‘समाचार र विचारको
साझा चौतारी’




फुट वा पुनर्गठन हैन, नयाँ निर्माण


१५ श्रावण २०७७

चिरञ्जीवी मास्के
तत्कालीन एमाले र एकीकृत माओवादी मिलेर नेपाल कम्युनिस्ट पार्टी नेकपा बनेर सदस्यता नवीकरण, जिल्ला अधिवेशन तथा केन्द्रीय महाधिवेशनसमेत हुन नपाउँदै पुनः फुटको चर्चा शुरु हुनु दुःखद विषय हो । कम्युनिस्ट पार्टीले नेतृत्व गरेको झन्डै दुई तिहाइको सरकारले राष्ट्रियता, जनजीविका र सामाजिक एवं सांस्कृतिक शुद्धीकरणको लागि प्रारम्भिक योजनासहितको एक्सन शुरु गर्र्नै लाग्दा भएको फुटको चर्चा र प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको प्रसंगले अनेकौं आशंका उब्जाएको छ ।
नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले केही समयअघि निर्वाचन आयोगमा दर्ता भएको एमाले पार्टीलाई नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको एमाले पुनर्गठन अभियानको रुपमा व्याख्या गरिदिएपछि फुटको चर्चाले लय समातेको छ । अध्यक्ष दाहालको यो आरोपले विगत केही समयदेखि नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने सुगा रटाइ गरिरहेको समूहलाई बल पु¥याउने काम भएको छ ।
पछिल्लो चर्चामा दुईवटा प्रसंगको जवाफ भने कसैले पनि स्पष्टरुपमा दिन सकेको देखिँदैन । पहिलो, पार्टी अध्यक्ष र प्रधानमन्त्री केपी शर्मा ओलीको दुवै पदबाट राजीनामा किन र केका लागि ? दोस्रो, एमाले पुनर्गठनको आधार र सम्भावना के र कसरी ?

