‘समाचार र विचारको
साझा चौतारी’




नागरिकको स्वास्थ माथि खेलबाड नगर


सम्पादकीय
कोरोना महामारीले दुनियाँनै लकडाउनको अवस्थामा गुज्रिरहेको छ । कोरोना सन्त्रासले विश्वलाई थलापारेको कुरा कसैबाट छिपेको छैन । यसको नियन्त्रण र रोकथाम भनेकै अहिले प्रचलित शारीरीक दुरिको ख्याल, साबन पानीले हात धुने, मास्कको प्रयोग, सरसफाईमा ध्यान र कोही कसैलाई यसका लक्षण जो स्वास्थ्य विज्ञले भनेकाछन् यदि त्यस्तो भएमा स्वास्थ्य संस्था वा सम्बन्धि निकायमा सम्पर्क गर्नु रहेको छ ।तर झापाको मेचीनगर नगरपालिका वडा नं ६ का एक पूरुषमा अहिले कोरोना पोजेटिभ देखिएको छ । जानकारी अनुसार उनी भारतबाट आएका थिए , उनलाई नेपाल भारतको सीमा क्षेत्र मेचीपुलबाट काँकरभिट्टाको एउटा होटलमा राखिएको थियो । सामान्य स्वास्थ्य परिक्षण समेत नगरि उनलाई कसले होटलमा ल्याएर राख्यो र होटल बसाईको २४ घण्टा पनि नहुँदै उनलाई उनको घरमा होम क्वारेन्टाइनमा राख्ने भन्दै लगेको बुझिन्छ । प्राप्त पछिल्लो जानकारी अनुसार उनको रिपोर्ट अहिले पोजेटिभ देखिएको बताईएको छ । आश्चर्यको विषय त यो छ उनी भारतबाट आफ्नो देश नेपाल फर्कन स्वभाविक हो । तर, सामान्य स्वास्थ परिक्षण बिनै उनलाई होटलमा ल्याएर राख्ने र होटलबाट २४ घण्टा नहुँदै घर लैजान सिफारिस गर्ने काम राजनीतिक ब्यक्तिबाटै भएको भन्ने सुनिन आएको छ । सञ्चार माध्याममा आए अनुसार कोरोना पोजेटिभ देखिएका पुरुषलाई मेचीनगरकै एक जनप्रतिनिधिको राजनीतिक पहुँचका आधारमा उनलाई मेची पुलबाट होटल र होटलबाट घर लैजान सहयोग गरेको भन्ने कुरा बाहिर आएको छ ।
ती पुरुषलाई कोरोना पोजेटिभ देखिएपछि अहिले सो क्षेत्र आसपासका केही स्थानियको पिसिआर परिक्षण गर्ने काम भएको छ ।तर, प्रश्न यो उठेको छ कि राजनीतकि पहुँचका आधारमा नागरिकको स्वास्थसँग यो अति सम्वेदनशिल समयमा खेलबाड गर्नेहरुको विषयमा छानबिन गर्ने कि नगर्ने ? जो पुरुषलाई अहिले कोरोना पोजेटिभ देखिएको छ उनलाई मेचीपुलबाट होटल र होटलबाट घर लैजान सिफारिस गर्ने जो होस् उसलाई मेचीनगर नगरपालिका र उनी सम्बन्धित पार्टीले नागरिकको स्वास्थ्य माथि चरम खेलबाड गरेको विषयप्रति छानबिन गर्ने हिम्मत गर्छ कि गर्दैन आम नागरिकले अहिले हेरिरहेकाछन् ।
बिश्वलाई चुनौतीको पहाड बनेको कोरोना सन्त्रासमा राजनीतिक पहुँच र शक्तिको आडमा मनलागि गरेर आम नागरिकको स्वास्थ्य र जिवनलाईनै खेलाची ठान्नेप्रति सरोकारवाला निकायले छानविन नगरि अहिले सम्म मौन बस्नुको अर्थ के बुझ्ने ।मेचीनगर ६ का कोरोना पोजेटिभ देखिएका पुरुषलाईनै सोधे थाहा हुन्छ कि उनलाई मेचीपुलबाट काँकरभिट्टा सम्म सामान्य स्वास्थ परिक्षण नगरि कसले कसको सिफारिसका भरमा होटलमा राख्यो र फेरि २४ घण्टा नहुँदै घरमा लैजान कसले भन्यो यो विषयलाई दलगत ढङ्गले नभएर आम नागरिकको जिवनसँग जोडिएको महत्वको विषय हो भन्ने कुरा आउने दिनमा स्पष्ट होला ।तर, राजनीतिक पद र त्यसैको आडमा यदि कसैले नागरिकको जिवनसँग खेलाची गर्छ र यस्तो संवेदनशिल विषयप्रति सरोकारवाला पक्ष मौन रहन्छ भने यसलाई नागरिक अधिकारको धज्जी उडाउको मान्न सकिन्छ ।

प्रतिकृया दिनुहोस्