‘समाचार र विचारको
साझा चौतारी’




यथार्थ र भ्रमको सामुद्रिक छालमा मानव


बालकृष्ण मैनाली
आजसम्म पनि विश्व स्तब्ध नै छ । प्रत्येक मानव अचम्म तरिकाले त्रसित हुन पुगेका छन् । त्रसित हुनु स्वाभाविक पनि हो । हुन त विश्व महामारीको उदाहरण यो मात्रै होइन । योभन्दा अगाडि पनि विविध खाले भाइरसका कारण विश्व आतंक सिर्जना भएको थियो नै । जति त्रसित अवस्थामा भए पनि अन्ततः मानवले त्यसमा विजय हासिल गरेरै छाडेको छ ।

निःसन्देह आजको अवस्थामा पनि केही मानवीय क्षतिका बाबजुद यो मामिलामा पनि विजय हासिल गर्ने मानवले नै हो भन्ने कुरामा कतै द्विविधा छैन । मात्र चिन्ताको विषय भनेको मानवले विजय हासिल गर्दाको अवस्थामासम्म आइपुग्दा कोरोनाको कारण कसरी कमभन्दा कम क्षति व्यहोरेर विजय हासिल गर्ने हो भन्ने विषय मात्र मुख्य सरोकारको विषय र विश्वव्यापी बहस हुन पुगेको छ ।

डिसेम्बर महिनामा चीनको वुहानबाट शुरु भएको कोरोना भाइरस संक्रमणका कारण विश्व त्रसित अवस्थामा पुगेको छ । सबभन्दा बढी मृत्यु इटलीमा अनि अमेरिकामा भएको समाचार त्यति बेला प्रवाहित भएको थियो र आजको दिनसम्म आइपुग्दा दक्षिण एसियाली मुलुकहरुमा यसको प्रत्यक्ष प्रभाव पर्न थालेको छ । छिमेकी देश भारत त संक्रमितहरुको संख्यामा दोस्रो देश बन्न पुगेको समाचार सार्वजनिक भएको छ ।

पछिल्लो समयमा हाम्रो देशलाई पनि कोरोना भाइरसले क्षति पु¥याउँदै लगेको छ । क्षति न्यूनीकरणको लागि अग्र मोर्चामा रहेर खटिइरहेका डाक्टरलगायत अन्य स्वास्थ्यकर्र्मी र प्रहरीहरु पनि संक्रमित हुन पुगिरहेका छन् । उच्च जोखिम हुँदा पनि उनीहरु आफ्नो कार्यक्षेत्रमा खटिइरहेका छन् । जनजनको जीवन बचाउने कार्यमा इमानदारीपूर्वक लागिरहेका उनीहरुलाई संक्रमितले नछोओस् भन्ने जनजनको थुप्रै कामना छ । तथापि कहिलेकाहीँ सार्वजनिक हुन पुगेका उनीहरुप्रतिको केही नकारात्मक टीकाटिप्पणीले सबै सरोकारवालालाई पक्कै पनि दुखी बनाएको छ ।

अग्र मोर्चामा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुले भने कतिपय अवस्थामा आफूलाई सकस पर्दासमेत सकसका कुराहरुलाई बाहिर ल्याउन पदीय जिम्मेवारीहरुले अवरोध गरिरहेका हुन सक्छन् र त्यो देखिइरहेको पनि छ । यस्ता विषयलाई सरकारले समयमै उनीहरुको जायज गुनासोलाई सम्बोधन गर्नबाट किञ्चित पछि हट्नुहुँदैन ।

आजको दिनसम्म आइपुग्दा लाखौं आलेख, हजारौं अन्तर्वार्ता, लाखौं सत्प्रयासको कदमहरु महामारीविरुद्ध जारी छन् र जारी रहेका छन् । विश्वका सरकार प्रमुखहरुले आ–आफ्नो तर्पmबाट प्रयास जारी राखेका छन् भने विश्व जनमतले पनि आफ्ना कदमहरुलाई आ–आफ्ना स्थानबाट अगाडि बढाएका छन् । यो प्रक्रियाले निरन्तरता पाइरहनुपर्दछ र संक्रमण नियन्त्रित नभएसम्म प्रत्येक जनजनले आ–आफ्नो तर्पmबाट लडाइँ जारी राख्नुको विकल्प छैन ।

