‘समाचार र विचारको
साझा चौतारी’




१ सय २ वर्षका युवा कम्युनिस्ट नेता क. खगुलाल गुरुङ–एक सश्मरण


२०७७ भाद्र २७
– हुकुमबहादुर सिंह

यही २०७७ भाद्र २५ गते तदनुसार २०२० सेप्टेम्वर १० का दिन प्युठानका र सम्भवतः नेपालकै जीवीत कम्युनिस्टहरुमध्ये सबैभन्दा जेठा कम्युनिस्ट नेता क. खगुलाल गुरुङले १ सय २ वर्षको जन्मजयन्ती मनाउनु भयो । त्यसदिन उहाँले १ सय २ वर्ष पार गर्दै १ सय ३ वर्षमा पाइला टेक्नु भयो । सर्वप्रथम उहाँको दृघायु र सुस्वास्थ्यको कामना गर्दै यो संक्षिप्त सश्मरण लेख्ने प्रयास गर्न पाउँदा खुशी लाग्नु स्वाभाविकै हो ।
१ सय २ वर्ष पार गरेका क.खगुलाल गुरुङ कम्युनिष्ट आन्दोलनमा खासगरी प्युठानको कम्युनिष्ट आन्दोलनमा एउटा चिनिएको नाम हो । र चिनिएको मात्रै होइन, आदरका साथ हेरीने नाम पनि हो ।
१ सय २ वर्षको जन्मजयन्ती मनाउने क्रममा उहाँले भनेको–“ मेरो जीवनकालमै जनवादी क्रान्ति सम्पन्न भएको हेर्ने रहर छ ।” यो भनाई कति हौसलापूर्ण छ । एक दशक पनि कम्युनिष्ट आन्दोलनमा लागेर, खटेर देश र जनताका लागि त्याग र बलिदान गर्न नसक्ने तर आफूलाई क्रान्तिकारी कम्युनिस्ट भन्ने युवाहरुका लागि क.खगुलाल गुरुङका उल्लेखित भनाई कति शिक्षाप्रद छ,? कम्युनिष्ट आन्दोलनमा लागेको दुई चार वर्षमै पार्टीको सिसिएम हुनु पर्ने, सरकारमा पार्टी गए मन्त्री, उपप्रधानमन्त्रीआदि बन्नै पर्ने वर्तमानको नेपाली कम्युनिष्ट आन्दोलनभित्र हुर्किएको प्रवृति तथा विकृतिका विरुद्ध क.खगुलाल गुरुङका उल्लेखित भनाई सान्दर्भिक मात्रै नभई मनन योग्य पनि छन् ।
मेरो दृष्टिकोणमा क.खगुलाल गुरुङ एउटा अग्राख (सतिशाल) कम्युनिष्ट हो भन्दा फरक पर्दैन । मेरो विद्यार्थीकाल खासगरी २०२६÷०२७ सालदेखि उहाँको नाम सुनेको हो । २०३६को बहुदल नीर्दलबीचको जनमत संग्रहका दौरानमा उहाँ सँग–सँगै आन्दोलनको मोर्चामा कामगर्ने अवसर मिल्यो । २०३६ सालको अखिल छैठौको महाधिवेशनको सफलता पछि, म मेरो जन्म ठाउँ प्यूठानको जिम्मेवारी लिएर क.मोहन वैद्य किरणको नेतृत्वमा काम गर्न प्यूठान गए । २०३५ सालको आन्दोलनको परिणाम देशमा जनमत सङग्रहको घोषणा गरिएको थियो । त्यसवेला नेपालमा पार्टीले पहिले ‘बहुदल निर्दल एकै हो’ भन्ने नारा दिएर जनमत सङग्रहको विरोध गरेको थियो तर लगतै पार्टीले त्यसमा परिवर्तन गरी जनमत सङग्रहमा भागलिने र बहुदलिय व्यवस्थाको पक्षमा मतदान गर्न आन्दोलन गर्ने निर्णय वमोजिम पार्टीको निर्देशनमा प्यूठानमा केही ठाउँहरूमा आम सभाहरू गर्ने निर्णय ग¥यो । जनमत सङग्रहको घोषणा