स्वास्थ्य

लकडाउन खुलेसँगै संक्रमणको दर बढ्यो

काठमाडौं । लकडाउन खुलेसँगै कोभिड–१९ सङ्क्रमणको दर बढेको पाइएको छ । लकडाउन खोल्नुअघिको आठ दिन र लकडाउन खुलेपछिको आठ दिनपछि परीक्षण र संक्रमितको सङ्ख्या हेर्दा कोरोनाको संक्रमण दर बढेको पाइएको हो ।

लकडाउन खुल्नअघिको आठ दिनको अवधिमा कूल ३४ हजार ४ सय ५७ नमूना परीक्षण गर्दा एक हजार ४९ जनामा सङ्क्रमण पुष्टि भएको थियो । यस्तै लकडाउन खुलेको पछिल्ला आठ दिनमा ३४ हजार १ सय ९ नमूना परीक्षण गर्दा एक हजार २ सय ७९ जनामा कोरोना पुष्टि भएको छ । लकडाउन खुल्नुअघिको आठ दिन तीन प्रतिशतमा सीमित रहेको कोरोना सङ्क्रमण पछिल्ला आठ दिनको अवधिमा बढेर ३.७ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बन्दाबन्दी खुलेसँगै सबै नवसामान्यीकरणमा आएको उल्लेख गर्दै मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले कोभिड अगाडिको जस्तै सामान्य जीवनमा फर्किएका रुपमा नबुझ्न आग्रह गरे । कोरोना भाइरसको जोखिमकैबीचमा काम गर्नुपर्ने बाध्यता रहेको भन्दै उनले उचित जनस्वास्थ्य सावधानी अपनाउन अनुरोध गरे । पछिल्लो केही दिनदेखि लगातार कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । पछिल्लो २४ घण्टामा विभिन्न २९ वटा प्रयोगशालामा छ हजार ३७ नमूना परीक्षणमा २ सय १० जनामा कोभिड–१९ पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिए ।

आज सबैभन्दा बढी डोटीमा ५२ सङ्क्रमित फेला परेका छन् । त्यस्तै पर्सामा ३४, स्याङ्जामा २६, महोत्तरी र काठमाडौंमा १४र१४, धनुषामा १२, मोरङ, कैलाली र कञ्चनपुरमा आठरआठ, धादिङ र बागलुङमा सातरसात, म्याग्दी, सप्तरी कपिलवस्तु र बैतडीमा दुईरदुई तथा सुनसरी, सर्लाही, भक्तपुर, रौतहट, तनहुँ र सुर्खेतमा एकरएक सङ्क्रमित थपिएका छन् ।

मुलुकभर अहिले पनि सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार २ सय ३ रहेको छ । प्रदेश नम्बर १ मा २ सय २६, प्रदेश नम्बर २ मा एक हजार ९ सय ८२, बागमती प्रदेशमा ४ सय ८३, गण्डकी प्रदेशमा २ सय ८८, प्रदेश नम्ब्र ५ मा ४ सय १, कर्णाली प्रदेशमा ३ सय २ र सुदूरपश्चिम प्रदेशमा एक हजार ५ सय २१ सक्रिय सङ्क्रमित छन् । रौतहट र कैलालीमा अझै पनि ५ सय बढी सक्रिय सङ्क्रमित उपचाररत छन् । क्वारेन्टिनमा रहनेको सङ्ख्या १४ हजार ४ सय ७१ छ ।

नेपालमा हालसम्म कूल सङ्क्रमितको ७२.७ प्रतिशत कोरोना सङ्क्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १ सय ४६ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले जानकारी दिए । हालसम्म १४ हजार २१ जना कोरोनालाई जितेर घर फर्केका छन् ।

प्रदेश नम्बर १ मा ७ सय ८९, प्रदेश नम्बर २ मा तीन हजार १८, बागमती प्रदेशमा ५ सय १८, गण्डकी प्रदेशमा एक हजार २ सय २७, प्रदेश ५ मा तीन हजार ९ सय १०, कर्णाली प्रदेशमा एक हजार ६ सय ८६ र सुदूरपश्चिम प्रदेशमा दुई हजार ८ सय ७३ जना कोरोनामुक्त भई डिस्चार्ज भइसकेका छन् । प्रदेश नम्बर १ को भोजपुर र सङ्खुवासभा, बागमती प्रदेशको रसुवा तथा गण्डकी प्रदेशको मनाङ र मुस्ताङमा कोरोनाका सक्रिय सङ्क्रमित छैनन् ।

नेपालमा प्रति १० लाखमा १२ हजार २ सय ८४ जनाको कोरोना परीक्षण गरिएको छ भने मृत्युदर प्रति १० लाखमा १.६ रहेको छ । हालसम्म विश्वभर एक करोड ६९ लाख १७ हजार ७ सय १४ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । यस्तै कोरोनाबाट छ लाख ६३ हजार ९ सय ४२ जनाको मृत्यु भएको छ भने कोरोना सङ्क्रमणमुक्त भएर एक करोड चार लाख ४२ हजार ३ सय ८३ ‘डिस्चार्ज’ भएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button