‘समाचार र विचारको
साझा चौतारी’




झन्–झन् अनिश्चयमा धकेलिँदै निर्मला पन्त काण्ड


बलात्कार–हत्यामा प्रमाण नष्ट गरेको आरोपमा जागिर खोसिएका एसपीले पाए सफाइ

२०७७, १५ श्रावण  ई-रातो खबर
काठमाडौँ : गतवर्षभरि चर्चा र सनसनी भएको निर्मला पन्त बलात्कार–हत्याकाण्ड झनै अनिश्चय र रहस्यमा धकेलिँदै गएको छ । बालिका पन्त बलात्कारपछि हत्यासम्बन्धी काण्डमा घटनाको प्रमाण लोप गरेको आरोप लागेर जागिरबाट निकालिएका कञ्चनपुर जिल्लाका तत्कालीन प्रमुख एसपी डिल्लीराज बिष्टसहित ८ जना प्रहरीविरुद्ध दर्ता भएको सार्वजनिक न्यायविरुद्धको कसुर र यातनासम्बन्धी कसुरमा उनीहरूले जिल्ला अदालत कञ्चनपुरबाट सफाइ पाएपछि घटना अझै अनिश्चय र रहस्यमय बन्दै गएको ठानिएको छ । मुद्दा लागेपछि एसपी बिष्ट र इन्सपेक्टर जगदीश भट्टलाई जागिरबाटै हटाइएको थियो ।

अनलाइन खबरसँग कुरा गर्दै कञ्चनपुर जिल्ला अदालतका श्रेस्तेदार यदुनाथ शर्माले जिल्ला न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले दुवै मुद्दामा प्रहरी अधिकारीलाई सफाइ दिइएको बताएपछि घटना सार्वजनिक भएको हो । उनीहरूविरुद्ध निर्मला पन्तको बलात्कारपछि हत्या भएको प्रमाण नष्ट गरेको र हिरासतमा रहेकालाई यातना दिएको भनी मुद्दा परेको थियो ।

निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा एसपी बिष्टसहित डीएसपी अङ्गुर जीसी र ज्ञानबहादुर सेटी, इन्सपेक्टर एकीन्द्र खड्का, जगदीश भट्ट, सई हरिसिंह धामी, रामसिंह धामी र हबल्दार चाँदनी साउदले प्रमाण नष्ट गरेको आरोपमा उनीहरूमाथि मुद्द हालिएको थियो ।

बालिका पन्तको बलात्कारपछि भएको हत्याकाण्डमा अपराधी पत्ता लगाई कारबाही गर्न माग गर्दै करिब एक वर्षसम्म सबैतिरबाट दबाब परेको थियो । सत्ता सञ्चालकका नजिकका मानिसले घटना गराएकाले अपराधी पत्ता लगाएर कारबाही गर्ने कुरा रहस्यमै रहनसक्ने र अपराधीहरू उम्किनसक्ने अड्कल आन्दोलन चलिरहेको समयमा पनि गरिउको थियो । सरकारले हालसम्म पन्तका बलात्कारी र हत्यारा को हुन् भनेर अझै सार्वजनिक गर्न सकेको छैन ।

प्रतिकृया दिनुहोस्