‘समाचार र विचारको
साझा चौतारी’




साम्राज्ञीको गुनासो : ‘कलाकारले पाउनु पर्ने सानो सम्मान पनि यहाँ पाइँदैन’


फिल्मीखबर, काठमाण्डौ, 2020/06/26
केही दिनयता नेपाली फिल्म क्षेत्रमा नेपोटिज्म र ग्रुपिज्मको विषयमा व्यापक रुपमा बहस भइरहेको छ । यस विषयमा हरेकको आ-आफ्नै तर्क छ । फिल्म क्षेत्रमा मौलाएको नेपोटिज्मले प्रतिभावान व्यक्ति डिप्रेसनको शिकार भएको कतिको धारणा छ । भने, कति नेपाली फिल्म क्षेत्रमा कुनै ‘इज्म’ नभएको दाबी गर्छन् । कसैको भने फिल्म क्षेत्रमा ग्रुपिज्मको समस्या रहेको भनाई छ ।

यसबीच, अभिनेत्री साम्राज्ञी आरएल शाहले भने आफूले फिल्ममा काम गर्दा भोगेका भोगाईहरु साटेकी छन् । शुक्रवार आफ्नो इन्स्टाग्राममा एक भिडियो साझेदार गर्दै उनले ५ वर्षको अवधिमा ८ वटा फिल्ममा काम गर्दा आफूले धेरै नराम्रो अनुभव भोगेको बताएकी छन् । काम गरेकामध्ये तीनवटा ब्यानरले आफूलाई गरेको ब्यवहार शब्दमा व्यक्त गर्न नसक्ने उनी बताउँछिन् ।

उनले भनेकी छन्, ‘१७ वर्षको उमेरमा मैले फिल्ममा डेब्यू गरेको थिएँ । त्यसबेला धेरैले मलाई फिल्म क्षेत्र सानो छ, कति कुराहरु बाहिर ल्याउनुहुन्न भन्नुहुन्थ्यो । यसो गर्दा काम नपाउने भन्ने कुरा हुने गर्थ्यो । मैले जति पनि ब्यानरसँग काम गरेँ, तीमध्ये धेरैसँग दोहोर्‍याएर काम नगर्नुको कारण उहाँहरुले गर्ने ब्यवहार नै हो । एउटा कलाकारले पाउनु पर्ने सानो सम्मान पनि यहाँ पाइँदैन ।’

साम्राज्ञीले आफूमाथि कयैन् पटक शोषण भएको पनि बताएकी छन् । तर, आफूले ती सबै कुरा भुलेर मुहारमा हाँसो ल्याएर काम गर्ने गरेको उनी बताउँछिन् । उनी फिल्मको प्रचारमा सोधिने ‘किन घमण्डी भएको ?’ भन्ने प्रश्नबाट पनि आजित भएकी रहेछिन् । उनले छायांकन स्थलमा खानका लागि पानी माग्दा निर्माता/निर्देशकले अपशब्द बोल्ने गरेको तीतो अनुभव पनि सुनाइन् ।

उनले अगाडि थप्दै भनेकी छन्, ‘सुटिङ सेटमा खाना र पानीको व्यवस्था उपलब्ध गराउन आग्रह गर्दा कति निर्माता/निर्देशकहरु आक्रमण शैलीमा आउँथे । उनीहरुको व्यहारबाट धेरै बेर रुन्थेँ अनि केही नभएजस्तो गरेर फेरि सुटिङ गर्थेँ । किनकि, मलाई कामसँग प्रेम छ । कामको सम्मान गर्नुपर्छ भन्ने मैले बुझेको छु । म आफूले सकेको शतप्रतिशत काम दिने प्रयास गर्छु ।’

प्रतिकृया दिनुहोस्