‘समाचार र विचारको
साझा चौतारी’




फूल र फूलहरू


शुभद्रा भट्टराई (अर्याल)
कविता
निहाली रहन्छु
एकहोरो बगैंचा
रङ्गीबिरङ्गी फूलहरू देखेर
थाम्न सक्दिन मन
मेरा खस्रा हातहरूले
कोतर्छन् फूलहरूका सुन्दर शरीर
सायद फूललाई लाग्दो हो काउकूती
मेरो हेराईले भुतुक्क भएर
लजाएका हुनसक्छन् फूलका परेलीहरू

फुट्नै लागेका कोपिलाहरू
ठान्दा हुन मलाई आमाको प्रतिबिम्ब
उमङ्गले हौसदै छुन खोज्छन् होला
मेरो छातिको सतह
मलाई देखेर
मस्किदै नाच्दा हुन यौवनले पूर्ण
मदमस्त फूलका थुंगाहरू
जातजातका रङ्गीन फूलहरू
सोच्दै होलान् फक्रे पछिको सुगन्धित उन्माद
बगैंचा नै मगमगाउँछु भन्ने ठान्दै होलान्
लहरा,बोट र भूइं फूलका पुष्पित
फूलका अनगिन्ती सिर्जनाहरू

चुडिए पछि फूलका पत्रहरू
महसुस गर्दा हुन बिछोडको पीडा
बोट र पातहरू रमिते भएर
हावासँगै खेल्दै होला वयली
अझै उद्धत हुदै होलान
काडाहरू छेड्न फूलको गर्भ

फूलहरुलाई पछारि रहन्छन् मान्छेहरू
कहिले फूलदानीमा
कहिले अङ्गालो त कहिले
मन्दिर, मस्जिद, गिर्जाघर र गुम्बाहरूमा
लाशमा,आशमा र त्रासमा
तर कहिल्यै विरोध गरेनन् फूलहरुले
फूलहरुले त सधैं गरि रहे मान्छेको
स्वागत,सम्मान र समाधिसम्मको पूजा।

प्रतिकृया दिनुहोस्