‘समाचार र विचारको
साझा चौतारी’





इबोला भाइरस पत्ता लगाउने अग्रपंक्तिका वैज्ञानिकलाई जब कोरोना भाइरसले समात्यो…


लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रोपिकल मेडिसिनका निर्देशक भाइरोलोजिस्ट पिटर पियटलाई गत मार्चमा कोभिड–१९ को संक्रमण देखियो। करिब एक हप्ताको हस्पिटल बसाइ र आफ्नै घरमा एकान्तबासपश्चात् उहाँको अवस्था अहिले सुधारोन्मुख छ। यद्यपि सिंढी चढ्दा भने श्वास निकै फुलेर आउँछ।

बेल्जियममा हुर्की, सरुवा रोगको खोजी–अनुसन्धानमा आफ्नो जीवन वृत्ति–विकास गरेका पियट सन् १९७६ मा इबोला भाइरस पत्ता लगाउने वैज्ञानिकहरुको सूचीमा अग्रपंक्तिमा पर्छन्। उनले सन् १९९५ देखि २००८ सम्म संयुक्त राष्ट्रसंघीय एचआइभी/एड्स सम्बन्धी संयुक्त कार्यक्रमको नेतृत्व सम्हाले र हाल उनी युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर ल्येनका कोरोना भाइरसको सल्लाहकार हुन्। ‘तर नयाँ कोरोना भाइरससँग व्यक्तिगत भिडन्त भने जीवन परिवर्तन गर्ने अनुभवसिद्ध रहेको छ,’ पियट भन्छन्।

यो अन्तर्वार्ता मे २ मा भएको थियो। पियटका उत्तर डर्क ड्रलान्सले डच भाषाबाट भावानुवाद गरी साइन्स नामक पत्रिकामा प्रकाशन गरेका थिए।

मार्च १९ मा मलाई अचानक उच्च ज्वरो आएर बेस्सरी टाउको दुख्न थाल्यो, त्यतिखेर मलाई खोकी भने लागिसकेको थिएन तर पनि मेरो मनले चाहिँ खोकी लागेको कल्पना गरिरह्यो। मैले आफ्नो कार्यलाई घरैबाट भए पनि निरन्तरता दिइरहें। हामीले गत वर्ष लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनमा टेलिवर्किङ गर्न धेरै प्रयत्न गर्‍यौंं। त्यही कारणले पनि अहिले हामीलाई उपचार गर्नका लागि त्यति धेरै यात्रा गरिरहनु पर्दैन। अवश्य नै जलवायु परिवर्तन विरूद्ध लड्न गरिएको त्यो लगानी अहिले धेरै उपयोगी भएको छ।

मैले सोचेअनुसार नै कोभिड–१९ को परीक्षण गर्दा मलाई संक्रमण भएको नतिजा आयो। आफ्नै घरमा एकान्तवास बसिरहँदा पनि मेरो ज्वरो कम भएन। दिनहुँ शारीरिक व्यायाम र स्वस्थ जीवनशैली अपनाएको कारणले विगत १० वर्षमा मैले एक दिन पनि बिरामी बिदा लिन परेको थिएन। कोरोनाको लागि एक मात्र जोखिम ढल्किँदै गएको आफ्नै उमेर थियो। ज्वरो दिनहुँ बढ्दै थियो। एक चिकित्सक साथीको सल्लाह अनुसार अप्रिल १ तारिखका दिन म पुनः स्वास्थ्य जाँच गर्न गएँ। श्वास फेर्न त्यति असहज नभए तापनि स्वास्थ्य परीक्षणको नतिजामा मेरो शरीरमा अक्सिजनको मात्रा निकै न्यून भएको देखियो।

छातीको सिटी स्क्यान गरेर हेर्दा मलाई गम्भीर प्रकारको निमोनिया भएको देखियो, जसको कारक कोभिड–१९ वा ब्याक्टेरियाले गर्ने निमोनियाभन्दा अन्य दोस्रो हुन सक्दैनथ्यो। म निरन्तर कमजोर हुँदै थिएँ, पूर्णतया म शक्तिहीन बन्दै गएको थिएँ। तर, पुनः कोभिड–१९ परीक्षण गर्दा मेरो शरीरमा कोरोना भाइरसको संक्रमण नरहेको पुष्टि हुन्छ। शारीरिक कमजोरीको कारण मेरो अवस्था अस्पतालमै बस्नुपर्ने थियो। यसर्थमा भाइरस नरहँदा पनि यसबाट हुने जटिलता भने हप्तौंसम्म रहिरहन्छन्।

