‘समाचार र विचारको
साझा चौतारी’




कान्तिपुरको निर्णयले नेपाली मिडियामा प्रभाव


तारामणि सापकोटा
असार १५, २०७७ सोमबार
नेपालको व्यावसायिक पत्रकारिताका दृष्टिकोणले सबैभन्दा सक्षम र अब्बल मिडिया हाउस कान्तिपुर मिडिया ग्रुपले शुक्रबार औपचारिक रुपमा सह प्रकाशन नेपाल साप्ताहिक, नारी पाक्षिक र साप्ताहिक अखबार बन्दगर्ने निर्णय सार्वजनिक गरेको छ । कान्तिपुरले कोरोना महामारीको कारण देखाउँदै तीनवटा अखबार बन्दगर्ने घोषणा गरेको हो । कान्तिपुरको सहप्रकाशन बन्दगर्ने निर्णयले नेपाली मिडियाको भविष्यका सन्दर्भमा बहस र छलफल हुन थालेको छ ।

कान्तिपुर मिडिया ग्रुपको प्रकाशन कान्तिपुर दैनिक र सहप्रकाशनले नेपालको व्यावसायिक पत्रकारितामा महत्वपूर्ण योगदान दिएका छन् । कान्तिपुर दै
निक समाचार लेखन, भाषा, शैलीका हिसाबले नेपाली पत्रकारिताको मानक बन्यो । आजका दिनमा पनि सबै भन्दा ठूलो मिडिया हाउसका रुपमा कान्तिपुर स्थापित छ ।

व्यावसायिक पत्रकारिता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, लोकतन्त्र र मानवअधिकार जस्ता आधारभूत अधिकारका लागि कान्तिपुर मिडियाले गरेको संघर्ष र योगदान स्मरणयोग्य छ । तर, २७ वर्षे सुनौलो इतिहासबाट कान्तिपुर पछाडि फर्कनु पर्ने अवस्थामा आएको छ । कान्तिपुरका तीन सहप्रकाशनका बन्दको घोषणा छापा पत्रकारिताका लागि शुभसंकेत होइन ।

कान्तिपुर दैनिकनिरन्तर छ । यद्धपि तीन वटा सहप्रकाशन बन्दगर्ने निर्णयले मुख्यधाराका मिडिया र सोसल मिडियामा नयाँ बहस आरम्भ भएको छ । पत्रकारिता वृत र आममानिसले सकारात्मक नकारात्मक टिप्पणी गरेका छन् । पत्रकारिताको बदलिँदो स्वरुप र डिजिटल मिडियाको अध्ययन र विश्लेषण गर्ने नागरिक र पत्रकारका लागि अबकादिनमा पत्रिका बन्द हुनु विषय अनौठो हुँदैन । तर, सामान्य नागरिकका लागि कान्तिपुरका तीन–तीन वटा पत्रिका बन्द हुनु अनौठो लाग्न सक्छ ।

पत्रिकाबन्द भएपछि नागरिक र मिडियाकर्ममा सक्रिय व्यक्तिले के कान्तिपुरका सहप्रकाशन कोरोना संकटले नै बन्द भएको हो ? कान्तिपुर मिडिया ग्रुपले के कान्तिपुर दैनिकपनि बन्द गर्ने तयारी गरेको हो ? ग्रुप अब डिजिटल प्लेटफर्ममा मात्र सीमित हुने हो ? जस्ता प्रश्न र जिज्ञासा गरेका छन् । कुनै पनि पत्रिका बन्द हुनु अबका दिनमा आश्चर्यको विषय होइन । पुरानोको मृत्य ुहुने र नयाँको जन्महुने कुरा विज्ञानको नियम हो । पुराना मिडियाको अन्त्य र नयाँ मिडियाको विकास पनि विज्ञानको त्यही शाश्वत नियमको परिणाम हो ।

