‘समाचार र विचारको
साझा चौतारी’




कर्मको यो असार


कविता


डा खगेन्द्रप्रसाद दहाल
(मन्दाक्रान्ता)
आयो आयो ऋतु र महिना कर्मको यो असार
यो बेलामै प्रिय कृषकको स्वेदको बग्छ धार
डाँडापाखा श्रम र पसिना खोज्दछन् पाखुराका
रोपी माया मल र जलले आँसु धुन्छन् गराका ॥१

ढाक्यो सारा नभ सघन भै मेघ पानी लिएर
दर्की आयो दररर झरी नाच्न थाल्यो रमेर
पानी पर्दा रनवन खुली देखिए रम्य डाली
सारा मैला हरित वनका लान्छ धोई पखाली ॥२

आए आए कृषक मनमा आस नौला उमारी
खेतीपाती मल बिजनको गर्न थाले तयारी
धर्ती हाँसिन् जलमय बनी खेतबारी भिजाई
ऊर्जा बाँड्दै प्रकृति गतिमा प्रेमधारा बगाई ॥३

खोलानाला रसमय बनी ब्यूँझिई बग्न थाले
पैनी पानीरहित सबमा प्रेमले भिज्न थाले
आली कान्ला वरपर घुमी अन्नले भन्न थाले
यो बेलामा प्रिय कृषक हो खेर ऊर्जा नफाले ॥४

हुन्छन् राम्रा अति रहरिला धानका ब्याडमाझ
बेठी खेल्छन् युवकयुवती छन् खुसीका रिवाज
रोपारेका छुपुछुपु गरी हातका बीउ नाच्छन्
आशा रोपी मृदु नयनमा प्रेमसंसार साँच्छन् ॥५

काँठे भाका सुमधुर अहा १ खेतमा गुञ्जनेछन्
जोतीजोती छपछप हिलो बाउसे छल्कनेछन्
खाजा खाँदै रमझम गरी सृष्टि सम्याउनेछन्
लाई बाली हृदयतहमा तृप्ति भित्र्याउनेछन् ॥६

होरा होरा ह ह ह ह सुनी खेत मुस्काउँदै छन्
तारे माले हलसँग हली प्यार झल्काउँदै छन्
रोपारेका लयसँग उता सोर तान्दै छ ब्याडे
धर्ती हुन्छिन् पुलकित सुनी गीत भाका असारे ॥७

घुम्दै फिर्दै रवि पवनको तापको नाप गर्छन्
कैले थप्छन् अलिकति यता फेरि बर्सात छर्छन्
क्रीडा वर्षासँग छ रविको सृष्टिको रम्य लीला
खोज्दै नौलो नियम विधिको व्यस्त विज्ञान होला ॥८

आऊ प्यारा सबल भुज हे शिल्प बोकेर आऊ
रोपौँ माया प्रिय मुलुकमा स्वच्छ सद्भाव ल्याऊ
पाई आफ्नै श्रम र पसिना हुन्छ सम्पन्न देश
बढ्ला आफ्नै सुझबुझ यहीँ दिव्य बन्ला स्वदेश ॥९
(डा दहालको फेसबुकबाट)

प्रतिकृया दिनुहोस्