‘समाचार र विचारको
साझा चौतारी’




प्रियंकाको तर्क- ‘नेपोटिज्म फिल्म क्षेत्रमा मात्रै छैन’


फिल्मीखबर, काठमाडौं, 2020/06/23

बलिउड अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या जस्तो ठूलो कदम उठाएपछि बलिउडमा एकपटक फेरि नेपोटिज्मको विषयमा बहस चर्किएको छ । अभिनेत्री कंगना रनावतले बलिउडमा मौलाएको नातावादका कारण सुशान्त डिप्रेसनको शिकार भएको र आत्महत्याको बाटो रोजेको अभिव्यक्ति दिएपछि यस विषयमा बलिउड फिल्मकर्मीबीच तर्क-वितर्क भैरहेको छ ।

सुशान्तको निधनपछि बलिउडमा सल्किएको परिवारवादको बहसबाट नेपाली फिल्म क्षेत्र पनि अछुतो बन्न सकेन । अभिनेत्री नम्रता सापकोटाले गएको हप्ता फेसबुकमा एक भिडियो पोस्ट्याउँदै नेपाली फिल्म क्षेत्रमा पनि नातावाद व्याप्त रहेको र यसले प्रतिभावान कलाकारहरुलाई अगाडि बढ्न रोकिरहेको बताएकी थिइन् । तर, उनको यो भनाईमा थोरैले मात्र समर्थन जनाएका छन् ।

नातावाद (नेपोटिज्म) को विषयमा नेपाली फिल्मकर्मीहरुले फरक-फरक धारणा राखेका छन् । फिल्म क्षेत्रमा नातावाद नभएको तर समुहवादको समस्या रहेको कतिको तर्क छ । भने, कतिले यहाँ कुनै पनि ‘वाद’ नभएको ठोकुवा गरेका छन् । यो विषयमा अहिलेसम्म फिल्मी परिवारबाट आएका कलाकारहरुले भने आधिकारिक रुपमा आफ्नो भनाई सार्वजनिक गरेका छैनन् ।

अभिनेत्री प्रियंका कार्कीले भने ‘नेपोटिज्म’ फिल्म क्षेत्रमा मात्र नभएको धारणा राखेकी छन् । इन्स्टाग्राममा एक प्रशंसकले सोधेको ‘नेपोटिज्म’ को प्रश्नमा उनले लेखेकी छन्, ‘नेपोटिज्म सबैतिर छ । एउटा डाक्टरले आफ्नो सन्तानलाई डाक्टर भएकै हेर्न चाहन्छ । व्यापारीले आफ्नो सन्तानलाई व्यापार नै सुम्पन्छ । यो कुरा फिल्म क्षेत्रमा पनि लागू हुन्छ । तर, प्रतिभावान व्यक्तिलाई अवसर नमिल्नु चाहिँ गलत हो ।’

प्रतिकृया दिनुहोस्