विश्वका जनजनहरुबाट महामारीलाई नियन्त्रणमा लिने प्रयास जारी नै रहेको अवस्थामा महामारी नियन्त्रणको लागि हाम्रो देशमा पनि राज्यदेखि व्यक्तिसम्म सबैको उत्तिकै जिम्मेवारी र दायित्व स्वतः सिर्जना गरिदिएको छ । कोरोनाले धनी, गरिब, ओहदावाल वा पदवाल केही भन्दैन । पूर्वराष्ट्रपतिलगायत मन्त्रीदेखि संसद्सम्म, कर्मचारीदेखि जनसाधारणसम्म कोरोना संक्रमणको सिकार हुनबाट कोही अछूतो रहेनन् ।

पछिल्लो समयमा कोरोना संक्रमित निको हुँदै स्वास्थ्यलाभ गरी फर्केकाहरुको भनाइलाई आधार मान्दा आत्मबल भएका संक्रमितले रोगलाई सजिलै जितेका र अलि आत्मबल कमजोर हुनेका लागि मनोसामाजिक परामर्श अचुक औषधि रहेका समाचारहरु सार्वजनिक भइरहेका छन् । पछिल्ला यस्ता समाचारका प्रवाहहरुले अन्ततः कुनै पनि सृजित समस्यालाई मानवले नै अन्त्य गर्ने क्षमता राख्छ भन्ने कुरालाई प्रमाणित गर्दछ । यस अर्थमा अहिलेसम्मको वस्तुस्थितिलाई अध्ययन गर्दा र विशेषज्ञहरुको भनाइलाई आधार मान्दा कोरोनाले आक्रमण गर्ने भनेको मानवलाई लागेको रुघाखोकीकै कारणलाई माध्यम बनाई एक मानवबाट अर्को मानवमा प्रहार गर्नु हो भन्ने अहिलेसम्मको निष्कर्ष हो ।

वास्तवमै कोरोनाविरुद्ध तत्काल जुध्न र यसको नियन्त्रणको लागि आवश्यक मूल स्रोत भनेको मनले माने पनि, नमाने पनि हामी मानव नै भइसक्यौं । हामी नै लडाकूको रुपमा आफ्नो आत्मबललाई बलियो बनाएर खटिने हो र त्यही खटाइको परिणामले मानवजातिले महामारीविरुद्धको लडाइँमा विजय प्राप्त गर्नेमा निश्चिन्त रहे हुन्छ भन्न कुनै अर्घेल्याइँ गर्न पर्दैन ।

मानवजातिले अब आफ्नो सोच, विवेकलगायत आफ्नो भूमिकालाई सोअनुसार तयार गर्नै पर्दछ । विश्वका विभिन्न राष्ट्रहरुको प्रयासमार्पmत कोरोनाविरुद्धको खोप या अन्य औषधि वा भ्याक्सिन तयारीमा जुट्दै गरेको र परीक्षण पनि भैरहेको समाचारहरु प्रवाहित भैरहेको छ, सँगसँगै कोरोनाको अनावश्यक त्रास पैmलाएर विश्वका मेडिकल माफियाहरुले आफ्ना कुत्सित उद्देश्य पूरा गर्न लागिपरेको भन्दै आलोचना पनि व्यापकरुपमा भैरहेको छ ।

यो आलेख तयार पार्दासम्म विश्वमा ९ लाखभन्दा बढी मानव मृत्युको तथ्यांक बाहिरिएको छ । आलोचना मात्र होइन, कोरोनाको त्रासमार्पmत मानवहरुलाई घरमै बन्धक बनाएर प्रायजसो प्रत्येक मानवको मृत्युमा कोरोनाको संक्रमण देखाएर आतंकित पारेको भनी विश्वमै व्यापक विरोध भएका समाचार पनि बाहिरिसकेका छन् ।

