले मिचेको आफ्नो भुमी समेत समावेश गर्दै नयाँ नक्सा जारी गरेपश्चात भारतीय सञ्चार माध्यमहरु यहि विषयलाई लिएर उद्वेलित भएका छन । पत्रकारिताको स्वतन्त्रता,निष्पक्षता र विश्वसनियतालाई कुल्चदै अधिकांश भारतिय मिडिया भारतको मिचाहा प्रवृत्तिको ढाकछोप गर्न अहिले दिनरात नाङ्गो नाच देखाईरहेका छन ।

अधिकाशं भारतीय न्युज च्यानल अहिले दिनहुँ नेपाल भारत सिमा विवादका कारण युद्धकै तयारीमा जुटेझैं दुवै देशको शक्तिको हिसाब किताब गर्दै दुई देशको सम्बन्ध बिथोल्न लागि परेका छन । आफ्नो देशको सुरक्षा हजारौं गोर्खा सैनिकले गरिरहेको चटक्कै भुलेर भारतीय च्यानल अहिले आफ्नो मुलुक विश्वकै महाशक्ती राष्ट्र हो भनेझै प्रचार प्रसार गरिरहेका छन ।

हामी नेपाली अब निर्णायक मोडमा पुगेका छौं कुनैपनी देशभक्त नेपालीलाइ इतिहासमा कहिल्यै कसैको गुलाम नभएको नेपालको विषयमा भारतीय मिडियाले हाल गरिरहेको अनर्गल प्रचार किमार्थ स्विकार्य छैन त्यसर्थ अब देशभक्ती बोलीमा मात्रै नभएर व्यवहारिक रुपमै सिद्ध गर्नुपर्ने चुनौती हामिमाझ छ । भारतीय च्यानल बहिस्कार गरेर,भारत सँगको परनिर्भरता हटाएर,भारतीय रवैयाको कडा जवाफ दिएर ।

के हामी नेपालीले दैनिक भारतीय च्यानल हेरेजस्तै एक सय करोड भन्दा बढी भारतिय नागरिकले पनि नेपाली च्यानल हेर्छन त ? कदापी हेर्दैनन आफ्नै देशको राष्ट्रिय भाषाको रुपमा रहेको हिन्दी भाषा नबुझ्ने विभिन्न राज्यका भारतियले भाषाकै कारण कदापी नेपाली च्यानल हेर्दैनन भने हामी चाहिँ हाम्रै राष्ट्रिय अस्मिता माथी कुदृष्टि लगाउने र नेपाली भुमि भारतको हो भनी दाबी गर्ने च्यानल किन हेर्ने ? त्यसर्थ आफ्नो देशका नागरिकमाझ नेपालको भुमी आफ्नो हो भनेर भ्रम सृजना गर्दै कुप्रचार गर्ने भारतिय च्यानल बहिस्कार गर्नुको विकल्प छैन ।

धार्मिक तथा साँस्कृतिक समानताका कारण नेपाल भारतको सम्बन्ध विशिष्ट रहेको बताईदै आएको छ यसमा केही हदसम्म सत्यता समेत छ यसो भन्दैमा नेपाल आमाको छातीमा भारतीय सैनिकले बुट बजारेको देशभक्त र स्वाभिमानी नेपालीलाई कसरी स्विकार्य हुन सक्छ र ?

सिङ्गो नेपाल अहिले भारतले मिचेको सबै नेपाली भुमी फिर्ता लिने अभियानमा छ । आफ्नो ऐतिहासिक भुमिको आफुसँग भएको प्रमाण पेश गर्दै तत्काल नेपाल सरकारले भारत सँग वार्ता गरि नेपालमा भतुवा लागेर बसेको भारतीय सेनाको क्याम्प हटाउदै कालापानी,लिपुलेक र लिम्पियाधुराको जमिन फिर्ता लिई त्यहाँ नेपालको सिमा सुरक्षा बल स्थापना गरिनु जरुरी छ ।

वार्ताको माध्यमबाट सिमा विवाद समाधान नभए आफ्नो राष्ट्रिय स्वाधीनता र अखण्डताको रक्षार्थ नेपाल सरकारले सिमा विवादको हल गर्न यो विषयलाई अन्तर्राष्ट्रियकरण गर्न ढिला गर्न हुदैन । सिङ्गो नेपाल र नेपालीले सरकारलाई भुमी फिर्ता लिन हिम्मत र साहस दिईरहेका बेला भुमी फिर्ता लिन अबिलम्ब कुटनितिक प्रक्रिया शुरु गर्न खुट्टा कमाउन हुदैन ।

साँच्चै भारतीय भुमी मिचेझै गरि रोईलो गर्ने भारतीय मिडियालाई नेपालमा प्रतिबन्ध लगाउदै नेपालको भुभाग र सिमानाका विषयमा ऐतिहासिक प्रमाण,भारत सँग विभिन्न कालखण्डमा भएका विभिन्न सन्धी सम्झौताहरु, र अन्य दस्तावेजहरुलाई समेत आधार मानेर अब नेपाली मिडियाहरुले समेत शशक्त रुपमा आवाज उठाउदै खबरदारी गर्न जरुरी भइसकेको छ ।

सिमा विवाद र भारतिय मिचाहा प्रवृत्तिको अन्त्यका लागि अब उप्रान्त सरकारले सिमा क्षेत्रमा स्थायी बसोबास गर्ने नेपालीहरु माझ आफ्नो उपस्थितिलाई बलियो बनाउदै त्यहाँका नागरिकलाई जिवनयापनमा सहजता होस भन्ने हेतुले गाँस,बास र कपासका लागि यथेष्ट सुविधा दिन जरुरी छ । सिमा क्षेत्रका नागरिकहरुका लागि देशमै रोजगारीको सृजना गर्न सकेको खण्डमा राष्ट्रियताको जग थप बलियो हुनेमा दुईमत छैन ।प्रकाशित मितिः जेठ ८,  सञ्चारपाटी, (सम्पादकीय )

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button