‘समाचार र विचारको
साझा चौतारी’




परम्परावादी संस्कारको सकिँदो आयु


जबजब समाजमा परम्परावादी संस्कार, संस्कृति र चाडपर्वहरू आउन थाल्छन्, तिनले समाजमा आतङ्क मच्चाएर ढलिमली गर्न थाल्छन् । विभेद, रूढि, अस्वस्थ प्रतिस्पर्धा र अमानवीयताका दृश्यहरू मुटु छुने गरी देखापर्न थाल्छन् । क्रूरता र पाशविकता छताछुल्ल पोखिन थाल्छ । हुनेखानेले, धनाढ्य र पुँजीपतिले, सामन्ती मैमत्तपनले र नवधनाढ्य पुँजीपति वर्गले ढलिमली गर्न थाल्छ । श्रमिक वर्गमाथि देखीदेखी शासन गर्न थाल्छ र मडारिन, टक्कराउन थाल्छन् सामाजिक–सांस्कृतिक विभेद र असमानताहरू । दिनभर काम गरेर साँझ हातमुख जोर्न विवश श्रमिक वर्ग, देशमा श्रम नबिकेर पराई देशमा पाखुरा बजार्न पुगेको श्रमजीवी वर्गको घरमा नियमित चुलो बल्ने अवस्था हुँदैन, प्रदर्शन हुन थाल्छन् हुनेखानेहरूका लाख–लाखका गहना र पोसाक ! धर्म त केवल बहाना न हो, प्रदर्शन गर्नु छ, इख्याउनुछ, प्रतिस्पर्धामा उतारेर नङ्ग्याउनु छ र खोक्रो–हरिकङ्गाल बनाइदिएर समाजबाटै लखेटिदिनु छ सत्ताले जगेर्ना गरेका, अपसंस्कृति बोकेका हुल्लडबाज र हृदयहीन, पाषाणहरूका लागि !
सभ्यताको आरम्भ र वर्गसङ्घर्षको थालनीदेखि नै घमासान लडाइँ छ उच्च वर्गचेतना र क्रूर पश्चगामी चेतनाका बीचमा । पश्चगामी चेतनालाई प्रतिगामी र यथास्थितिवादी सत्ताले संरक्षण दिएर विकृत र ऐँजेरु सत्ता संस्कृति निर्माण गरी संरक्षण÷प्रोत्साहन गरिराखेको छ । सामन्तवादभन्दा विकसित भन्ने गरिएको पुँजीवादको भ्रष्टीकृत रूप दलाल पुँजीवादी सत्ता संस्कृति त अत्यन्त घातक र हानिकारक पो हुँदै गएको छ यद्यपि यसलाई कम्युनिस्ट नाउँको दलाल पुँजीवादी पार्टीको सरकारको मुखुन्डो लगाइएको किन नहोस् । सत्ताले नै अस्वस्थ, भ्रष्ट, विकृत र छाडा संस्कृतिलाई प्रोत्साहन गरेपछि सतहसम्म नै संघर्ष हुने नै भयो दुई संस्कृतिका बीचमा पनि जसरी सतहमा दुई वर्ग राजनीतिक रूपमा टक्कराइरहेका छन् ।
अब यस किसिमका पर्व र संस्कारहरू फेरि सुरु भएका छन् भलै कोरोना सङ्क्रमण, लकडाउन, निषेधाज्ञाका कारण विगतमा झैँ यिनले त्यस्तो सक्कली र मूर्त रूप देखाउन पाएका छनैन् । महामारीहरूले सधैँ खराब मात्र गर्दैनन्, नयाँ पाठ पनि सिकाएर जान्छन् भनेको सत्य साबित हुँदै गएको छ । विनाशकारी भूकम्पले एकातिर धनजनको ठूलो क्ष्ति ग¥यो । अर्कातिर सावधान हुन, पक्की, बलियो वा दरोसँग बासस्थान बनाउन पाठ सिकाएर गयो । यो नाकारात्मकताभित्रको सकारात्मकता हो ।
