‘समाचार र विचारको
साझा चौतारी’




नेकपाका संस्थापक नेता पुष्पलालको स्मृतिमा


– – हेमन्तप्रकाश ओली ‘सुदर्शन’

 

–‘सजीवताबिनाको पार्टी सङ्गठन त केवल अस्थिपञ्जर मात्र हो ।’
–पुष्पलाल

मानिस मरेर गए पनि त्यस्ता मानिसहरूको स्मरण र चर्चा भइरहन्छ जसले मानिसद्वारा मानिसको शोषणको अन्त्य गर्न आफ्नो जीवन धरौटी राखेका हुन्छन् । कमरेड पुष्पलाल त्यस्तै व्यक्ति हुनुहुन्थ्यो जसले शोषित–उत्पीडित जनताको मुक्तिका लागि आफ्ना व्यक्तिगत स्वार्थहरूलाई त्यागेर लड्दै जाँदा अल्पायुमै मृत्युवरण गर्नुभएको थियो ।
१५ असार १९८१ सालमा रामेछापको भँगेरीमा जन्मनुभएका पुष्पलालको ५४ वर्षकै उमेरमा ७ साउन २०३५ मा मृत्यु भएको थियो । उहाँ साँच्चै नामअनुसार नै फूलहरूमा रातो फुल्ने हुुनुहुन्थ्यो र जनमुक्तिका लागि अमर हुनुभएको हो । उहाँको मृत्यु भएको पनि अहिले ४२ वर्ष भइसकेको छ । साउन ७ गते पुष्पलालको स्मृति दिवस र असार १५ गते उहाँको जन्मजयन्ती हो । हाम्रातर्फबाट ९७ औँ जन्मजयन्ती र ४२ औँ स्मृति दिवसका अवसरमा हार्दिक श्रद्धासुमनसहित नेपालमा नयाँ जनवादी क्रान्ति हँुदै वैज्ञानिक समाजवाद स्थापना गरी विश्व–साम्यवादको महान् सपनाको शिखरमा पुगिछोड्ने उहाँको वैज्ञानिक अठोटमा अघि बढ्ने प्रतिज्ञा गरौँ । यही नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।
कमरेड पुष्पलालको जन्मजयन्तीका अवसरमा उहाँलाई स्मरण गर्नुको अर्थ उहाँका योगदानहरू स्मरण गर्नु र अधुरो कार्यभार पूरा गर्न कम्मर कस्नु हो । उहाँलाई हामी कुन कारणले गम्भीर रूपले स्मरण गर्दछौँ भने उहाँले नै नेपालमा आफ्ना सहयोद्धाहरू नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य र नारायणविलास जोशीसहित २००६ सालमा नेपालमा कम्युनिस्ट पार्टीको स्थापना गर्नुभएको थियो । चीन नौलो जनवादी क्रान्तिसहित वैज्ञानिक समाजवादमा प्रवेश गरेको थियो भने भारत दुई वर्षअघि मात्र अङ्ग्रेजको जन्जिरबाट स्वतन्त्र भएको थियो । उत्तर र दक्षिणका दुवै छिमेकीहरूले मुक्ति पाएको बेला नेपालमा उहाँले मुक्तिमार्गको साधन उद्घाटन गर्नुभएको थियो । जहानिया राणा शासन रहेकै अवस्थामा यो कार्य एउटा महान् र ऐतिहासिक सुरुआत थियो । त्यसकारण हामी क. पुष्पलाललाई सहिद गङ्गालाल श्रेष्ठका भाइ मात्र होइन, गङ्गालालको वास्तविक सपना पूरा गर्ने नेपाल कम्युनिस्ट पार्टीका संस्थापक सदस्य भनेर चिन्दछौँ । कुनै पनि कार्यको सुरुआत एउटा कठिन र जोखिमपूर्ण हुन्छ ।
दोस्रो कुरा, उहाँ अथक र इमानदार कम्युनिस्ट योद्धा हुनुहुन्थ्यो । उहाँले माक्र्सको संश्लेषण ‘विज्ञानको कुनै सीधा तथा फराकिलो राजमार्ग हुँदैन र त्यसको प्रकाशमान शिखरसम्म त्यो नै पुग्नसक्छ जो उसको अघिल्तिर उभिएको ठाडो उकालोदेखि डराउँदैन’ लाई राम्रोसँग ग्रहण गर्नुभएको थियो । उहाँले पार्टीभित्र रायमाझी र तुल्सीलाल प्रवृत्तिसँग निरन्तर अन्तरसङ्घर्ष गरी क्रान्तिकारी कम्युनिस्ट पार्टी र त्यसको सिद्धान्तको रक्षा गर्नुभएको थियो भने वर्गसङ्घर्षका खतरासँग मुकाबिला गर्नुभएको थियो । पार्टीभित्र कैयौँले उहाँको इमानदारीतामाथि टेकेर आफ्नो स्वार्थ पूरा गर्न खोजेका थिए । अन्ततः उहाँको वैज्ञानिक इमानदारीको सिमेन्टेड पर्खालमा ठोक्किएर पछारिए । उहाँलाई गलाउने सपना चकनाचुर भयो ।

