‘समाचार र विचारको
साझा चौतारी’




अनिकाल लाग्यो भन्छन्, खै कसलाई लाग्यो जसले खेती गरेको छ, उसैलाई लाग्यो !



आज सत्रौ धान दिवस, दिवसका लागि यो पनि एउटा दिवस । हरेका वर्ष धान दिवस मनाउँदै आएको पनि सत्र वर्ष भए छ । तर, धान बनाउनेहरुको ब्यथा र कथा भने दशकौँ देखि दिवसको रुपमा होइन बेदना, पीडा र अभावको रुपमा बल्झिरहेको छ ।
नेपाल कृषि प्रधान देश हो भनेर मैले सानै पढेको पनि थिएँ । पछि बुझ्दै जाँदा नेपालमा खेत र खेती गर्नेहरुको संख्या धेरैनै रहेछ ।सबै भन्दा धेरै काम गर्ने पनि खेतीकर्मीहरुनै रहेछन् तर सबै भन्दा गरिब पनि उनीहरुनै रहेछन् ।
कृषि प्रधान देश नेपाल भनिएपनि खेती गर्ने एउटा अर्थात धान तुल्याउने एउटा दाम राख्ने अर्को छ, किसान सबै भन्दा धेरै काम गर्छ अनि राज्यको नजर सबै भन्दा कम उसैमा पर्छ । श्रम जसले धेरै गर्छ सम्मान पनि उसैलाई कम हुने देशमा आज हामी सत्रौँ धान दिवस मनाएर एउटाले अर्कालाई सामाजिक संजालमार्फत शुभकामना आदानप्रदान गरिरहँदा शायद त्यो धान बनाउने मान्छे कुनै कान्लो तासि रहेको होला, निधारबाट बगेको पसिना कुइनाले सप्काउँदै बिउ उखेली रहेको होला , राम्रो स्तरको धानको बिउ नभएकाले कता कता खिन्न बन्दै भएपनि गाबो गाड्दै होला ।
मैले सानैमा हिजोआजका किसान र मजदुरका मान्छे हौँ अर्थात हामी कम्युनिष्ट भन्ने हरुले लुकीछिपी गीत सुनाएको आज पनि संझना गरिरहेको छु ‘ अनिकाल लाग्यो लाग्यो भन्छन् , खै कसलाई लाग्यो जसले खेती गरेको छ, उसैलाई लाग्यो ’ । यी र यस्ता गीत सुनाउनेहरु अहिले सरकारमा पनि छन् ।तर, यी गीत सुन्ने मान्छेहरुको अवस्था जस्तोको तस्तै भन्दा पनि अझ गुज्रिएको छ ।तर, यी गीतहरुले जनआकर्षण बढाएर सरकारमा पुग्नेहरुनै अहिले महाजन बनेकाछन् । उनीहरु यदि महाजनमा रुपान्तरण हुन नपुगेका भए नेपाली किसानहरुका लागि उही किसानको पार्टी सरकारमा हुदा ग¥यो के ? आज पनि खेती गर्ने त्यी मेहनतकस किसानहरुको अन्नको दर भाउ तोक्ने अर्को छ, उनै खेती गर्ने मान्छेहरु भोकाछन् ।
समयमा न मल बिउ छ, न सिंचाईको ब्यवस्थापन छ, अझ भन्ने हो भने कुनै किसान खेतीपातीका लागि बैंकम कर्जा लिन गयो भने एउटा न एउटा बहानमा त्यहाँबाट उसलाई निराश बनाएर पठाउने प्रथा सकिएको छैन ।तर, आज हामी सत्रौँ धान दिवस मनाउँदै छौँ थाहा छैन धान बनाउने मौरीहरुको हालत कस्तो छ !
कषि प्रधान देशका सयौँ बिघाह जग्गा बाँझोमा बदलिएकाछन्, भरपर्दो राज्यको कुषि नीति नहुँदा हजारौँको संख्यामा नौजवान किसानका छोराहरु विदेश जान बाध्यछन् , खेती योग्य जमिन भू माफियाको कब्जामा परेकोछ ।भात खाने चामल हामीसँग पुग्दैन छिमेकी देशबाट ल्याउँछौँ , खेती गर्ने मान्छेलाईनै अनिकाल लाग्छ , देशमा किसान र मजदुरको सरकार छ , हामी धानका बोट टाँसेर एकले अर्कालाई सत्रौँ धान दिवसको शुभकामना दिदैछौँ । समयमा उन्नत जातको बिउ नपाएर निरास बनेको किसान फेरि मंसीरमा आफ्नो पसिनाको मोल कति तोकिने हो भनेर गाबो गाड्दै देखि चिन्तामा छ अर्को किसान पोहोर त जेनेतेन ८ महिना खोलेफाँडो खान पुगेको थियो यसपाली कति पुग्ने हो भनेर आलिभित्ता तासिरहेका बेला सोच मग्न छ बिडम्बना देशमा कम्युनिष्टको सरकार छ, प्रष्ट कृषि र किसानका बारेमा भरोसा लाग्ने नीति कार्यक्रम छैन । हामी धान दिवस मनाउँदैछौँ , धान बनाउने धानवालालाई अत्तोपत्तो छैन । अनिकाल उसलाई लाग्छ यो देशमा जसले खेती गरेकोछ !

प्रतिकृया दिनुहोस्