‘समाचार र विचारको
साझा चौतारी’




आलुको सुईरे कीरा : कीराबारे किसान अनबिज्ञ छन्


आलुबालीलाई क्षति पुर्याउने विभिन्न कीराहरु मध्ये सुईरे कीरा (Wireworm) पनि एक हो।यस कीराको लार्भा सुईरो जस्तो लामो हुने भएकाले यसलाई सुईरे कीरा भनिएको हो र यसको वयस्क अवस्थालाई खपटे कीरा (Click beetle) भनिन्छ।यो कीरा बिश्वो भरीनै फैलीएको छ भने नेपालको मध्यपहाड देखि उच्चपहाड सम्मको आलु बालीमा बढी क्षति पुर्याउदै आएको छ।

नेपालमा यस कीराको प्रयाप्त अध्यन अनुसन्धान नभएकाले यसको आनीबानी, जीवनचक्र र बिभिन्न बालीमा पुर्याउने क्षति बारे किसान अनविज्ञ छन् । अझै भन्नु पर्दा यस कीराको व्यबस्थपन त छाडौ धेरै किसानहरु पहिचान गर्न समेत सक्दैन।नेपालको प्रया: सबै ठाउँको आलुमा रातो कमिला, खुम्रे कीरा, लाही लगायतका कीराले धेरै हानी नोक्सानी पुर्याउने भएकाले पनि किसानहरुले यस कीरालाई बेवास्ता गरेको पाइन्छ तर पनि नेपालको आलु लगाइने मध्यपहाड देखि उच्चपहाड सम्मका ठाउँहरुमा यसको प्रकोप बढ्दै गएको अनुमान गर्न सकिन्छ ।

मैले रामेछाप जिल्लाका विभिन्न मध्य-पहाडी भेगहरुमा सर्बेक्षण गरेको थिय। जसले के देखाउछ भने रातो कमिला र खुम्रे कीरा आलु बालीको मुख्य कीरा भई धेरैनै हानी नोक्सानी पुर्यएपनी सुईरे कीराको क्षति पनि नकार्न नसकिने छ। किसानहरु सुईरे कीरा बारे अनविज्ञ थिय र यसले आलुको दानामा गर्ने क्षतिलाई रातो कमिला लगाएत अन्य किराको क्षतिको संज्ञा दिएका थिय।सर्बेक्षणको तथ्यांकले प्रत्येक एक वर्ग मीटरमा एउटा सुईरे कीरा छ भनेर देखाउछ ।त्यसैले, बेलैमा यस कीराबारे किसानले पूर्ण जानकारी लिएर व्यवस्थापन तिर लग्नु पर्ने देखिन्छ ।

जीवनचक्र र पहिचान :
सुईरे कीराको जीवनचक्र चार अवस्थामा(अण्डा, लार्भा, प्युपा र वयस्क) ३-६ बर्ष लगाई पुरा हुन्छ भने कीराको वयस्क बाहेक सबै अवस्था माटो मुनी हुन्छ ।
१.अण्डा
वयस्क सुईरे कीराले जाडो मौसम सकिए लगतै जमिनमुनी करिब ३-१५ से. मि. मा वा बिरुवाको जराको झुण्डमा एउटा मात्र अण्डा पार्दछ ।अण्डाहरु साना, सेता, लगभग पृथिबी आकारका र ०.३-०.५ मि.मि. आयतन भएका हुन्छन ।फूलहरु लार्भा बन्न २-४ हप्ता लाग्ने
गर्दछ ।