पहिलो प्रसंग ः
नेकपाभित्रको एउटा समूहले अहिले जे तर्क र आधारमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागिरहेको छ, त्यसको कुनै तुक र तथ्य देखिँदैन । पार्टीको सन्दर्भमा कुरा गर्नुपर्दा केपी शर्मा ओली तिनै नेता हुन्, जसले नेकपा एमालेलाई मुलुकको पहिलो पार्टी मात्र बनाएनन् कम्युनिस्ट एकताको मियो बनाए । र, तत्कालीन एकीकृत माओवादीलाई मिलाएर नेपाल कम्युनिस्ट पार्टी नेकपा बनाउन महत्वपूर्ण भूमिका खेले ।
अनि सरकारको सन्दर्भमा कुरा गर्दा प्रधानमन्त्री केपी शर्मा ओली मात्र एउटा त्यस्ता प्रधानमन्त्री हुन् जसले आफ्नो मिचिएको भूमि फिर्ता गर्न शक्तिशाली हेपाहा छिमेकी भारतलाई चुनौती दिँदै आफ्नो सम्पूर्ण भूमि समेटेर नक्सा जारी गरे । यो अभियानमा नेकपाका सबै नेता तथा कार्यकर्ताको साथ छ र प्रमुख विपक्ष नेपाली कांग्रेसलगायत सबै दलहरुको समेत साथ र समर्थन छ । तर यो दुस्साहसको नेतृत्व गर्ने आँट केपी शर्मा ओलीले गरेको कुरामा कसैको विमति रहनुपर्ने आवश्यकता हुन्छ भन्ने लाग्दैन । हैन भने केपी शर्मा ओलीभन्दा अघि पनि मुलुकमा धेरै प्रधानमन्त्री भए, उनीहरु सबैलाई आफ्नो भूमि मिचिएको बारेमा जानकारी पनि थियो तर उनीहरुले त्यसबारे बोल्ने आँट नै गर्न सकेनन् ।
चीनसँगको पारवहन सन्धिको कुरा, भारत र चीनसँग रेलमार्ग जोड्ने कुरा, नेपालको झन्डासहितको पानीजहाज कुदाउने कुरा, सडक विस्तार, जलविद्युत्को विस्तार आदि केपी शर्मा ओली नेतृत्वले गरेका कामको विवरण हुन् । भारतले नाकाबन्दी गर्दा प्रतिवाद गर्ने तथा कोरोना संक्रमणको यो विषम परिस्थितिमा अविचलित ढङ्गले राष्ट्रियता, विकास र समृद्धिको स्पष्ट खाकासहित अगाडि बढेको सरकारको नेतृत्वकर्ता केपी शर्मा ओलीको राजीनामा माग्नुपर्ने कारण उल्लिखित कामहरु नै हुन् त ? कि अघिल्ला प्रधानमन्त्रीहरुले जस्तै परम्परागत कामको निरन्तरतामै आफ्नो अवधि व्यतीत गर्नुपर्ने पो थियो कि !
होला, काम गर्ने क्रममा केही कमजोरी भए हुन् । यो भनेको भैँसी किन्दा जुम्रा सित्तै आएजस्तै हो । कमजोरीलाई सुधारको लागि सुझाव दिने पो हो त ! आफूले भन्दा राम्रो काम ग¥यो भनेर गलहत्याउने प्रयास गर्नु पार्टी, देश र स्वयं आफैंलाई नोक्सानी हुने काम गर्नु मात्र हो ।
दोस्रो प्रसंग ः
नेकपाको बैठक चल्दै गरेको अवस्थामा नेकपा एमाले नामको दल निर्वाचन आयोगमा दर्ता भएको र त्यो केपी शर्मा ओलीकै पहलमा भएकोले नेकपा विभाजनको सम्भावना रहेको पुष्पकमल दाहालको विश्लेषण छ । यो विश्लेषण सत्यमा आधारित छ भन्ने कुनै आधार नै भेटिँदैन । त्यसमा पनि पछिल्ला दिनहरुमा नेकपा अध्यक्ष पुष्पकमल दाहालको गतिविधि नै आधारहीन बन्दै गएका छन् । कहिले माधव ठीक ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनै पर्छ भन्ने, कहिले हैन हाम्रो सहकार्य त ओलीसँगै हुनुपर्छ पार्टीको अर्ली महाधिवेशन ठीक छ भन्ने अनि फेरि ओलीले दुवै नभए पनि दुईमध्ये एक पद त छोड्नै पर्छ भन्ने । यो कस्तो द्वैधचरित्र हो ? उहाँको कुन दिनको बोलीलाई आधार मान्ने ? कुनचाहिँ बोली ठीक भनेर कुन आधारमा भन्ने ?
तत्कालीन नेकपा एमाले र एकीकृत माओवादी मिलेर नेकपा बनेपछि धेरै कुरामा परिवर्तन भैसकेको छ । परिस्थिति फेरिएका छन्, परिवेश फेरिएका छन्, पहलकदमी फेरिएका छन् । यस्तो अवस्थामा कुनै नेताले एमाले पुनर्गठन गर्छु या एकीकृत माओवादी पुनर्गठन गर्छु भन्ने कल्पना गर्छन् भने त्यो दिवास्वप्न मात्र हुनेछ । अहिलेको समीकरणमा केपी ओली, जनार्दन शर्मा, लेखराज भट्टहरु एकातिर देखिन्छन् । पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनालहरु अर्कोतिर देखिन्छन् । बामदेव गौतम, रामबहादुर थापा, योगेश भट्टराईहरु मध्यमार्गी बनेका छन् ।
