‘समाचार र विचारको
साझा चौतारी’




कौसी खेती : समयको सदुपयोग


नेपाल एक कृषि प्रधान देश हो । यहाँको माटो मलिलो छ । यो देश र यस देशमा बसोवास गर्ने प्राय ः सबै मेहनती र परिश्रमी दाजुभाई दिदीबहिनीहरु हुनुहुन्छ । भौगोलिक विविधताले युक्त मुलुक भएर होला, यहाँका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका भूभागमा ठाँउ अनुसारका विभिन्न खाद्यान्न बाली, नगदेबाली र अन्य सागसब्जी लगायत सबै किसिमका बालीहरु उत्पादन हुन्छ । उब्जाउशील भूमिको दिन–प्रतिदिन कित्ताकाट र भौतिक संरचना निर्माणले ती उब्जाउशील र उर्वर भूमि नासिदै गइरहेको छ । मेहनती किसान दाजुभाई , दिदीबहिनीहरुले आफूले बनाएका घर, कलकारखाना र उद्योगको कौसीमा खेतीको प्रचलन बढ्दै गइरहेको छ ।

कोरोनाको कारण विश्वव्यापी महामारीमा देशमा भएको लकडाउनको कारण स्कुल कलेज उद्योग कल कारखानाहरु बन्द भएपछी धेरै मानिसमा आफ्नै घर आगन बगैचामा रमाउने बानी बसि सकेको छ । शहरी क्षेत्रमा मासिसहरु कौसीमा फुलहरु सँग रमाउदै छन् । लामो समयको बन्दा बन्दीले मानिसको दैनिक जिवन नै बदलिएको परिस्थितीमा अधिकांश शहरी क्षेत्रमा मानिसहरु कौसी खेती तर्फ आर्कषण र उत्साहित हुदै लगेको छ । धेरै जसो मानिसले फुर्सदको समयको सदुपयोग गरी सौखका रुपमा गर्दै आएको कौशी खेती हाल अभियानको रुपमा अघि बढीरहेको छ

कौसी खेती भनेको के हो ?
सामान्यतया घरको छलमा गमलाहरुमा तरकारी रोपेर गरिने खेती नै कौसी तरकारी खेती हो । परम्परागत रुपमा सिमेन्टका गमलाहरुमा माटो भरेर घरको छत, बरण्डामा साग, गोलभेडा, खुसार्नी आदि आफ्नै सौखको लागी खेती गर्ने गरिन्थ्यो । यसरी धेरै सिमेन्टका गमलाहरुले घरको छतको भार बढ्ने र कुनै पनि बेला घरका क्षती नोक्सानी हुन सक्ने हुँदा नयाँ अनुसन्धान गरेर नयाँ तरिकाले आधुनिक कौसी खेती गर्ने नयाँ प्रविधिको विकास हुदै गएको छ । बढ्दो शहरीकरणले गर्दा खेती योग्य जमिनको अभाव भै शहरबासीहरु कौसी खेती प्रति आर्कषित भएको पनि देखिन्छ । हाल नेपालमा पनि विस्तारै माटो विना खेती गर्ने हाईड्रोपोनिक प्रविधिबाट कौसी खेतीको विकास भएमा छतमा हुने भार कम गर्न सकिन्छ ।

कसरी गर्ने कौसी खेती ?
कौसी खेतीको लागी सर्ब प्रथम हामीले खेती गर्ने भाँडाहरुको व्यवस्था गर्नु पर्छ । यस्ता भाडाहरु सकेसम्म कम भार हुनु जरुरी छ । जसले गर्दा कौसीमा सरसफाई गर्न पनि सजिलो होस् र व्यवस्थित गर्न सजिलो होस् । कौसी खेती गर्नको लागी माछा राख्न प्रयोग हुने थर्मोकोलाका खाली बक्सहरु, ग्रो व्यागहरु, पानीका जारहरु, प्लाष्टिकका गमलाहरु उपयुक्त हुन्छ । यस्ता भाडाहरुमा कोकोपिट र भर्मिङ कम्पोष्ट मिसाएर भर्नु पर्दछ, यसले बालीलाई चाहिने पोषक तत्व पनि प्रशस्त मात्रामा पाउँछ र उत्पादन पनि राम्रो हुन्छ ।

कौसी खेतीको लागी उपयुक्त तरकारीहरु :

कौसी खेतीमा कुन कुन तरकारी रोप्न सकिन्छ भन्ने बारे कुनै पनि निश्चित मापदण्ड केही पनि छैन । कौसीको आकार, उपलब्धता, प्रकास, खुल्ला र उचाइको आधारमा विभिन्न खेती गर्न सकिन्छ । कौसी खेती विभिन्न अग्रज व्यक्तित्वका अनुसार र विशेष गरी लामो समय देखी कौसी खेतीमा अनुभव गरिरहनु भएका विज्ञ व्यक्तिहरुको भनाईलाइ आधार मान्दा निम्न ४ किसिमबाट कौशी खेती गर्न सकिन्छ ।
१. विभिन्न सागहरु, धनियाँ, मुला, आलु, लसुन, प्याज जस्लाई ठूलो अग्लो भन्दा चौडा धेरै भएका साना साना बट्टाहरु, प्लासिटकका बाटाहरुमा र सानो सानो गमलाहरुलाई एउटा हलुको फलामे स्टन्डमा राखी तह तहमा विरुवा रोप्न सकिन्छ ।
२. गोलभेडा, खुर्सानी, भेडेखुर्सानी, भण्टा, भिण्डी जस्ता सानो सानो बुट्यानमा फल्ने तरकारीहरु जस्लाई थर्माकोल, प्लाष्टिकका बाल्टिन, पेन्टहरु, पानीका जारहरु ठुला प्लाष्टिकका गमलाहरुमा रोप्न सकिन्छ ।
३. काँक्रा, फर्सि, लौका, घिरौला, करेला, सिमी र बोडी जस्ता लहरे बालीहरुलाई अलि ठूला भाँडाहरुमा रोप्नु पर्छ । यी विरुवाहरुलाई सानो सानो थाक्रो र डोरी लगाएर फैलन दिनु पर्छ । यी तरकारीहरु खेती गर्न कौसीमा प्रशस्त उचाइ हुनु राम्रो हुन्छ ।
४. अम्बा, कागती, मुन्तला, अम्रपाली आँप र सानो सानो रुख हुने फल फुलहरुलाई प्लाष्टिकका ड्रमहरु, ठूला ठूला साइजका गमलाहरुमा रोप्न सकिन्छ । यस्ता विरुवा कौसिको कर्नरमा रोप्दा राम्रो हुन्छ ।