२.लार्भा

सुईरे कीराको अण्डाबाट लार्भा बन्ने कार्य गर्मी सुरु हुनु भन्दा पहिलानै जमिन चिसो हुदा माटोमुनी हुन्छ।लार्भाहरु सुईरो जस्ता लामा सिलिन्डर आकारका, शाह्र, चम्किला, शरीर विभिन्न खण्डमा विभाजित हुन्छन र अन्तिम खण्ड तिखो हुन्छ।यिनीहरुको छातीमा तिन जोडा खुट्टा हुन्छन। यिनीहरुको पहिलो तथा आन्तिम खण्ड गाढा रातो र बाँकी खण्डहरु गाढा पहेंलो रङ्गका हुन्छन ।लार्भाहरु २५ से.मि. लामा र २ मि.मि. मोटा हुन्छन । लार्भाहरु २-५ वर्षसम्म माटोमुनी करिब २०-५० से.मि. गहिराइमा ८-११ पटक रुपान्तर (Moulting) गरि बस्दछन र धेरै महिनासम्म केहि नखाई बाच्न सक्दछन । पहिलो अबस्थाको लार्भाले बालीमा त्यति धेरै हानी नोक्सानी भने पुर्यौदैन तर त्यसपछीका अवस्थाहरुले धेरैनै हानी नोक्सानी पुर्याउने गर्दछन। जमिनको तापक्रम र चिस्यानको अवस्था अनुसार लार्भाहरु जमिनमा तल माथी गर्ने गरेको पाइन्छ । लार्भा बाट प्युपा बन्न २-५ वर्ष लाग्दछ ।

३.प्युपा
सुईरे कीराको लार्भाबाट प्युपा बन्ने कार्य पनि जमिन मुनिनै हुन्छ ।प्युपाहरु सिलिन्डर आकारका, सेता रङ्गका र ९-१२ मि.मि. लामा हुन्छन।कीराको अचल अवस्था (Dormant stage) प्युपाबाट वयस्क बन्न करिब २-३ महिना लाग्ने गर्दछ ।

४.वयस्क
प्युपा बाट वयस्क बन्ने कार्य पनि जमिन मुनिनै हुन्छ र पछी वयस्क जमिन माथी आउछ । वयस्कहरु हल्का देखि गाढा खैरो र कालो रङ्गका हुन्छन। यिनीहरु ६-१० मि.मि. लामा र २ मि.मि. मोटा हुन्छन भने शरीर कन्भेक्स (Convex) आकारको हुन्छ। यो कीराको वयस्क अवस्था ४-५ महिना रहने गर्दछ।

क्षतिको प्रकार / लक्षण :
सुईरे किराको वयस्कले बालीमा क्षति पुर्यौउदैन र लार्भाले माटोमा बसी क्षति पुर्याउने गर्दछ।यो कीराको लार्भा आलुको स-साना दानालाग्न थालेपछि देखिन्छ र आलु नकोर्ने बेलासम्म दाना खाई क्षति पुर्याउछ।यस कीराले आलुको दानाका साथै बोटको जरा र जमिन नजिकको डाठ खाइदिने हुनाले बिरुवाहरु ओईलाउने, रोगउने भई पछी बोट समेत मर्न सक्दछ । लार्भाले दानामा ठाडो करिब ०.५ इन्च गहिरो गोलो सुरुङ्ग (Tunnel) बनाएर क्षति पुर्याउने गर्दछ।आलु कोर्ने बेलामा दानासंगै सुईरे कीरा पनि भेटिने गर्दछ।यस कीराले गर्दा आलुको दानामा देखिने क्षति आलुमा लाग्ने अरु कीराहरु जस्तै: रातो कमिला र खुम्रे
कीरा संग केहि हदसम्म मिल्ने भएकाले पनि किसानहरुलाई यसले गर्ने क्षति पहिचान गर्न गर्यो भएको हो।

यो कीराले आलुमा मात्र नभई मकैको जरा तथा जमिन नाजिकको ड़ाठ, जागर, जुनेलो, सूर्यमुखी फूलको जरा, उखुको जरा, लसुन र प्याजको गाना, चुकन्दरको जरा, शखरखण्ड अन्य तरकारी बालीहरुको जरा र नयाँ उम्रेको बीउमा पनि क्षती पुर्याउने गर्दछ ।

व्यवस्थापनका बिधि :
आलुमा लाग्ने अरु कीराहरु जस्तै सुईरे कीराले पनि बढीनै क्षति गर्ने भएकाले सबै सरोकारवालाहरु र कृषकहरु यसको व्यवस्थापनको निम्ति चनाखो हुनुपर्छ।यो कीराको व्यवस्थापनको निम्ति एउटामात्र उपाय प्रभावकारी हुन सक्दैन त्यसैले निम्न बमोजिमका एकिकृत शत्रुजीव व्यवस्थापनका उपायहरु अबलम्बन गर्नु पर्छ ।