अब यस्तो अवस्थामा पार्टी विभाजन भएर एमाले पुनर्गठन या एकीकृत माओवादी पुनर्गठन कसरी हुन सक्छ ? के माधव नेपाल, झलनाथ खनालहरुलाई एकीकृत माओवादी स्वीकार्य होला ? या जनार्दन शर्मा, लेखराज भट्टहरुलाई एमाले स्वीकार्य होला ? यस्तो उडन्ते कुराले पार्टी एकता कार्यान्वयनमा भने पक्कै अवरोध गर्नेछ र अविश्वासको खाडल झन्–झन् भयावह बन्दै जानेछ ।
पार्टी एकताले मूर्तरुप लिएर सदस्य नवीकरण तथा सबै कमिटीहरु पुनर्गठन गरी अर्ली या नियमित प्रक्रियामै महाधिवेशन सम्पन्न नभएसम्म दुई पाइलटले उडाएको नेकपा नामको जहाजलाई भड्खालोमा हाल्ने गरी एउटा पाइलट हटाउने कुरा सर्वथा अस्वीकार्य मात्र हैन नाजायज र स्वार्थप्रेरित देखिन्छ । अनि पाँच वर्षको लागि जनता र संसदीय दलबाट निर्वाचित प्रधानमन्त्रीलाई दुई वर्षमै राजीनामा गर्न दबाब दिने कुरा विगतमा जस्तै अस्थिर सरकार निर्माण गरी राष्ट्रको ढुकुटी सखाप गर्दै सुरा, सुन्दरी काण्डलाई पुनरावृत्ति गर्ने अभिलासाले ओतप्रोत प्रस्तावभन्दा पृथक् मान्नै सकिँदैन ।
कम्युनिस्ट कार्यकर्ताको अपेक्षा भनेको पुराना पार्टीहरुको पुनर्गठन वा कोही चोइटिने र कोही संस्थापक बन्ने भन्ने हैन, एकीकरण अभियानमा छुटेका अन्य कम्युनिस्ट पार्टीहरुलाई समेत एकताबद्ध गरेर फुर्काविहीन नेपाल कम्युनिस्ट पार्टी निर्माण गर्ने हो । त्यसैले नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेताहरुले पार्टी अध्यक्ष फेर्ने, प्रधानमन्त्री फेर्नेजस्ता बेतुकका वाणी बर्साउने हैन, फुर्काविहीन नेकपा निर्माणको लागि सबै कम्युनिस्ट नेता–कार्यकर्ताहरुलाई आह्वान गर्ने हो ।
अन्त्यमा, दुई पार्टी मिलेर नेपाल कम्युनिस्ट पार्टी नेकपा बनेपछि जनताको बहुदलीय जनवाद र माओवादको विषयमा समेत विमर्श भैरहेका छन् । कम्युनिस्ट सिद्धान्तको पृष्ठभूमि माक्र्सवादबाट तयार भएको हो । माक्र्सवादलाई विचार मात्र हैन विज्ञान पनि हो भनेर व्याख्या गरिएको छ । विज्ञान परिवर्तनशील हुन्छ भन्ने कुरा तथ्यपरक छँदै छ ।
स्वर्गीय जननेता मदन भण्डारीले अघि सार्नुभएको जनताको बहुदलीय जनवाद पनि माक्र्सवादको पृष्ठभूमिमा विज्ञानको सत्यलाई आत्मसात् गरेर प्रतिवादन भएको सिद्धान्त हो । त्यसैले जनताको बहुदलीय जनवादमा फुलस्टप र कमा पनि परिवर्तन हुँदैन भनेर कसैले भनेका छैनन् । तत्कालीन नेकपा एमाले र एकीकृत माओवादीबीच भएको एकता पनि माक्र्सवादको विज्ञान नीतिअन्तर्गत नै भएको हो ।
तर अहिलेसम्मको सत्य के पनि हो भने, नेपालमा कम्युनिस्ट पार्टीलाई संसदीय राजनीतिमा सबैभन्दा ठूलो र शक्तिशाली पार्टी बनाउने, पहिलो कम्युनिस्ट सरकार बनाउने, दुई शक्तिशाली कम्युनिस्ट पार्टीलाई एकीकरण गरेर नेपाल कम्युनिस्ट पार्टी नेकपा बनाउने आधार सिद्धान्त भनेको जनताको बहुदलीय जनवाद नै हो ।
त्यसैले नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्र देखिएको अहिलेको सङ्कट समाधान गर्दै पार्टी एकतालाई अक्षुण्ण राख्ने र आम कम्युनिस्ट कार्यकर्ताहरुको भावना तथा चाहनाअनुसार फुर्काविहीन नेपाल कम्युनिस्ट पार्टी निर्माण गर्ने अवधिसम्मको लागि जनताको बहुदलीय जनवादको पृष्ठभूमिमा माक्र्सवाद, लेनिनवाद र माओवादको आदर्शअनुरुप पद, प्रतिष्ठा र इगोको छलकपट तथा छिनाझम्टी छोडेर एकताबद्ध भई अगाडि बढ्नु नै श्रेयष्कर हुनेछ । अन्यथा विभाजनको विष्मयकारी हुण्डरीले कसलाई स्थापित गर्छ र कसलाई विस्थापित गर्छ, को–को संस्थापक हुन्छन् र को–को चोइटिएर जानुपर्ने बनाइदिन्छ ? थाहा हुँदैन । समय बलवान् छ, गौरीशङ्करलाई साक्षी राखेर निर्धारण भएको यो समयले अहिले कम्युनिस्ट सरकारलाई अवसर दिएको छ, यसको उपयोग गर्दै सरकारले जनप्रिय काम गर्ने र सरकारलाई सफल बनाउन सबैले बलियो साथ दिनुको विकल्प छैन ।newsofnepal/from

 

प्रतिकृया दिनुहोस्