तेस्रो कुरा, सोभियत सङ्घमा खु्रस्चोभ सत्तामा आएपछि उसले शान्तिपूर्ण सङ्क्रमण, शान्तिपूर्ण सहअस्तित्व, शान्तिपूर्ण प्रतिस्पर्धा र सबै जनताको पार्टीजस्ता वर्गसमन्वयवादी सिद्धान्त ल्यायो । यहीँबाट चिनियाँ कम्युनिस्ट पार्टी र सोभियत सङ्घ कम्युनिस्ट पार्टी (बोल्सेबिक) का बीच महान् बहस सुरु भयो । नेपालमा खु्रस्चोभको कार्यदिशा अवलम्बन गर्दै तुल्सीलालले राष्ट्रिय प्रजातन्त्रको बाटो अपनाए । यसप्रकारका घरेलु र बाह्य संशोधनवादका विरुद्ध लड्दै पुष्पलाल माओको क्रान्तिकारी कार्यदिशा रक्षाका लागि कम्मर कसेर अघि बढ्नुभएको थियो । यो धेरै महत्वको कुरा हो । त्यसकारण उहाँ माओले विकास गर्नुभएको दीर्घकालीन जनयुद्ध, नयाँ जनवाद, वैज्ञानिक समाजवाद, सर्वहारा अधिनायकत्वअन्तर्गत निरन्तर क्रान्ति (महान् सर्वहारा सांस्कृतिक क्रान्ति) मा सतिसाल भएर उभिनुभयो ।
चौथो कुरा, उहाँको मृत्यु भइसकेपछि मात्र म कम्युनिस्ट पार्टीको नाम सुनेर २०३५ सालदेखि विद्यार्थी सङ्गठनको राजनीतिमा बामेसर्न थालेको हुँ । २०४० सालमा मात्र मैले नेकपा (मशाल) को सदस्यता लिएको थिएँ । त्यहीवरिपरि मेरो हातमा ‘गद्दार पुष्पलाल’ शीर्षकको किताब प¥यो । २०५५ सालसम्म मैले पनि उहाँलाई नकारात्मक पात्रका रूपमा लिएँ । हामीलाई त्यो किताब पढाउने पुष्पकमल दाहाल र बाबुराम भट्टराईहरूले गद्दारी गरेर गएका छन् । त्यो किताब लेख्ने मोहनविक्रम सिंहले पनि त्यति गतिलो गरेका छैनन् । अन्ततः गद्दार भन्नु गल्ती थियो भन्नचाहिँ सबै बाध्य भए । पुष्पलाललाई गद्दार भन्नुको मूल कारण उनले काङ्ग्रेसलाई पुँजीवादी पार्टी भन्नु र त्यससँग कार्यगत एकता गर्नुपर्छ भन्नु नै रहेछ । विश्लेषणमा केही कमी–कमजोरी र सीमा हुन सक्छन् तर त्यत्तिकैमा गद्दारै भन्नु अन्धाहरूको हातीछमाइ मात्र थियो । समकालीन नेपाली कम्युनिस्ट आन्दोलनमा उहाँजस्तो इमानदार र क्रान्तिकारी नेता अरू कोही रहेनछ भन्ने कुरा आज उहाँका रचनाहरूबाट स्पष्ट हुन्छ ।
पाँचौँ कुरा, उहाँ एकजना प्रतिभाशाली लेखक र इतिहासकार पनि हुनुहुन्थ्यो । उहाँले नै वास्तवमा माक्र्सवादी कोणबाट नेपालमा भएको समाज विकासवारे स्पष्ट पार्नुभएको छ । उहाँ एक सरल भाषामा गहिरो अभिव्यक्ति दिने लेखक हुनुहुन्थ्यो भन्ने कुरा सङ्कलित रचनाहरूको अध्ययनबाट स्पष्ट हुन्छ । उहाँ निरन्तर अध्ययन र चिन्तनमा हुनुहुन्थ्यो । कम्युनिस्ट पार्टीको घोषणापत्र पहिलोपटक २००५ मा नेपाली भाषामा उल्था गर्ने उहाँ नै हुनुहुन्थ्यो । नेपालमा कम्युनिस्ट पार्टीको घोषणापत्र, पार्टीको दस्ताबेजदेखि पर्चासम्म उहाँले नै लेख्नुभएको थियो ।

त्यसकारण क. पुष्पलालको स्मरण गर्दा उहाँलाई नेपाल कम्युननिस्ट पार्टीका संस्थापक, अथक र इमानदार कम्युनिस्ट योद्धा, सबैखाले संशोधनवादका दुस्मन, सबैखाले प्रतिक्रियावाद र साम्राज्यवादको उन्मूलनको लडाइँका कमान्डर, एक प्रतिभाशाली लेखक तथा इतिहासकार भनेर बुझ्नु पर्दछ । आज हामी नेपाल कम्युनिस्ट पार्टीमा काम गर्ने कमरेडहरूले यो आलेखको सिरानमा उद्धृत उद्धरणलाई विशेष ढङ्गले ग्रहण गर्नुपर्दछ ।२०७७, १५ असार सोमबार ई-रातो खबर

प्रतिकृया दिनुहोस्