हाम्रो देशको सन्दर्भमा सरकारमा रहेकाहरुले यो मामिलामा कतै–कतै त्रुटि नै गरेको कुरामा आलोचित हुन पुगेको भए तापनि केही समयअघिको तथ्यांकलाई नियाल्दा कुनै विपत् महामारीको खबर सुन्नुपरेको अवस्था सिर्जना भइसकेको थिएन । भलै त्यति बेला बन्दाबन्दी र निषेधाज्ञालाई एक औजारको रुपमा प्रयोग गरिएको थियो, आजसम्म पनि कायम छ । बन्दाबन्दी र निषेधाज्ञारुपी औजार आजको दिनसम्म आइपुग्दा प्रभावकारी हुनुपर्नेमा संक्रमितको संख्या बढ्दै गएको तथ्यांकले अब बन्दाबन्दी र निषेधाज्ञाको औजार व्यर्थहीन देखिन थालेको कुरा जनजनबाट प्रकट हुन थालेको छ ।

झन्डै सात महिनासम्मको यसको प्रयोगले जनजन आत्तिन थालिसकेका छन् । आज कमाएर आजै छाक टार्नुपर्ने थुप्रै जनजनहरु डिप्रेसनको सिकार बन्न पुगेका छन् । यो अवधिमा आत्महत्या गर्नेको पछिल्लो संख्यालाई हेर्दा डर लाग्दो तस्वीर प्रत्येक जनजनका सामु देखा पर्दछ । एकछाक खाना कसले निःशुल्क खुवाउँदै छ भनेर पत्ता लगाउन समय खर्चिनुपरेको अवस्था भनेको सरकारको लागि सुहाउँदो विषय हुनै सक्दैन । सरकारको कामलाई सरसर्ती अनुगमन गर्दा सरकार यो विषयलाई सार्थक सम्बोधन गर्नेतिर लाग्नुभन्दा पनि सरकारको प्राथमिकता अन्तै परेको जनजनले अनुभूति गरेका छन् ।

आफ्नै दलभित्रका विरोधीहरुलाई के–कस्तो सुविधा प्रदान गरेर विरोधीहरुले उठाएका आवाजलाई बन्द गर्ने हो भन्नेतिर सरकारको ध्यान केन्द्रित भएको देखिन्छ । सरकार के–के महत्वपूर्ण सार्थक सम्बोधन गर्न सकेमा आफ्नो दलको सरकारले पछिसम्म निरन्तरता पाइरहन्छ होला भनेर ध्यान केन्द्रित गर्नुभन्दा पनि बाँकी अढाइ वर्षपछि जे होला–होला, वर्तमानमा बाँकी रहेको अढाइ वर्षसम्म आफूखुशी शासन सञ्चालन गर्ने भन्नेमै रमाइरहेको देखिन्छ ।

राज्य यस्तो संकटको भुमरीमा परिरहेको बेलामा पनि राज्य सञ्चालकहरु आफ्नो स्वार्थमा लिप्त रही निहित धन्दालाई नै प्राथमिकता दिएको देख्दा राज्यका नागरिकले पनि कतै आफ्नो कर्तव्य बिर्सने हो कि भन्ने डर पैदा हुन पुगेको छ । पछिल्ला समयमा बेला–बेलामा देखिएका नागरिक र सरकारबीचको घम्साघम्सी यसैका संकेतहरु हुन् । देशका शासकहरुले जे–जस्तो गल्ती गरेका छन् तिनीहरुलाई यथासमयमा सजाय दिने हामीसँग रहेका नैसर्गिक अधिकार सुरक्षित छन् ।

समय आएपछि यसको एक–एक हिसाबकिताब लिने कार्यमा अगाडि बढौंला । तर अहिलेको वर्तमानमा देखा परेको महामारीबाट आफू पनि जोगिने, सँगसँगै परिवार–समाज हुँदै पूरै देशलाई जोगाउने हामी प्रत्येक नगरिकको कर्तव्य एवं दायित्व हो भन्ने कुराको मनन गर्दै सरकारबाट हुन जाने प्रत्येक गलत रवैयाको विरोध गर्दै संयमितरुपमै नागरिकको भूमिका निभाउनुको विकल्प देखिँदैन ।

