‘समाचार र विचारको
साझा चौतारी’




रुकुम हत्याकाण्ड : सांस्कृतिक प्रतिक्रान्तिको भद्दा स्वरूप


– अमृत सागर

इतिहासमा मात्र होइन, वर्तमानमा पनि नेपाली जनताले विभिन्नखाले निरङ्कुश व्यवस्थाको अन्त्यपछि स्थापित भएको लोकतान्त्रिक व्यवस्थामा हरेक किसिमका उत्पीडन, विभेद, असमानता र राष्ट्रघातको सामना गरिरहेका छन् । जहाँ हत्या उत्सव हो, बलात्कार कर्म हो, निमुखाहरूका लागि जेल–हिरासत यो देशमा जन्म लिएबापत भोग्नुपर्ने संसार हो । भ्रष्टाचार र कमिसन उनीहरूले पाएको जिम्मेवारीअनुसारको सुयोग्य कर्म हो । यी उत्सवका रूपमा गरिएका अपराध वर्तमान दलाल संसदीय भ्रष्ट राजनीतिक पार्टी र तिनीहरूको नेतृत्वमा रहेको सरकारमार्फत उत्पन्न गरिएका रचना हुन् ।

तिनै शासकहरूको शासन व्यवस्थामा अहिले एउटा विषय पेचिलो रूपमा अगाडि आएको छ जुन मुद्दा राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा बहसको विषय बनेको छ– जातीय विभेदसहितको उत्पीडन, त्यसपछिको हत्या र नरसंहार ।

रुकुम–जाजरकोट सोती चौरजहारी घटना जातीय अहंकारमा, शासित वर्गमाथि वर्तमान शासक वर्गले आफ्नो शासकीय परिचय दिएको नरसंहार हो । नेपालमा यो घटना न पहिलो हो, न त अन्तिम नै । वर्गसङ्घर्षलाई सामन्ती, दलाल संसदीय व्यवस्थाको पाउमा लगेर समर्पित गरेपछि, दुनियाँले देख्ने गरी हिंस्रक शासक वर्गको चेहरा देखाउन खोलिएको मुखुन्डो हो । हामी वर्गसङ्घर्षबाट थाकेका हौँ भने यो घटना सुरुआत मात्र हो ।

मानव जातिको उत्पत्ति र विकासका क्रममा मानिस–मानिस, क्षेत्र–क्षेत्र, जात–जाति, लिङ्ग आदिबीचको असमानता र विभेदका कारण वर्गसङ्घर्षको उत्पत्ति भयो । सदियौँदेखि मानवले मानवमाथि थोपरेको असमानता, १८ औँ शताव्दीको मध्यसम्म आउँदा धनी र गरिब, कथित उच्च र निचबीचको विभेद चरम उत्कर्षतिर पुग्यो । त्यसको सही समाधानका लागि सामाजिक वैज्ञानिक विचारकहरूबाट खोज, अनुसन्धान पनि उत्कर्षमा नै पुगेको थियो । कयौँ वर्षको अथक मेहनत र प्रयासबाट समाजमा पुँजीपति वर्गबाट शासित जनतामाथि थोपरिएको दमनकारी सत्ताको विकल्प वर्गसङ्घर्षमार्फत वैज्ञानिक समाजवादी व्यवस्था स्थापित गर्ने । श्रमिक जनता, मजदुर र किसानहरूको नेतृत्वमा असल कम्युनिस्ट पार्टी निर्माण गर्ने । त्यही पार्टीको नेतृत्वमा वैज्ञानिक समाजवादी राज्य व्यवस्थाको सरकार हुने । यो व्यवस्था र सरकार नै मानवसभ्यताको सबैभन्दा उत्कृष्ट र श्रमजीवी जनताको सेवामा समर्पित हुन्छ भन्ने निष्कर्ष निकालियो ।

यसपछि संसारमा कुनै पनि मानिस दासताको जाँतोमा थिचिएर पिसिनुपर्ने छैन, यो एउटा विश्व–दृष्टिकोण हो । यो बाटो हिँड्दा नै हाम्रो मुक्ति हुनेछ । सामाजिक विज्ञानका रचयिताको यही वैज्ञानिक दृष्टिकोणमा गोलबद्ध हुँदै संसारभरिका श्रमजीवी जनता, उत्पीडित र विभेदमा परेका मान्छेहरूले जोखिमपूर्ण तर साहसिक यत्रा मुक्तिको बाटो रोजे ।

