‘समाचार र विचारको
साझा चौतारी’




जब जुटे मनहरु स्वभिमानको गाथा उठाउन !


सम्पादकीय
भारतीय बिस्तारबादी शासकको दशकौँदेखिको हेपाह र मिचाह प्रवृतिका बिरुद्ध जब नेपालको गरिमामय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दल र नेताहरुले नेपाली गौरव र नेपाली स्वाभिमानका खातिर आफुलाई एक ढिक्का बनाए अनि दलीय स्वार्थ भन्दा माथि उठेर नेपाली माटो र राष्ट्रिय स्वाभिमानका लागि मनहरुलाई एक बनाए आज यो ऐतिहासिक दिन ! आज यो ऐतिहासिक संसद जसले भारतीय विस्तारवादी सोचका शासकहरुले नेपाली भूभागलाई एकलौटी हिसाबले मिचेका थिए र बिनाप्रमाण गोयबल्स शैलीमा आफ्नो हो भनी फरेब दाबी गरेका थिए तर आजको यो ऐतिहासिक संसद र यो गरिमामय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिकदल र दलका नेताहरुले त्यसलाई ललकार्दै नेपालको नयाँ नक्शा संविधान संसोधनमार्फत पारित गरेकाछन् ।
लिपुलेक, लिम्पियाधुरा र कालापानी सहितको भारतले अटेर गरि मिचेको नेपाली भूभाग सहितको नयाँ नक्शा नेपालको संघीय संसदले आज संविधान संसोधन मार्फत पारित गरेको छ । भारत हाम्रो शदीयौँ पुरानो छिमेकी देश हो र भारतीय जनता हाम्रा असल छिमेकी जनहरु हुन् । नेपाली जनता र भारतीय जनताबीचको वर्षौ पुरानो घनिष्ठ सम्बन्ध हिजो, आज भोली र सधै अमिट, घनिष्ठ र अझ कसिलो हुुन पर्छ । तर, भारतीय शासकहरुले नेपाल र नेपाली जनताप्रति हेर्ने मिचाहा र हेपाहा प्रवृति र दुष्टिकोणलाई बदल्नु जरुरी छ ।
नेपालले नयाँ नक्शा जारी गरेको विषयमा भारतीय शासकहरुले मन दुखाउने कुनै ठाउँनै छैन किन दिनको सूर्य बराबर प्रष्ट छ कि जुन नक्शा आज नेपालको संसदबाट पारित गरियो त्यो भूभाग नेपालको थियो , नेपालको हो र नेपालकै हुनेछ । ऐतिहासिक, बैज्ञानिक र वस्तुगत प्रमाण र तथ्यका आधारमा भारतसँग आफ्नो भूभागका विषयमा आफ्ना सबै प्रमाणका साथ नेपाल बहस गर्न तयार छ ।
गोयबल्स शैलीमा यो र त्यो भनेर कहिले कसलाई कहिले कसलाई देखाएर हाम्रो परम्परागत सुमधुर सम्बन्धमा असरहुने कुनै काम हामी कसैबाट हुनहुदैन । नेपालले आफ्नो भूभागलाई समेटेर सम्मानित संसदबाट सर्व सम्मत ढङ्गले नयाँ नक्शा पारित गरेकोमा मित्र राष्ट्र भारतले नेपालका राजनीतक दलहरुलाई धन्यबाद दिने अपेक्षा गर्नु अन्यथा नहोला ।
हिजोका दिन सम्म आफ्नो दलीय स्वार्थमा अधिक तल्लीन रहेका नेपालका राजनीतिकदल र नेताहरुको राष्ट्रियता र राष्ट्रिय स्वाभिमानका पक्षमा अपवाद बाहेकको यो एकतालाई आम नेपाली जनताले मनदेखिनै सलाम गरेकाछन् । र, आगामी दिनमा समेत राष्ट्र र जनताको पक्ष हित हुने मुद्धामा सबै राजनीतिकदलहरु आजको यो ऐतिहासिक एकताको निरन्तरता पनि नेपालीले चाहेकाछन् । राष्ट्र, राष्ट्रियता, जनजिविकाका लगायतका सवालमा दल र दलका नेताहरुको सोच र चिन्तन कुनै अमुक स्वार्थ भन्दा माथि उठेर हुने हो भने राजनीतिकदल र नेताहरुप्रति पछिल्लो समयमा जन्मदै गरेको जनताको धारणा सकारात्मक पथमा रुपान्तरण हुन कुनै समयनै लाग्दैन र नेताहरु हाम्रा लागि हुन् भन्ने भरोसा समेत जन्मन पुग्छ जसरी आजको ऐतिहासिक दिनमा संसदमा नेताहरुले एकतााको सम्मानजनक एकता प्रदर्शन गरेकाछन् ।

प्रतिकृया दिनुहोस्