‘समाचार र विचारको
साझा चौतारी’





कोरोना प्रभाव : बाँझिएको जमीन हराभरा बनाउन जुट्दै युवा


म्याग्दी। कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट जोगिन देशव्यापी रूपमा लकडाउन (बन्दाबन्दी) गरिएपछि गाउँ फर्केका युवाले वर्षौंदेखि बाँझोे जमीनमा हरियाली बनाउन शुरू गरेका छन् । अध्ययन, रोजगारी, व्यवसायका साथै अन्य अवसरको खोजीमा गाउँ छोडेर शहर वा परदेश पसेकाहरू अहिले बाँझिएका जमीन र खोरिया खर्कहरूमा परिश्रम गरिरहेका भेटिन्छन् ।

म्याग्दीको बेनी नगरपालिका, मालिका, मंगला, धौलागिरि, अन्नपूर्ण र रघुगंगा गाउँपालिकाका खोरिया र बाँझो रहेका जमीनमा अहिले शहर तथा विदेशबाट गाउँ आएका युवाले धमाधम केरा, फलफूल र तरकारी लगाएका छन् । कतिपय ठाउँहरूमा वर्षौंदेखि बाँझिएर रहेका खोतीयोग्य जमीनमा अहिले मकैका बिरुवा हरिया भएका छन् ।

काठमाडौं बागबजारस्थित एक पुस्तक पसलमा काम गर्ने म्याग्दीको कुइनेका शुक्रराज रसाइली लकडाउनको कारण गाउँमा फर्किएर वर्षौंदेखि बाँझिएको बारीमा खनजोत गर्न व्यस्त छन् । काठमाडौंको गोंगबुमा होटल व्यवसाय गर्ने बेनी नगरपालिका–२ का गणेश थापा गाउँमा फर्किएको २ महीना हुन लाग्यो । यो अवधिमा उनले १४ रोपनी पाखो बारीमा सयौं बोट केरा लगाइसकेका छन् ।

त्यसैगरी सानालेखको दुर्गा आधारभूत विद्यालयका प्रधानाध्यापक खिमबहादुर कार्की विद्यालय बन्द भएको अवसर सदुपयोग गरी २० रोपनीभन्दा बढी क्षेत्रफलको खोरिया फाँडेर ५०० भन्दा बढी केराका बिरुवा लगाएका छन् । बेनी बजारमा इलोक्ट्रोनिक पसल सञ्चालन गरेका बगरफाँटका विष्णु शर्मा ९सापकोटा० लकडाउनका कारण पसल बन्द गरेर १२ रोपनी खेत र पाखोमा केराका नयाँ बिरुवा लगाउन र पुरानाको गोडमेल गर्न व्यस्त छन् ।

कृषिकर्ममा लागेका अधिकांश युवाले मौलिक कृषि प्रणालीलाई अवलम्बन गरेका छन् । मिनिटिल्लर लगायत आधुनिक कृषि उपकरणको पहुँच भएका ठाउँहरूमा पनि युवाहरू गोरु नारेर हलो जोत्न व्यस्त देखिन्छन् ।

बेनी नगरपालिका–४ सिंगाको फाँटमा गोरुद्वारा खेत जोतिरहेका नारायण पौडेलले मौलिक विधिद्वारा खनजोत गर्न आनन्द आउनुका साथै माटो पनि धुलौटो हुने हुँदा हलोले जोतेको बताए ।

म्याग्दीका अधिकांश ठाउँमा पौडेलले जस्तै रैथाने शीप र प्रविधिको प्रयोग गरी कृषिकर्म गरेको देखिन्छ । यसरी कृषिकर्ममा लागेका युवाहरू अवसरलाई चिन्नसकेमा अहिले भइरहेको हाम्रो खाद्यान्नमाथिको परनिर्भरता न्यूनीकरण गर्न सकिने बताउँछन् । ‘हिजो हाम्रा पुर्वजको माटो सुहाउँदो कृषि प्रणाली र अन्न तथा तरकारीबालीका बीउबिजन सञ्चितीकरण गर्ने ज्ञान र प्रविधिलाई ब्यूँत्याउन आवश्यक छ, ‘म्याग्दीको बिमस्थित कृषि प्राविधिक शिक्षालयमा आईएससी ९एजी० तेस्रो सेमेस्टरमा अध्ययनरत विनीता शर्माले भनिन् ।

पहिलेको खबरा अहिले बन्यो केरागाउँ :
बेनी नगरपालिका–२ को खबरा गाउँ पहिले खोरिया गाउँ भनेर चिनिन्थ्यो । तर यहाँका वासिन्दाको अथक मिहनत र कृषि मोहका कारण अहिले यो गाउँ कृषि गाउँ अझ केरा गाउँको रूपमा चिनिन थालेको छ । यहाँका सबै कृषकले केरा खेती गरेका छन् ।

करीब १८ हेक्टर क्षेत्रफलमा गरिएको केराखेती सफल भएपछि खबरा गाउँको मुहार नै फेरिएको छ । धान, गहुँ, मकै, कोदो बालीको विकल्पमा यहाँका कृषकले केराखेती गरेर डेढ वर्षमै लाखौं रुपैयाँ आम्दानी लिन थालेका छन् । यहाँका कृषकले केरा बेचेर मात्रै गाउँमा वार्षिक ५० लाख रुपैयाँ भित्र्याउने गरेका छ ।krishipatrika/from

प्रतिकृया दिनुहोस्