‘समाचार र विचारको
साझा चौतारी’




चौतारीको याद


कविता

चक्रवर्ती गड्तौला

सालबन्दिको चौतारी यो सम्झिएछु आज
बुढा(पाका, ती तन्नेरी सुस्ताउँथे साँझ ।
हलोजुवा, कोदाली र ढिकी, जाँतो गरि
बिसाउन थकानलाइ बस्थे वरिपरि ।।

तल्ला घरे, मास्ला घरे, नयाँ घरे अरे
कोही तरे ती जिन्दगी कोही शहर झरे ।
तन्नेरीका दन्त झरे गाला मुजा परे
मन खोल्ने चौतारी यो अहिले एक्लै छ रे ।।

मच्चिएर, हल्लिएर घोडचढी मानी
त्यही खेल खेल्थिउँ हामी ठाउँ छानीछानी ।
बेग्लै थियो संसार त्यो बेग्लै आनिबानि
उस्तै बग्ला माछा मार्ने त्यो कुलाको पानी ।।

आज पनि लुकामारी खेल्नलाइ जाउँ ।
समयलाइ निमोठेर फर्किएर जाउँ ।
जस्तो लाग्छ तर पनि टाढै हुन्छु किन ?
सक्छ्स भने ए चौतारी आइज मलाइ लिन ।

पर्खिएर बसिरहे जस्तो लाग्छ तैंले
समयले खोसेको छ बालापन अहिले ।
सक्दिन म फर्काउन बितेका ती दिन
सक्छ्स भने ए चौतारी आइज मलाइ लिन।।
(गड्तौलाको फेसबुकबाट)

प्रतिकृया दिनुहोस्