‘समाचार र विचारको
साझा चौतारी’




योद्धाको अपमान


राम आचार्य (पुष्पप्रेमी)

गद्य कविता

उज्यालो खोज्न
अँध्यारोमा यात्रा गर्नेहरु
मृत्युलाई उत्सव ठान्ने
क्रान्तिका ती साधकहरु
समर्पणका लागि रगत बगाउन
तत्पर रहने सहासहरु,
आशाको आकाशमा उदाएको
लाली किरणहरु
प्रकाश छर्नै नपाई
गोधुलीको घुम्टो ओडेर
क्षितिज मुनि बिलाउँदै छन् ।
भरोसाका भर्भराउँदा सपनाहरु
अझ अँन्धकारले पोतिएको
निस्लोट अँध्यारोमा
दिशाहीन यात्रामा चिसा बन्दैछन ।

ती ठूला ठूला
प्रगतिशील सपनाहरु
लामा लामा जीवन मुक्ति र
कोरा सिद्धान्तका कागजी दस्तावेजहरु
त्यहि काठको पुरानो दराजको कुनामा
माकुराको जालो भित्र निसासिदै
मुसाको आश्रमस्थल बन्दैछन ।
योजनाकारहरु अर्थबिहीन
सिद्धान्तको ललिपप बाँड्दै
आफ्नै स्वार्थ र शक्तिको होडमा
गुट र उपगुडको भुत्ते अस्त्र अर्जाप्दै
कोरा राष्ट्रियता नारामा
बिना ज्यालका ज्यामी बनेर
आशाको भाँटी चलाइरहेछन ।

निरंकुशताको पर्खाल ढालेर
सुशासनको नौलो बिहानी ल्याउने
पाखुरीमा रक्तिम जोस लिएर
क्रान्तिको भसङ्ग्रोमा
नाच्ने ताम्सने कर्मबिर योद्धाहरु
आज नेतृत्वको यश आराम र
मोज मस्तिको स्वार्थपूर्ण वेगसँगै
उनीहरुको नाडीमा बगेको
परिवर्तनको तातो रगत
अनायसै कर्णालीको पानी झैं
चिसो र धमिलो बनेर बग्दैछ ।

समान्ताको हक र सुशासनका
कानुनको भिष्मपितामहस् हरु
अनि संविधानका वेदब्यासहरु नै
न्यायको मलामी बनेर
ती योद्धाहरुको बलिदानीलाई
आर्यघाटमा दाहासंस्कार गर्न
उद्दत देखिन्छन् ।
न्यायको दाहासंस्कार पछि
ती परिवर्तनका बलिदानीहरु
असफल राष्ट्रको भेलमा
अस्तु सेलाउन तयार छन ।
अब ती युवा जोसहरुले
उद्देश्यीयहीन सिद्धान्तको क्रान्ति भन्दा
देशको माटोको लागि
बाँकी रहेको
निथार पिथार रगत
पोख्न उठ्ने पो हो की ।

ईति.,आचार्यको फेसबुकबाट

प्रतिकृया दिनुहोस्