यो आलेख तयार पार्दासम्म विश्व स्वास्थ्य संगठनले देखाएको पछिल्लो तथ्यांकले २ करोड ७५ लाखको हाराहारीमा संक्रमित भएका र झन्डै ७१ लाखको हाराहारीमा संंक्रमित कायमै रहेको देखाएको छ । यस अवस्थामा एउटा निश्चित कुरा के हो भने, संक्रमित भैसकेकाहरु पुनः संक्रमित हुँदैनन् भन्ने स्पष्ट आधार छैन । विश्वभरि संक्रमित भएका, छिमेकी देश भारतमै संक्रमित भएका अनि सँगसँगै हाम्रो देशमा भएका संक्रमितहरुको संख्या र पछि थपिँदै बढोत्तरी भैरहने अवस्थासमेतलाई विचार गर्दा, के अब संसारका कुनै मानव संक्रमित हुनबाट जोगिन सक्छन् त ? भन्ने कुराको कसैले परिकल्पना गरे भने उक्त परिकल्पना पनि सही परिकल्पना हो भन्दा अत्युक्ति हुनेछैन ।

राज्यले यो विषयलाई पनि गम्भीरतापूर्वक मनन गरी अन्य विकल्पसहित प्रस्तुत हुनुपर्दछ र बन्दाबन्दी र निषेधाज्ञा वा कफ्र्यु आदिलाई मात्र विकल्पको रुपमा हेरिनुहुँदैन । अन्य विकल्प अपनाउँदा संक्रमणको वृद्धिदर वा मानव मृत्युदरमा कुनै नकारात्मक असर परेको अवस्था सिर्जना हुन पुग्यो भने मात्र त्यस बेलाको लागि त्यो पनि छोटो अवधिको लागि मात्र बन्दाबन्दी र निषेधाज्ञा वा कफ्यु विकल्प हुन सक्ला । साथसाथै सम्भावित त्यस्तो आइपरेमा पनि के गर्ने भन्ने विषयमा समेत सरकार तयारी अवस्थामा रहिरहनुपर्दछ ।

नागरिकको तहमा पनि विचार गर्नुपर्ने कुरा के छ भने, वर्तमान संविधान हामीले नै दिएका हौं । यस अवस्थामा नागरिकको सामाजिक कर्तव्य र दायित्व मात्र होइन, संवैधानिक कर्तव्य पनि देखा परेको छ भन्ने कुरालाई समेत नगरिकले मनन गर्नुपर्ने हुन्छ । हामी नागरिक स्वयंले पनि कानुनको शासन स्थापना भएन भनेर लडाइँ लडिरहेको अवस्थामा हाम्रा पनि देशमा देखा परेको अप्रत्यासित परिस्थितिलाई सार्थक सम्बोधन गर्न केही संवैधानिक र अनि संवैधानिकबाहेक अन्य सामाजिक कर्तव्यहरु पनि छन् भन्ने कुरा मनन गर्नै पर्दछ ।

र, सोही अनुसार भूमिका निर्वाह गर्नुपर्दछ । साथसाथै नागरिकले त्यसरी भूमिका निर्वाह गर्दै अगाडि बढिरहेका बेला सरकारले पनि नागरिकलाई आफ्नो दुश्मन सम्झिँदै संविधान र कानुनको दुरुपयोगमार्पmत तर्साउने कार्यलाई अविलम्ब बन्द गर्नुपर्छ । सम्भवतः सरोकारवालाहरु सबैले वर्तमानको अप्रत्यासित अवस्थालाई आ–आफ्नो तर्पmबाट इमानदारीपूर्वक सघाउने हो भने छोटो अवधिमै कोरानालाई पराजित गर्न सक्षम हुने कुरामा विमति देखिँदैन ।
(लेखक मैनाली अधिवक्ता हुनुहुन्छ ।)newsofnepal/२९ भाद्र २०७७

प्रतिकृया दिनुहोस्