पत्रिका बन्दमा मुख्य कारण के ?
कोरोनाबाट प्रभावित भएको तीनमहिना पूरा भइसक्यो, अझै कति महिना वा वर्ष प्रभाव पार्ने हो कसैले यकिन गरेर भन्न सकिने अवस्था छैन । यस्तो अवस्थामा पत्रिका बन्दहुने कुरालाई मिडियाकर्मी र आममानिसले स्वभाविक रुपमालिन सक्छन् । तर, के कान्तिपुरले केहीमहिना, वर्ष यी तीन वटा सहप्रकाशनलाई निरन्तर गर्न सक्तैनथ्यो ? भन्ने प्रश्न उठेको छ । उसले चाहेको भए विगतमा आर्जन गरेको सम्पतिबाट पनि पत्रिकालाई निरन्तरता दिन सक्थ्यो । तर, कान्तिपुर ग्रुप र यसका सञ्चालकले व्यावसायिक इमान्दारिता देखाए । नाफाआर्जन गर्न खोलिएको व्यवसायमा घाटा हुने भएपछि किन निरन्तरता दिने ? भन्ने सोचले पत्रिका बन्द भएका हुन् ।

कान्तिपुरका तीनवटा पत्रिका बन्द हुँदा कयौँ पत्रकारले जागिरबाट हातधुनु परेको छ । कान्तिपुर मिडिया ग्रुपले अझै पत्रकार र कर्मचारी कटौतीगर्न सक्छ । कान्तिपुरबाट मात्रहोइन, अन्य कयौं मिडिया हाउसबाट पत्रकारले हातधुनु पर्ने अवस्था आउँदैछ । कयौंले मिडिया हाउसबाट बिदा पाइसकेका छन् । नेपाली पत्रकारितामा कोरोना तात्कालिक कारण भएपनि डिजिटल मिडिया मुख्य कारकतत्व हो ।

डिजिटल मिडियाको विकासले परम्परागत मिडिया (पत्रिका, रेडियो र टेलिभिजन)मा एक प्रकारले धमिरा लागिसकेको थियो । मानिसको परम्परागत मिडियामा भन्दा अनलाइन र सोसल मिडियामा मिडियामा आकर्षण बढ्दो छ । पत्रिका, रेडियो र टेलिभिजन भन्दा सूचना प्रवाहका कयौँ सन्दर्भमा सोसल मिडिया अगाडि देखिएको छ । परम्परागत मिडियाको विकल्पमा अनलाइन मिडिया र सोसल मिडिया स्थापित भएका छन् । कोरोना महामारी आउनु केहीवर्ष अघि नै युरोप अमेरिका जस्ता विकसित देश्म्ँ वर्षौको इतिहास भएका पत्रिका बन्द भए ।

नेपाली मिडियाको भविष्य
नेपालमा स्थानीय मात्र होइन, राष्ट्रियस्तरका पत्रिकाको संख्यापनि सानो हुनथाल्यो । मानिसले टेलिभिजनको रिमोट होइन, फेसबुक, ट्वीटर र युट्युव जस्ता सोसलमिडिया सर्च गर्न थालेका छन् । जुरुक्क उठेर घरको गेटमा भएको अखबार ल्याएर चियाको चुस्कीसँगै पढ्ने मानिस मोबाइलमा सोसल मिडिया र अनलाइन मिडिया सर्च गर्न थालेका छन् ।

रेडियो ट्युन बटार्ने गतिमा कमी आएको छ । गीत संगीत रेडियोमा होइन, सोसल मिडियामा सुन्ने र हेर्न थालेका छन् । ग्रामीण क्षेत्रका नागरिकमा रेडियोको केही पहुँच बाँकी रहेपनि इन्टरनेटको पहुँचपुगेका दिन् रेडियो सुन्ने नयाँ पुस्ता क्रमशः गुमाउँदै जानेछ ।

