‘समाचार र विचारको
साझा चौतारी’




प्रणाली बदलियो, प्रवृति उनै र उस्तै


पञ्चायतदेखि आजको लोकतन्त्र सम्म आउँदा सिधा हिसाबले हेर्ने हो भने प्रणालीमा परिवर्तन भएको छ । शासन प्रणालीको नाममा परिवर्तन भएपनि शासन चलाउने प्राणी र प्रवृतिमा कुनै बदलाव नभएपछि परिणाम भनेको ब्यवस्था परिवर्तन भएको जस्तो लागे पनि आम नागरिकमा त्यो ब्यवस्थाको महशुष नहुनुलाई अन्यथा मान्न सकिदैन ।
देशमा अहिले लोकतान्त्रिक गणतन्त्र छ भनिएको छ, संविधानले जनअधिकारको ग्यारेण्टी गरेको पनि छ तर शासन प्रणालीको नाम जति लोकतान्त्रिक राखिएता पनि यसको तलदेखि माथि सम्म हिजोकै पात्र र प्रवृति अर्थात उनै प्राणीहरुको हैकम चलेपछि ब्यवस्थाको नामले केही पनि फरक पर्दैन । सवारी साधन जतिसुकै राम्रो भएपनि चालकमा कौशलता छैन भने त्यो सवारी साधनको सहि उपयोग होइन त्यसले दुर्घटनालाई निम्त्याउँछ । पञ्चायतदेखि आजका दिन सम्म पनि हुकुमी शासनकै जगजगी छ । निमुखाले न्याय पाउनु भनेको एकादेशको कथा जस्तो भएको छ । जसको हुकुम चल्छ उसैको संसार जस्तो भएको छ । सरकार आफ्नै पार्टी भित्रको कचिंगलमा फसेको छ, केही नेताहरुको ठेकदारी जस्तो भएको छ देशको शासन र सत्ता अनि कसरी बन्छ देश ? कसरी हुन्छ समृद्ध नेपाल र कसरी हुन्छन् सुखी नेपाली ? न्याय पाईन्छ भन्ने कुरामा पनि आज शंकाको पहाड उठेको छ । पहुँच छ भने यहाँ जे पनि हुन्छ र चल्छ भन्ने मानशिकता बढेको छ ।
पञ्चायतदेखि आजका मिति सम्मको थोरै सत्ताको इतिहाँसलाई नियाल्दा पनि ब्यवस्थाको नाम परिवर्तन बाहेक अरु केही परिर्वतन भएको देखिदैन । मेरो र मेरो भन्ने मानशिकता बोकेकाहरुकै हातमा घुमाईफिराई शासनको फन्को घुमेको छ । देशका लागि मेरो राजनीतिक समर्पण भन्ने त कुनै सरकारमा जानेहरुको सामान्य चिन्तनमा पनि प्रकट भएको देखिदैन । जसरी हुन्छ सत्ता र शक्तिको आडमा अकुत सम्पत्ति कुम्ल्याउनु पर्छ भन्ने प्रवृतिहरुकै हालीमुहालीको वरिपरि ब्यवस्थाको साँचो फन्को मारिरहेको छ । यसको एउटै कारण हो हाम्रो शासन प्रणालीको नाममा परिवर्तन त भयो ।तर, प्राणी र प्रवृृति भने उहीनै रहे र उनीहरुनै रहेकाछन् । चर्का कुरा, शब्दजालको प्रयोग र आसेपासेको समूह तयार गरेपछि नेता हुने गलत परम्पराको थालनी गरियो , राजनीतिमा ईमान र जमान होइन पैसालाई शीरमा राखियो , अशल कार्यकर्ता र सहयोगी होइन भक्त मण्डलीको गठन गरियो र तलदेखि माथि सम्म कमाउ अभियान चलाईयो अनि कसरी आम जनतालाई महशुष हुन्छ त फेरि यो लोकतान्त्रिक शासनको ? ब्यवस्थाको नामले नागरिकको जिवनमा परिर्वतन आउने होइन कि ब्यवस्थाको संचालन गर्नेहरुको कर्ममा त्यसको परिणाम आउने गर्छ । हिजोदेखि आज सम्मका सत्तामा जानेहरुको सोच र चिन्तनमा जब सम्म देश र जनताप्रति मेरो राजनीति यात्रा हो भन्ने सामान्य अक्कल आउँदैन तब सम्म प्रणालीको नाम स्वर्ग राखे पनि केही फरक पर्दैन तर यहाँ भएको यस्तै छ ! कुरा सबै देश र जनताका नाममा हुने गर्छन् , गफ सबै देश र नागरिकको जिवन बनाउनेमा हुन्छ तर काम सबै आफ्नो ढुकुटी कसरी भर्ने भन्नेमै हुन्छ । कसै माथि कुनै अन्याय नगरि भन्ने हो भने करिब तीन महिनादेखि सरकारमा रहेको पार्टी भित्रको नेताहरुको भागबण्डामा देश आन्तरिक हिसाबको लकडाउनमा छ । केही नेताहरुको निजि स्वार्थका लागि सबै भन्दा ठूलो मुद्दा सरकारमा रहेकै पार्टी भित्र रहेको छ । यो कुनै नितान्त पार्टीको होला तर यसको असर समग्र देश र जनतामा परेको हेक्का नेताहरुलाई छ कि छैन ? सरकारमा रहेको पार्टी भित्रको कलहले प्रत्यक्ष — अप्रत्यक्ष रुपमा यसको असर आम नागरिकको जिवनसँग जोडिएको हुन्छ कि हुदैन ? के यो कुरामा त्यो पार्टीको सरकार र नेताहरुले ख्याल गरेकाछन् ? फेरि पनि यसको निष्कर्ष भनेको यही हो कि देशमा ब्यवस्था परिवर्तनका लागि धेरै पटक आन्दोलन र विद्रोह भए यो सबै आम नेपालीको सहभागितामा भयो तर प्रणालीको नाम समय समयमा परिवर्तन भए तर पात्र र प्रवृति त्यहीनै रह्यो ।

प्रतिकृया दिनुहोस्