भएता पनि ३०वर्षसम्म पञ्चहरूको दवदवा भएकोले नेपाली काँग्रेसले पनि हामी भन्दा अगाडि प्यूठानमा आमसभागर्ने पहल गरिसकेको थिएन । किनभने क. मोहनविक्रम सिंहको २०१०को तीन महीने शिविरबाट उत्पादीत कैयौ प्रभावशाली कम्युनिष्ट नेताहरूले राजाको समर्थन गर्दै पञ्चायत प्रवेश गरिसकेका थिए । परिणाम प्यूठानमा पञ्चहरूले आफूलाई बलियो छौ भन्ने गर्दथिए र त्यसमा केही सत्यता पनि थियो । यो हुनुको पछाडिको अर्को कारण के पनि थियो भने २०३४ सालको देशब्यापी राजतन्त्र विरोधी पर्चा काण्डमा प्यूठानमा कम्युनिष्ट छाडेर पञ्चभएकाहरूले पर्चाकाण्डलाई यसरी अगाडि बढाए कि त्यसबेला आफूले काम गर्दा जे जति शिक्षकहरूलाई कम्युनिष्ट बनाएका थिए, कम्युनिष्टको रूपमा चिनेका थिए,। तिनीहरूलाई छानीछानी गिरफ्तार गर्ने र पञ्चायतलाई समर्थन गर्न दवाव दिएर त्यसमा केही सफलता पनि पाएका थिए । त्यसैले त्यहाँका कम्युनिष्टहरूमाथि ज्यादै दमन गरेका पनि थिए। उनीहरूको त्यो कामले प्यूठानमा कम्युनिष्ट संगठनलाई अस्तव्यस्त बनाएको थियो । त्यसको असर प्यूठानमा २०३५को आन्दोलनमा र पछि जनमत संग्रहमा पनि परेको थियो ।
फेरि त्यसवेला नेपाली काँग्रेस पनि कम्युनिष्ट प्रति त्यति सकारात्मक थिएन, खासगरी क. मोहनविक्रम सिंहको नेतृत्वको मसाल प्रति । जे होस प्यूठानमा हामीले आम सभागर्ने निर्णय ग¥यौ । पार्टी पुरै भूमिगत थियो । शिक्षकहरू पार्टीका मुख्य सहयोगि थिए तर भूमिगत रूपले । क.दिपक के.सि. र बेगमबादुर के.सि.जो पार्टीका सक्रिय सदस्य हुनुहुन्थ्यो, दुबै शिक्षक हुनुहुन्थ्यो । प्यूठानका शिक्षकहरू मध्ये उहाँहरू भूमिगत रूपले पार्टीमा सकृय हुनुहुन्थ्यो । क. सिद्धिमान के.सि. मरण्ठानाका एकजना पुराना कम्युनिष्ट नेता हुनुहुन्थ्यो, जसको सहयोग र सल्लाहमा मैले मरण्ठानाका केहि स्थानहरूमा पार्टी क्लास लिने र संगठन विस्तार गर्ने काम गरेको थिए । विजुवारका क. रामहरी श्रेष्ठ पनि अर्को एक जना स्थानिय नेता हुनुहुन्थ्यो, जसको सहयोग पनि त्यसवेला अत्यन्त महत्वपूर्ण थियो । त्यसै गरी क. बिद्याधर थापा पनि पार्टीमा एक जना सक्रिय शिक्षक हुनुहुन्थ्यो( क.दिपक के.सि. र क. बिद्याधर थापा हाल उहाँहरु जीवीत हुनुहुन्छ) । तै पनि पञ्चहरूको दवावका कारण जनता बहुदलबारे कुरा गर्न डराउदथिए । किनभने पञ्चहरूले जिल्लामा एक प्रकारको आतङक मच्चाएका थिए । हाम्रो आमसभामा नजान उनीहरूले सर्वसाधरण जनतालाई एक प्रकारको उर्दी जारी गरेका थिए । तै पनि हामीले आम सभागर्ने कम्मर कस्यौ । दाङबाट पार्टीले क. बासुदेव गौतमलाई, प्यूठानबाट म र यीनै पुराना कम्युनिष्ट क. खगुलाल गुरूङलाई भूमिगत कामबाट बाहीर ल्याउने निर्णय गरेको थियो । साथै आम सभाको लागि भारतमा काम गर्ने तर अर्घाखाँचीका क. लिलानाथ कुसुमलाई खटाएको थियो । क.