आज हामी यही विश्व–दृष्टिकोणलाई आत्मसात गरेर नेपालमा क्रान्तिको निरन्तरतामा छौँ । वर्गविहीन समाजको परिकल्पना दूर छ तर विभेद र असमानताको अन्त्य नजिक छ । क्रान्ति, प्रतिकान्ति फेरि क्रान्तिमार्फत विजय हासिल गर्दै श्रमिक जनताको मुक्ति सम्भव छ । हामी यो कुरामा दृढ़ छौँ । हामीलाई विश्वास छ, यो दृढताले मात्र देश, जनता र स्वाधीनताको रक्षा हुनसक्छ ।

आज नेपालको परिस्थितिमा यही नारा उराल्ने अनि त्यही झन्डा बोक्ने तर साम्राज्यवादको गुलामी गरेर नअघाउने सरकार छ । कम्युनिस्ट पार्टीको बलियो भनिएको सरकार भएको बेला एउटा दलितको छोराले गैरदलितकी छोरीसँग प्रेममा जोडिएबापत निर्मम हत्यापछि भेरी नदीमा बग्नुपर्ने अवस्था किन आयो ? घटना हेर्दा जातीय भेदभावले भन्दा शासकीय अहंकारले निम्त्याएको नरसंहार बढी हो ।

दसबर्से महान् जनयुद्धले स्थापित गरेको सांस्कृतिक क्षेत्रको मूल्य र मान्यतालाई भत्काउने क्रममा शासक वर्गको संरक्षणमा भत्काइएको अथवा ध्वस्त परिएको एउटा अंश मात्र हो रुकुम सोती घटना । जबसम्म उत्पीडित वर्ग उत्पीडनका विरुद्ध वर्गसङ्घर्षमा एक भएर हामफाल्दैन तबसम्म न मुक्ति हुन्छ, न त हत्या र मृत्युलाई इन्कार गरेर समानतासहित स्वतन्त्रतापूर्वक बाँच्न सकिन्छ ।

दलाल संसदीय व्यवस्थामा भोटका लागि अपराधीलाई संरक्षण गरिन्छ र पालिन्छ । न्याय र समानताका लागि सङ्घर्ष गर्नेलाई दण्डित गरिन्छ । यो व्यवस्थाको परिभाषामा नवराज विकहरू भोटका लागि पालिएका अपराधी होइनन्, उनीहरू त उत्पीडित वर्गभित्रका न्यायका लागि सङ्घर्षरत तर यो व्यवस्थाले दण्डित गर्न योग्य मान्छे हुन् । त्यही भएर शासक वर्गबाट संरक्षित मान्छेहरूले उनीहरूको निर्मम हत्या गरेर उत्सव मनाए ।

यो नरसंहार जहाँ भयो, त्यो ठाउँ कुनै बेला वर्गसङ्घर्षको केन्द्र पनि हो । त्यही थलो रुकुम जसले विश्वसमुदायलाई गरिबी, अभाव, असमानता, जातीय , क्षेत्रीय, लैङ्गिक उत्पीडनका विरुद्ध विद्रोह गर्न सिकायो । तर आज त्यही ठाउँमा आजको युगमा मानव जातिले परिकल्पना गर्नै नसक्ने विषयका आधार यस्तो पाशविक घटना भयो । त्यसैले क्रान्ति प्रतिक्रान्तिमा बदलिएको मात्र होइन, यो घटनाबाट प्रस्ट देखियो वर्गसङ्घर्षले जन्माएका क्रान्तिकारी नेताहरूसमेत प्रतिक्रान्तिका नायक भएछन् । काठमाडौँबाट मात्र होइन, काठमाडौँदेखि रुकुमसम्म आफ्नो संयन्त्र परिचालन गरी क्रान्तिले स्थापित गरेका मूल्य र मान्यतालाई ध्वस्त पार्दै आफूले अँगालेको प्रतिक्रान्तिको बाटोलाई सत्य साबित गर्न हरेक अपराधमा सामेल भएका छन् जुन कार्य निन्दनीय छ ।

नेपालको इतिहासमा कुनै पनि आन्दोलन र विद्रोहले उठाउन नसकेको, उठाएर स्थापित गर्न नसकेको अथवा व्यवहारमा लागू नगरिएको, परम्परागत सत्ताले लादेको जातीय भेदभावलाई अन्त्य गर्न, दस वर्षको महान् जनयुद्धले उल्लेख्य योगदान दिएको छ । सामाजिक विभेदको अन्त्य गर्न सामूहिक भोजदेखि, दलित र गैरदलितबीचमा बिनाभेदभाव राजीखुसीमा स्वेच्छिक विवाह भए । पुरानो असमान र विभेदकारी परम्परालाई भत्काउन धेरै मान्छेहरूले बलिदान दिए ।

