‘समाचार र विचारको
साझा चौतारी’




किन विवादको चक्करमा घुमिरहन्छ मेचीनगरपालिका ?


सम्पादकीय

झापाको मेचीनगर नगरपालिका विकासको नामले भन्दा पनि विवादको नामले परिचित नगरपालिका बन्न पुगेको देखिन्छ । कहिले मकै विवाद, कहिले संकलन गरिएका ढुङ्गा, कहिले नदी जन्य वस्तुको दोहन र ढुङ्गा , कहिले निजि विध्यालयको प्रसङ्ग, कहिले नगर सभाको विषय अनि कहिले कर्मचारीको तलव भत्ताका विषयलाई लिएर ।
जनप्रतिनिधिहरुको झण्डै तिन वर्षेकार्यकालको समयमा भन्नु पर्दा दिर्घकालिन ठोस योजनाको विकास निमार्ण र आम नागरिकले सरोकार राख्ने विषयको प्रसङ्गसँग जोडिने विकासको काम भएन भन्दा कसैप्रति कुनै आक्षेप होला जस्तो लाग्दैन । नियमित रुपमा हुने सामान्य विकास निमार्णका कामका अलवा सिङ्गो नगर क्षेत्र र आम नागरिकले यो चाही भयो है भन्ने ठोस योजनासहितको अहिले सम्म पनि कुनै कार्यक्रम मेचीनगरपालिकाले ल्याउन सकेको देखिदैन । यसको अर्थ यो होइन कि मेचीनगरपालिकाले केही गर्दै गरेन भन्ने होइन तर जुन सकारात्मक हिसावका जनपक्षिय काम हुनु पथ्र्यो र जसको सम्बन्ध दिर्घकालिन विकासको योजनासँग रहनु पथ्र्यो यो भने भएको देखिदैन ।
भनिन्छ नगरपालिकामा प्रतिनिधित्व गर्ने राजनीतिकदलहरुको स्वार्थका कारण गएको असार १० मा हुनु पर्ने नगरसभा तोकिएको समयमा भएन तर असार २६ मा कागजपत्र मिलान गरेर नगरसभा असार १० मै भएको भन्ने बनाईयो । यहाँनेर आश्चर्य लाग्दो विषय त यो छ कि स्वयम् मेचीनगरपालिका आम नागरिकलाई एउटा गरिएको हुन्छ र भन्छ अर्को यो कति नागरिकप्रति जिम्मेवारी र जवाफदेहिता हो ?
कर्मचारीले संचालन गरिरहेको नगरपालिकामा जब जनप्रतिनिधिहरु पुगे आम नागरिकमा एक प्रकारको उत्साह र अपेक्षा रहनु स्वभाविक हो तर जनप्रतिनिधिहरुले उपस्थितिको लामो समय गुज्रिदा पनि जनभावना र जनअपेक्षा अनुसारका ठोस कार्यक्रम भएनन् बरु यसको बदला विविध विषयका विवादले एकपछि अर्को नगरपालिकाले आफ्नो सफाई र धारणा सार्वजनिक गर्दै समय बितायो । आजका मिति सम्म पनि आम नगरवासीले स्याबास् भन्ने कुनै त्यस्तो काम भएको छ जस्तो लाग्दैन । पछिल्लो समयमा विश्व महामारीका रुपमा आएको कोरोना कहरमा समेत मेचीनगरपालिकाले नागरिकमा महशुष हुने खालको कार्यक्रम ल्याएको देखिदैन । गएको चैत ११ देखि लगभग बन्दाबन्दीको अवस्था छ । नगरक्षेत्रमा कति नागरिकको चुल्हो बलेको छ कि छैन भन्ने ध्यान खासै नगरपालिकाले दिएको जस्तो लाग्दैन । जनप्रतिनिधिहरुको उपस्थितिमा आम नगरवासीले जुन प्रकारको विकासको अपेक्षा गरेका थिए त्यसलाई हाम्रा जनप्रतिनिधिले के साच्चै आत्मसात गरेकाछन् त ? आज प्रश्न उठ्नु अन्यथा मान्न सकिदैन । सबै वर्ग र तप्काका नागरिकको अवस्थाप्रति स्थानिय सरकार समेत भनिने मेचीनगरपालिकाले कोरोना महामारीको यो कहरमा के साच्चै शन्तोषजनक भूमिका निर्वाह गरिरहेको छ या समय समयमा चलचित्रको ट्रेलर जस्तो एउटा विवादको विषयलाई आउँछ यो गंभीर विषय बनेको छ । चुनावका बेला सम्म नगरपालिकामा जाने प्रतिनिधि पार्टीका हुन्छन् तर चुनाव जितेका दिनदेखि उनीहरु जनताका प्रतितिनिधि हुन्छ के साच्चै मेचीनगरपालिकामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधि दल भन्दा जनता प्रतिनिधि भएर आजका दिन सम्म प्रस्तुत हुदै आएकाछन् या भन्नलाई जनप्रतिनिधि र गर्नलाई पार्टी प्रतिनिधिको रुपमा रहेकाछन् आज आम नगरवासीले उनीहरुको कामलाई मिहिन गरि नियाली रहेकाछन् ।
कसैप्रति कुनै आग्रह वा पूर्वाग्रह नराखी भन्दा मेचीनगरपालिका यो समयमा तारिफ योग्य काममा भन्दा कताकता विवादको उल्झनमा चक्कर मारिरहेको देखिन्छ । निर्वाचनका समयमा जनताका घरमा गएर मत माग्दाको क्षण र आफ्ना पार्टीले तयार गरेको चुनावी घोषणा पत्रलाई एक पटक नगरका जनप्रतिनिधिले अब हेर्ने बेला भएको छ । हिजो हामीले के भनेका थियौँ र आज हामी के गर्दैछौँ भन्ने स्मरणका लागि एक पटक घोषणा पत्र पो हेर्ने हो कि ? अनि हिजो आफुले मत माग्दाका बेलामा बोलेका कुराहरुलाई पुन एक फेर स्मरण गर्ने हो कि ?

प्रतिकृया दिनुहोस्