लिलानाथ कुसुम जसको २०६८ भाद्र८ गते ह्दयघातका कारण निधन भयो । त्यसवेला मैले, क. कुसुम र गौतमजीले आम सभाको बक्ता र क. खगुलाल गुरूङलाई आमसभाको अध्यक्षता गर्ने निर्णय बमोजिम हामीले पहिलो खुला आमसभा जो पञ्चायतको विरूद्ध थियो, आयोजना प्यूठानको मच्छिमा ग¥यौ । त्यो आमसभा पञ्चायतको तीसवर्षको इतिहासमा तुलनात्मक रूपले भब्य त थियो नै साथै ज्यादै संगठित पनि थियो । आमसभामा सबै राजनीतिक पक्षकाहरू सहभागी थिए । तर धेरै जसो आमसभाको नजिक नबसेर अलि टाढा बसेर हाम्रा भनाइहरू सुन्ने गरेका थिए । किनभने आमसभामा उपस्थित प्रहरीहरूको आँखामा परिन्छ कि भन्ने डर उनीहरूमा थियो । म भर्खरै २०३५–०३६ सालको विद्यार्थी अँन्दोलन र अखिल छैठौको महाधिवेशनको सफलता पछि आएको कारण त्यो उर्जा र जुझारूपनले गर्दा आमसभाले त्यसवेला प्यूठानको लागि बहुदलको पक्षमा चुनावी प्रचार मात्रै नभइ कम्युनिष्ट संगठन विस्तारका लागि पनि युवामा आकर्षण बन्न मद्दत ग¥यो । आमसभा मच्छिपछि क्रमसः प्यूठानकै वागदुला, जुम्रीकाँढा र भालुबाङ र दाङको लालमटिया र घोराहीमा आयोजना गरेर समापन गरिएको थियो । प्यूठानमा गरिएका सबै आमसभाहरू प्रभावकारी रूपले सम्पन्न भएका थिए । खासगरी तुलनात्मक रुपले परिपक्व क.खगुलाल गुरुङको उपस्थितिका कारण । त्यसवेला पार्टीले गरेका ती आम सभाहरूबारे त्यसवेलाका युवा पिढिमा खासगरी प्यूठानमा अहिले पनि केहि चर्चा परिचर्चा गरेको पाइन्छ ।
क.खगुलाल गुरुङ यी सबैको एकजना मियो थियो, आधारस्तम्भ थियो । सँधै प्रफुल्ल, सधैंभरी खुशी नै खुशी रहने क.खगुलाल गुरुङ अहिले १ सय २ वर्षको हुदाँ पनि आँखालगायत शरीरका कुनै पनि अंगमा समस्या छैन । चस्मा नलगाइ पत्रपत्रिका, पुस्तक पढ्न सक्ने तर कान भने कम सुन्ने, शान्त जीवनशैली भएका क.खगुलाल गुरुङ सबैका लागि एकजना प्रेरणका स्रोत हुनुहुन्छ ।
नेतृत्व रहरले जन्मने, हुर्कने र सक्षम बन्ने कुरा होइन् । यो इतिहासको अपरिहार्यता, वर्गसङ्घर्षको नियम, अन्तरसङघर्षको उपज र क्रान्तिको आवश्यकताले जन्मने विकास हुने र टिक्ने कुरा हो । क. क.खगुलाल गुरुङ बारे पनि यो सत्य हो । प्यूठानको माटोमा जन्मेका र त्यहिबाट प्रशिक्षित क.खगुलाल गुरुङ प्यूठानका एक जना अग्राख कम्युनिस्ट प्रमाणित भएका छन् ।moolbato.com/from

प्रतिकृया दिनुहोस्