विविध सोधपत्र अनुसार शरीरमा अक्सिजनको मात्रा घट्दो क्रम हुँदा मृत्युको सम्भावना पनि बढ्छ। तुरुन्त भेन्टिलेटरमा गइहाल्नुपर्छ कि भन्ने व्याकुलता मभित्र व्याप्त थियो तर भाग्यवस चिकित्सकीय टोलीले मलाई अक्सिजन मास्कबाट अक्सिजन दिई उपचार सुरुवात गरे। मेरो तन्तुहरुमा अक्सिजनको मात्रा विस्तारै बढ्न थाल्यो।

उनीहरुले मलाई सघन उपचार कक्षमा राखी उपचारलाई निरन्तरता दिए। सघन कक्षमा रहँदा त्यहाँ मसँगै एक घरविहीन व्यक्ति, एक कोलम्बियाली क्लिनर र अर्का बंगलादेशका नागरिक थिए। यी तीनै जना मधुमेह रोगीहरू रहेछन्, संयोगवस, जुन रोगको परिचित तस्बिरसँग मिल्दोजुल्दो छ। हामी चारैजना शक्तिहीन पनि यतिसम्म भएका थियौं कि केवल श्वासले मात्र बोल्न सक्थ्यौं।

यस सघन कक्षबाट बाहिर निस्किसकेपश्चात् मेरो अवस्था कस्तो हुने होला, यही प्रश्न मेरो मस्तिष्कमा घुमिरहन्थ्यो।

४० वर्षभन्दा बढी संसारभरिका भाइरसहरुको अध्ययन अनुभवले एक अर्थमा सरुवा रोगसम्बन्धी विज्ञ भएको थिएँ। ब्रिटिस अस्पतालको तथ्यांक अनुसार कोरोनाको मृत्युदर ३० प्रतिशत छ, जुन २०१४ को इबोला जत्तिकै हुन आउँछ। तर पनि मलाई खुसी लाग्छ कि मलाई कोरोना लाग्यो, इबोला लागेन। मैले भाइरससँग लड्नमा सधैं आफ्नो समय व्यतित गरें र अन्तमा आज उनीहरूले बदला लिँदै छन्।

करिब एक हप्ताको अस्पताल बसाइपछि म घर फर्किएँ। मलाई त्यही सहर पुनः हेर्नु थियो– सुनसान सडक, बन्द पसल अनि आश्चर्यजनक स्वच्छ प्रकृति। लामो समय अस्पतालको शय्यामा हलचल बिना बसेको कारणले मेरो मांसपेसी निकै दुखेको थियो। जसका कारण म राम्रोसँग हिँड्न नसक्ने भएको थिएँ। घर पुग्दा म निकै भावविह्वल भएँ। यतिखेर म नेल्सन मन्डेलालाई प्रशंसायोग्य पात्रको रुपमा देख्छु।

भाइरसप्रति मेरो झुकाव सधैं उस्तै रहिरह्यो। मैले जीवनको अधिकांश समय एचआइभी भाइरसको अनुसन्धानमा खर्चेको छु। मेरो अनुसन्धानको नतिजा अनुसार यो एकदमै चलाख भाइरस पाएको छु। यसमा हाम्रो प्रायः सबै प्रतिरक्षा प्रणालीको विरुद्ध जाने क्षमता हुन्छ। अहिले जब म आफैंले मेरो शरीरमा भाइरसको आभासपूर्ण उपस्थिति महसुस गरेको छु, म भाइरसलाई अर्कै दृष्टिकोणले हेर्छु। मैले महसुस गरें कि यसले मेरो जीवनलाई परिवर्तन गर्ने छ। द्वन्द्वात्मक अनुभवहरूका बाबजुद मैले पहिले भाइरसहरूको सामना गरें। तर म आफैँलाई धेरै कमजोर महसुस गर्छु।