कौसी खेती संरक्षण गर्ने तरिका :
कौसी खती गर्नको लागी स्थान, भाडाहरु, मल जुटाएर खेती गर्न जति सजिलो छ त्यतिकै त्यसको संरक्षण गर्न गाह्रो छ । कुनै पनि खेतीमा विरुवाले आफूलाई चाहिने तत्व जराबाट लिने गर्छ र विरुवाहरु हेरेर त्यसका जरा टाढा टादा सम्म फैलिएका हुन्छन् तर कौसी

खेतीमा विरुवाहरुको जरा निश्चित भागमा खुम्चिनु पर्ने हुन्छ र तिनीहरुलाई बढ्न फैलन आवश्यक पोषिलो तत्व हामीले पु¥याउनु पर्ने हुन्छ । लहराहुने विरुवाहरुलाई बढ्न सानो थाक्रोको व्यवस्था समेत गर्नु पर्ने हुन्छ । यसमा विशेष ध्यान पु¥याउनु पर्ने हुन्छ । लहरा हुने विरुवालाई बढन सानो सानो थाक्रोको व्यवस्था समेत गर्नु पर्ने हुन्छ । यसमा विशेष ध्यान पु¥याउनु नै कौसी खेतीको सबैभन्दा महत्वपूर्ण पाटो हो । त्यसै गरी रोग र किरा लागेमा घरेलु विषादी बनाएर पनि प्रयोग गर्नु पर्ने हुन्छ । तर कौसी तरकारी खेतीमा रासायनिक हानिकारक विषादी कहिले पनि प्रयोग गर्नु हुदैन । यसले घरपरिवार तथा वालवालिकालाई निकै हानि गर्ने सम्भावना बढी हुन्छ ।

हाम्रो घरमा फालिने तरकारी तथा भान्साबाट निस्किने फोहोर बाट कम्पोष्ट विनको प्रयोग गरी कम्पोष्ट मल बनाएर प्रयोग गर्न सकिन्छ । औषधीको लागी निमको पातको रस, प्याजको रस, करेलाको रस लाई साबुन पानीको झोल मल समेत कासी खेतीको लागी उपयुक्त मानिन्छ । कौसी खेती प्रर्वद्धनका लागी अहिले कतिपय संघ संस्था र स्थानीय सरकारले अनुदान दिदै आएको छ भने खेती प्रविधी वारे आवश्यक तालिम समेत दिदै आएको छ ।

कीर्तिपुर नगरपालिका सँगको सहकार्यमा वल्र्ड भिजन इन्टरनेशनलको आर्थिक र प्राविधिक सहयोगमा असल छिमेकी नेपालको कार्यान्वयनमा नगरपालिका भित्रका शहरी क्षेत्रका घरघनीहरुलाई कौसी खेती प्रर्वद्धन सम्वन्धी तालिम सञ्चालन गरेको थियो र तालिममा उपस्थित सहभागीहरुलाई अनुदानमा कम्पोष्ट विन समेत उपलब्ध गराएको थियो । जसले शहरी क्षेत्रका वासिन्दालाई कौसी तरकारी खेती गर्न उत्प्रेरित गर्नुका साथै शहरको सौन्दर्य बढाउन समेत मद्दत गर्नेछ । घरबाट निस्कने फोहोर व्यवस्थापनमा समेत सघाउन पुगेको छ ।

“कौसी तरकारी खेतीबाट स्थानीय वासिन्दा आर्कषित भएको र हाल कौसी तरकारी खेती प्रविधि निकै लोकप्रिय भएको जसले गर्दा शहरका अधिकांश घरबाट कुहिने फोहोरबाट कम्पोष्ट मल बनाएर तरकारी खेतीमा सदुपयोग गरेकोेले फोहोर व्यवस्थापनमा समेत सहजता देखिएको छ,” असल छिमेकी नेपालमा कार्यरत फिल्ड अफिसर मधुनानी मर्हजनले बताउनु भयो ।

कौसी खेतीबाट घरमा वर्षभरीनै ताजा तरकारी सेवन गर्न पाइने साथै वालवालिका र परिवारका अन्य सदस्यहरुको लागी पनि ताजा विषादी रहित तरकारीको नियमित सेवनबाट रोगप्रतिरोधात्मक क्षमतामा वृद्धि हुन्छ ।

लेखक : टंकप्रसाद ढुंगाना
वरिष्ठ कृषि प्राविधिक
असल छिमेकी नेपाल, काठमाण्डौ, krishipatrika/from

प्रतिकृया दिनुहोस्