डिजिटल मिडियाले परम्परागत मिडियामा ल्याएको यो संकट आफँैमा एक महामारी हो । डिजिटल मिडियाको प्रभावले धरापमा परेका पत्रिका डायोनोसरको यात्रामा रहेका छन् । कान्तिपुर ग्रुपले राजधानीका र जिल्लाका पत्रिकालाई बन्दगर्ने बाटो खोलिदिएको छ । कुनै पत्रिका बन्दको घोषणा हुँदा अब आश्चर्यको विषयनहुने भएको छ । अरुले कान्तिपुरले त बन्दगर्यो तँ को हो र ! भन्ने बाटो बनाइदिएको छ ।

२०७६ सालचैत ११ गते सरकारले लकडाउनको घोषणा गरेसँगै देशका प्रायःसबै पत्रिका बन्द भए । राजधानी वा मोफसलबाट प्रकाशनहुने पत्रिका संख्यामा धेरै भएपनि प्रभाव र संख्या न्युन भइसकेको थियो । पाठककालागि सूचना पाउने स्रोत पत्रिका अनिवार्य हुन छाडेको थियो । मोफसलदेखि राजधानीसम्मका कयांै अखबार प्रकाशनगर्न र निरन्ततादिन संकट हुनथालेका बेला कोरोना राम्रो बहाना भएको छ ।

सूचना विभागले दिने अनुदानकालागि मोफसलबाट प्रकाशन हुने कयौं पत्रिकाको अवस्था नाजुक थियो । स्वरोजगारमूलक स्थानीय अखबारसँग पत्रकारको साइनो र सम्बन्ध भएकाले बन्दगर्दा प्रतिष्ठाको विषय हुन्थ्यो । त्यस्तै राजधानीका ठूला लगानीका पत्रिका बन्दगर्दा राहुको इज्जतको सवाल हुन्थ्यो । तर, इज्जत जालाका कि भनेर डराएका पत्रिका सञ्चालककालागि कोरोना महामारी राहत भएको छ । राजधानीबाहिरका सयौँ दैनिक, साप्ताहिक र मासिक पत्रिकाले अब निरन्तरता पाउने न्युन सम्भावना छ ।

तीन महिना भन्दा बढी भयो मानिसले पत्रिका पढ्न छाडेको छ । नेपालमा कोरोना संक्रमित भर्खर दशहजार नाघ्दै छ । साउनसम्ममा ४० हजार संक्रमित हुने सरकारी प्रक्षेपण छ । मृत्युको संख्या अझै बढ्नेवाला छ । कोरोनाको त्रास तत्काल समाप्तहुने सम्भावना छैन । पत्रिकाबाट कोरोना सर्न सक्ने त्रास कायमै छ । परम्परागत मिडियालाई अनलाइन र सोसल मिडियाले चुनौती दिइरहेका समयमा मानिसमा निर्विकल्प रुपमा सूचना पाउन अनलाइन र सोसल मिडियामा अभ्यस्त भएका छन् ।

सोसल मिडिया र अनलाइनमा अभ्यस्त भएका नागरिक के अब पुनः पत्रिका लगायतका परम्परागत मिडियामा फर्किएलान् ? कोरोनाले नेपाल मात्र होइन, संसार नै आर्थिक रुपले चौपट भएको छ । यस्तो अवस्थामा उद्योग, व्यापार व्यवासय पुरानो ठाउँमा आउनकति समय लाग्ला ? कसैले अनुमान गर्न सक्ने अवस्था छैन ।

आर्थिक स्रोत बिना मिडिया नचल्ने भएकाले अबका दिनमा अहिलेकै संख्यामा पत्रिका, रेडियो र टेलिभिजनले निरन्तरता पाउने सम्भावना न्युन हुँदै गएको छ । आर्थिक स्रोत धेरै संकुचन भएकाले कयौं सञ्चार माध्यम बन्द हुने बाटोमा छन् भने कयौँले कर्मचारीको संख्या कटौती गरेका छन् र गर्दैछन् । कोरोना समाप्त भएपनि नेपालमा यति ठूलो संख्याका मिडिया र पत्रकारले निरन्तरता पाउने सम्भावना कमजोर सावित भएको छ ।sajilokhabar/from

प्रतिकृया दिनुहोस्