घर फर्किएको एक हप्तापछि मलाई फेरि श्वास लिन अप्ठारो हुन थाल्छ। फेरि अस्पताल गएँ, मेडिकल जाँचपछि मलाई आफ्नै शरीरको रोग प्रतिरोधका लागि बनाइएका तत्वहरुले फोक्सोका तन्तुलाई मार्दै गएका छन् भन्ने नतिजा प्राप्त हुन्छ, जसलाई चिकित्सकीय भाषामा साइटोकाइन स्ट्रोम (अर्गनाइजिङ निमोनिया इन्डुस्ड लंग्स डिजिज भनिन्छ।

रोगसँग लड्न हाम्रो प्रतिरक्षा प्रणालीले विभिन्न प्रकारका यौगिक तत्वहरु सृजना गर्छन् ताकि बाहिरबाट प्रवेश गरेका सूक्ष्म जीवहरु हाम्रो शरीरमा फैलिन नसकोस्। सामान्य भाषामा भन्नुपर्दा हाम्रो शरीरले रक्तसञ्चारमा सिपाहीहरु पैदा गरिदिन्छन्, जसले ती सूक्ष्म जीवहरुलाई या त मारिदिन्छन् या निष्क्रिय बनाइराख्छन्। तर कुनै कारणबस यदि ती प्रतिरक्षाका तत्वहरु अत्यधिक मात्रामा रक्तसञ्चारमा रहे भने तिनीहरुले आफ्नै शरीरको तन्तुलाई हानि गर्न थाल्छन्। त्यसैले अधिकांश मानिसको मृत्युको कारण परजीवी स्वयंभन्दा पनि परजीवीलाई मार्न शरीरले सिर्जना गरेका तत्वहरुले आफ्नै तन्तुलाई गरेको हानि प्रमुख रहेको नतिजा अनुसन्धानले प्राप्त गरेको छ।

मलाई उच्च मात्राको स्टेरोइड दिइएको कारण मेरो प्रतिरक्षा क्षमता क्षीण भएको थियो। यदि यस अवस्थामा मेरो शरीरमा भाइरससँग लड्न बनेका ती तत्वहरुको आँधी–बेहरी आएको भए मेरो शरीरले त्यति धेरै तन्तुको एकैचोटी मृत्यु सहन नसकी मेरो नै मृत्यु निश्चित भइसकेको हुने थियो। त्यही बेला मेरो मुटुको चाल अनियमित भई एक मिनेटमा १७० पटक धड्किन थाल्छ (मेरो उमेर समूहको लागि ७५ देखि १२८ प्रति मिनेट सामान्य मानिन्छ)। यस अवस्थामा धमनी भित्र रगत जम्न सक्ने खतरा उच्च हुन्छ। यदि त्यो जमेको रगतले कुनै विशेष अंग जस्तै मस्तिष्क, हृदय आदिमा रगत प्रवाह हुनबाट रोक्ने हो भने त्यसको नतिजा निकै भयावह आउने छ। कोरोना भाइरसकै जटिलता रुपमा सृजित यी अवस्थालाई धेरै नै अवमूल्यन गरिएको हो। एक शब्दमा भन्नु पर्दा यसले मानव शरीरको हरेक अंगलाई असर पुर्‍याउन सक्छ।

धेरै व्यक्ति सोच्छन् कि कोभिड–१९ संक्रमितमध्ये १ प्रतिशत बिरामीको मात्रै मृत्यु हुन्छ, र बाँकी संक्रमितमा मौसमी रुघाखोकी जस्तै देखिने लक्षण देखिएर सन्चो हुन्छ र तर कोरोना अर्थात कोभिड–१९ को कथा यतिमै सकिँदैन। धेरै व्यक्तिमा कठिन जटिलताजस्तै दीर्घकालीन मिर्गौला र हृदय सम्बन्धी समस्याले कोभिड–१९ लाई झनै घातक बनाइदिन्छन्। उनीहरुको स्नायु प्रणालीमा पनि नकारात्मक असर देखिएको छ। यस आकलनलाई पछ्याउने हो भने अबको केही वर्षमा विश्वभरि सयौं–हजारौं यस्ता मानिसहरू हुनेछन्, जसलाई जीवनभर रगत शुद्धीकरणको निम्ति डायलाइसिस जस्ता उपचारको आवश्यकता पर्छ।