तितो कुरा के हो भने त्यति बेला पनि माओवादीका ती कर्मलाई तत्कालीन एमाले समूहले स्वीकार गर्न सकेको थिएन । अहिले हामीले भोग्दै आएको र देखेको कुरा के हो भने त्यति बेलाका अन्तरजातीय विवाहहरूलाई, तथाकथित शान्तिप्रक्रियापछि भत्काउने, घरवारविहीन बनाउने, एकाध घटना त यो देशबाट नै पालायन हुन बाध्य गराउनेसम्म पारियो । समाजमा हेर्दा यी र यस्ता कार्यमा सबभन्दा धेरै योगदान एमाले समूहबाट नै भएको छ ।

यसर्थ जातीय विभेद अन्त्यका लागि पहिलो सर्त वर्गसङ्घर्ष हो । वर्गसङ्घर्षभित्र सांस्कृतिक क्रान्ति हुनुपर्छ । सांस्कृतिक क्रान्तिभित्र पनि हाम्रो समाजमा चल्दै आएको असमान र विभेदकारी सांस्कृतिक सत्तालाई भत्काउनुपर्छ । जातीय हिसाबले मानिसको वर्गीकरण गर्ने परम्परा तोड्नुपर्छ । अहिलेसम्म उत्पीडन र विभेदमा परेका मान्छेलाई क्षतिपूर्ति दिई अबउप्रान्त दलित र गैरदलितबीचको असमानता सदासदाका लागि अन्त्य गर्नुपर्छ । रगतले जोडिएको नाताबाहेक अन्यत्र सबै समुदायभित्र स्वेच्छिक वैवाहिक सम्बन्धलाइ मान्यता दिनुपर्छ र सबैले स्वीकार गर्नुपर्छ ।

तर पछिल्ला दस वर्षमा भएका यस्ता पाशविक घटनालाई हेर्दा राज्यसत्ता यो कुरा मान्न तयार छैन । वर्तमान व्यवस्थाले यो कुरालाई स्वीकार गर्दैन । अझ यो व्यवस्थाभित्र दलितका नाममा आरक्षण कोटा खाने केही मान्छे जसको अगुवाइमा सडकमा रगत पोख्नुपर्ने, आफ्नै विभेदकारी सत्ताका विरुद्ध विद्रोह गर्नुपर्नेमा उल्टै दुनियाँलाई रुवाइरहेका छन् सत्ताधारी पार्टीको मतियार बनेर । उनीहरू विभेदको अन्त्य होइन, अपराध र असमानताको निरन्तरता चाहन्छन् ।

हिजोका राजा–महाराजा, राणा र पञ्चायती शासक वर्गले मान्दै आएको पुरातन, असमान र विभेदकारी परम्परालाई आफ्नै नागरिकको मुटु छियाछिया बनाउने गरी एमाले र काङ्ग्रेसहरूले बिस्तारैबिस्तारै निरन्तरता दिए तर माओवादी युद्धले त्यसलाई भत्काउन कोसिस गर्यो । त्यो बेला पनि काङ्ग्रेस र एमालेहरू बाधक बने । हत्या र युद्धलाई प्रोत्साहन गरे । आज त्यही पुरानो, मक्किएको व्यवस्था भत्काउन लागेको माओवादी र उसको तत्कालीन नेतृत्व नै हिजोका व्यवस्था सञ्चालकहरूकोमा विश्राम लिन पुगेको छ । त्यसकै आधारमा जातीय छुवाछूतको बहानामा हिजो कताकति एकजनाको हत्या हुन्थ्यो भने आज एकै ठाउँमा छजनाको हत्या र कयौँ घाइते भएका छन् । त्यसैले वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापित नहुँदासम्म, यो विभेदकारी सत्ता श्रमिक र उत्पीडित जनताका लागि हिजो पनि वैरी थियो र आज पनि वैरी नै छ ।

(लेखक नेकपा ओखलढुङ्गाका इन्चार्ज हुन् ।)२०७७, १० असार बुधबार  ई-रातो खबर

प्रतिकृया दिनुहोस्