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणले हाम्रा अवैज्ञानिक, भावनाप्रधान र रूढ संस्कारमा आधारित धेरै कुप्रचलन र प्रथाहरू जानीनजानी भए पनि हटाउँदैछ । हाम्रो समाजमा चलेका सानाले ठूलाको खुट्टामै ढोग्नुपर्ने, पश्चिमा शैलीका ग्वाम्लाङ्ग आँगालो हालेर मायाप्रेम देखाउनुपर्ने, चुम्मा र चाटाचाटका, अनावश्यक भीडभाड र भोजभतेरका चलनहरू कोरोनाले कम गराउँदै लगेको छ र ढिलाढाला र तामझामको ठाउँमा चुस्तता र छिटोछरितोपनले स्थान पाउँदै गएको छ ।
विभिन्न चाड, पर्व र संस्कारका नाउँमा अनावश्यक भीड बढाएर मठमन्दिर प्रार्थनाकक्षहरूमा देखाइने मेला कम हुँदै गएका छन् । विवाह, व्रतबन्धदेखि घरघरमा गरिने श्राद्ध र पूजासम्म कोरोनाका कारण प्रभावित भएका छन् । पछिल्लो समय, यही साता हिन्दु महिलाहरूले मनाउने र सिङ्गै समाजलाई नकारात्मक प्रभाव पार्दै गएका तीज र पञ्चमीहरू गए । कोरोना त्रास र सरकारी प्रतिबन्धका कारण अस्वस्थ प्रतिस्पर्धा र भीडभाडहरू कम देखिए । सधैँ तामझाम र लीलाहरू देखाइने मठमन्दिरहरू सुनसान देखिए । चाडपर्व, संस्कार, संस्कृति, देउता, धर्म मानिसले कुनै युगमा आफ्नो चेतनाको स्तरअनुसार आरम्भ गरेको थियो । आज विज्ञान र प्रविधिमा अडेको मानिस अन्धविश्वासमा रुमल्लिएर बाँच्न सक्तैन । उसले आफैँ निर्माण गरेका रूढि र अन्धविश्वासका सत्ताहरूलाई ढालेको छ र धर्मका नाउँमा मैमत्त भएका पाखण्डहरूलाई बहिष्कार र तिरस्कार गर्दै नयाँ चेतना निर्माण गर्न सुरु गरेको छ ।
रूढि, पाखण्ड र अन्धविश्वासहरू जड छन् । यिनीहरू आफैँ त कसैगरी पनि समाप्त हुँदैनन् । कोरोनालगायत महामारीले पनि यिनीहरूको जग र जरा हल्लाउनसम्म मद्दत पु¥याएका छन् । यिनीहरूलाई सचेततापूर्वक पाखा लगाउनुपर्छ र जीवनवादी नयाँ संस्कृति, नयाँ संस्कार र नयाँनयाँ चाडपर्व अर्थात् जनवादी, समाजवादी प्रचलनहरू आरम्भ गर्नुपर्छ । त्यसैले अब माक्र्सवादी संस्कृतिकर्मीहरूले समाजमा विद्यमान असमानता, शोषण, विभेद र रूढिमा आधारित परम्परावादी, अन्धविश्वासी संस्कार÷संस्कृतिलाई तिलाञ्जली दिँदै नयाँ निर्माणको गतिलाई अघि बढाउनुपर्छ । वर्गसङ्घर्ष जति सघनतापूर्वक तीव्रतामा अघि बढ्छ, पुरानोको समाप्ति र नयाँको आरम्भ त्यति शीघ्रमा अघि बढ्ने हो । सत्तासंस्कृतिलाई परास्त गरेर नयाँ संस्कृति निर्माण गरी लागू नगरेसम्म सतहमा आउने परिवर्तनहरू सतहमै प्रतिक्रान्तिका मतियार र सहायक बन्ने यथार्थ हामी सबैले निकट वर्तमानमै भोगिसकेको सत्य हो । त्यसैले रूढि र परम्परावादका अन्धविश्वासको खाडलबाट माथि उठेर विज्ञान र सत्यको संस्कार निर्माण गर्ने बाटोमा अझै दृढता र तीव्रतामा अघि बढौँ ।सम्पादकीय,२०७७, १०  ई-रातो खबर

प्रतिकृया दिनुहोस्