‘समाचार र विचारको
साझा चौतारी’




झरी त रोकियो कस्तो रहला अबको मौसम, यसो भन्छन् मौसमविद्


११ आश्विन २०७७, आईतवार

जनादेश, काठमाडौं ।

झण्डै एक सातासम्म परेको झरी शुक्रबारदेखि मत्थरिएको छ । शनिबार दिनभर पानी परेन भने
आज (आइतबार) बिहान पनि काठमाडौं उपत्यकामा बिहानैदेखि घाम देखिएको छ ।

देशभर नै मौसमी अवस्थामा सुधार आएको छ । प्रदेश १ र २ बाहेक देशका सबै स्थानमा अहिले घाम देखिएको मौसमविद्ले जानकारी दिएका छन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ र २ मा न्यून चापीय क्षेत्रको प्रभाव अझै रहेकाले मौसम बदली भई घाम देखिएको छैन । पश्चिमबाट विस्तारै मौसम खुल्दै आएको छ ।

आजको मौसम कस्तो होला ?

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थान तथा प्रदेश नं ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

काठमाडौं उपत्यकामा पनि आज अपराह्न वा साँझपख हल्का पानी पर्ने सम्भावना छ। यहाँ अधिकतम तापक्रम २८ देखि ३० डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ।

प्रदेश नं १ का एक/दुई स्थानमा भने दिउँसो भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै राति पनि प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

लामो मनसुनी सिजन
यो वर्ष नेपालमा औत भन्दा बढी मनसुन सक्रिय हुने छ । नेपालमा औसतमा जुन १० मा मनसुनको आगमन हुने र सेप्टेम्बर २३ मा बाहिरिने गरेकोमा केही वर्षयता मनसुन ढिला आउने र ढिला जाने क्रम सुरु भएको महाशाखाको भनाई छ ।

सन् २०१३ देखि सुरु भएको यस्तो क्रम यो वर्ष पनि देखिने भएको छ । यो वर्षपनि अक्टोबरको दोस्रो सातासम्म मनसुन सक्रिय रहिरहने सम्भवना छ । महाशाखाले बदलिएको मौसमी प्रणालीबारे अध्ययन भैरहेको जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्