१. बारीको सरसफाईनै कीरा नियन्त्रणको पहिलो सुत्र हो ।त्यसैले, एउटा बालीको उत्पादन लगिसकेपछी अर्को बाली लगाउदा बारीको राम्रोसंग सरसफाई गर्नुपर्दछ। माथी उलेखित सुईरे कीराले आक्रमण गर्ने बाली लगाएको र झार उम्रेको जमिनमा आलु लगाउनु हुदैन ।

२. गर्मी मौसममा जमीनलाई खनी छोडेमा सुईरे किराको संख्या घट्ने गर्दछ ।कीराले ओसिलो जमिनमा बस्न मन पराउने हुदा यसो गरेमा कीराहरु जमिनको धेरै तल गई पछी बालीमा कम असर गर्ने गर्दछन।जमिनमा देखिएका कीराहरूलाई चराले खईदिने हुदाँ पनि संख्या घट्ने गर्दछ।

३. सुईरे कीराले मनपराउने अरु बालीहरुलाई आक्रसण बालीको रुपमा बारीको छेउ-छेउमा लगाएर आलुमा यसको क्षति कम गर्न सकिन्छ।

४. फेरोमनको पासो बनाएर वयस्क खपटे कीरालाई आकर्षण गरी नियन्त्रण गर्न सकिन्छ। यसो गर्नाले बारीमा कीराको संख्या घट्न गई क्षति पनि कम हुने गर्दछ।एउटा वयस्क खपटे कीरा मार्नु भनेको यसले आफ्नो जीवनकाल भरी उत्पादन गर्ने बच्चाको नियन्त्रण गर्नु भएकाले यो बिधि एकदमै उपयुक्त मानिन्छ ।

५. कुनै पनि रासायनिक बिषादीले यस कीराको प्रभावकारी नियन्त्रण गर्दैन। बेलायतमा गरिएको अनुसन्धान अनुसार अर्गानोफोस्फेट (Organophoshate) र कार्बामेट (Carbamate) नामक बिषादीले केहि हद सम्म क्षति घटे पनि कीराको पूर्ण नियन्त्रण भने हुन सकेको थियन ।

६. सुईरे कीराको व्यवस्थापनको लागि ढुसीजन्य जैविक पदार्थहरु मेटाराइजीयम (Metarhizium) र बुभेरीय (Beauveria) एकदमै प्रभाबकारी हुन्छन । १ के.जी. गोबर मलमा मेटाराइजीयम वा बुभेरीय मिसाई ८-१० दिन छायाँमा राखेर जमिन तयार गर्दा प्रयोग गर्नु राम्रो हुन्छ ।

६. बनस्पतिहरु जस्तै: निम, बकाइनो, असुरो, पाथी, बोजो आदिलाई ५ मि.लि.को झोल बनाएर १ लि. गाईको पिसाबमा मिसाई बालीमा सुईरे कीरा देखिन थालेपछि प्रयोग गर्यो भने यसको नियन्त्रण गर्न सकिन्छ ।

अहिले सामान्य कीराको रुपमा रहेपनि बढ्दो जलबायु परिबर्तन संगै आफुमा प्रतिरोधात्मक (Resistance) क्षमता विकास गरि बालीको मुख्य कीराको रुपमा परिबर्तन नहोला भन्न सकिन्न ।त्यसैले, यस कीराको धेरै भन्दा धेरै अध्यन अनुसन्धान गरि यथोचित व्यबस्थापनको लागि सम्बन्धित निकाएले पहल गर्नु आबषेक देखिन्छ।

लेखक : सन्तोष खड्का B.Sc. Ag. 8th semester कृषि तथा वन बिज्ञान बिश्वोबिद्यालय रामपुर चितवनमा अध्ययनरत छन् ।krishipatrika/from

प्रतिकृया दिनुहोस्