कोरोना भाइरसको बारेमा जति सूक्ष्म अध्ययन–अनुसन्धान हुँदै जान्छन्, त्यति नै भयावह तथ्यहरु हाम्रो सामु प्रस्तुत हुँदै जानेछन्। हाम्रो सिकाइ पद्धतिको विकासक्रम नै यसैगरी हुने गरेको छ। यसैले त्यस्ता टिप्पणीकारहरू जसले धेरै अन्तर्दृष्टिविना नै महामारीलाई नियन्त्रणमा लिन कडा प्रयत्न गरिरहेका वैज्ञानिकहरू र नीति निर्माताहरू पिवरुद्ध आलोचना गर्नु अनुचित हो।

करिब ७ हप्तापछि आज पहिलो पटक शरीरमा स्फूर्ति फिर्ता भएको महसुस गरेको छु र पुनः सिटी स्क्यान गर्दा मेरो फोक्सो सामान्य अवस्थामा फर्किसकेको नतिजा आउँछ। आजको दिन मेरो लागि उत्सव जस्तै भएको छ। यस उत्सव मनाउन धेरै समयपछि आज पहिलो पटक वाइनको बोत्तल खोल्दै छु। म काममा फर्कन चाहन्छु, यद्यपि मेरो गतिविधि केही समयको लागि सीमित हुनेछन्।

कोरोना विरुद्धको खोप विकासलाई सहयोग गर्न युरोपेली आयोग दृढ प्रतिबद्ध छ। कोरोना भाइरसको खोप बिना हामी कहिल्यै सामान्य रूपमा बाँच्न सक्षम हुनेछैनौं भन्ने कुरा अहिले नै स्पष्ट हुनु जरुरी छ। यस संकटबाट एकमात्र वास्तविक निकास भनेको विश्वव्यापी रुपमा वितरण गर्न सकिने गरी खोपको विकास गरिनु हो। यसको मतलब अरबौं डोज खोप उत्पादन गरिनु, जुन आफैँमा निर्माणको सवालमा ठूलो चुनौती हो। र, प्रयासको बावजुद पनि कोभिड–१९ विरुद्धको खोप बनाउन सफल भइन्छ या भइँदैन यो अझै पक्का छैन।

केही मानिसहरु जसले आफ्नो सारा समय खोप बनाउन खर्चिए पनि उनीहरुले आफ्ना बच्चाहरूलाई भने खोप दिन इन्कार गर्नेछन् भन्ने विरोधाभाष पनि आइरहेको छ। यदि हामीले कोरोना भाइरस विरूद्ध खोप विकास गर्‍यौं तर धेरै व्यक्तिहरू सामेल हुन अस्वीकार गरे भने हामी महामारीलाई कहिले पनि नियन्त्रणमा लिन सक्ने छैनौं।

मलाई आशा छ, यो महामारीले धेरै क्षेत्रमा राजनीतिक तनाव कम गर्नेछ। हुनतः यो भ्रम मात्र पनि हुन सक्छ, तर हामीले विगतमा पोलियोलाई खोप अभियानकै सहयोगबाट संसारबाट निराकरण गर्न सफल भएको इतिहास रचिसकेको छौँ। चाहे अवस्था जस्तो भए पनि हरेक समयमा आशावादी रहने मेरो मूलभूत गुण आउने दिनमा पनि रहिरहने छ। कोभिड–१९को रुपमा मृत्युको सामना गरिसके पश्चात अब मेरो लागि मूर्खता, उन्माद, आलस्यको लागि कत्ति पनि समय रहने छैन। त्यसकारण, अहिले शान्त र उत्साहलाई आत्मसात गरी जीवनमा अघि बढिरहेको छु।

– भावानुवाद : अमृत जैसी र करुण भट्टराई,swsthyakhabarpatrika/from

प्रतिकृया दिनुहोस्