‘समाचार र विचारको
साझा चौतारी’




अप्ठ्यारोमा परेकालाई खाना बाँड्दै पूजा


फिल्मीखबर, काठमाण्डौ, 2020/10/13

कोरोना भाइरसका कारण यतिबेला विश्व नै आक्रान्त छ । संक्रमण र मृत्युदर दिनप्रति दिन बढिरहेको छ । लकडाउन अन्त्य हुनुभन्दा अगाडि नेपालमा कोरोना संक्रमतिको संख्या ठूलो थिएन । रोगको डरले मानिसहरुले सावधानी अपनाएका थिए । तर, लकडाउन अन्त्यपछि मानिसहरु कोरोनासँग खासै डराएको पाइएको छैन । जसले गर्दा संक्रमण नियन्त्रणभन्दा बाहिर गएको छ ।

कोरोनाका कारण अझै धेरै क्षेत्र खुलेका छैनन् । सञ्चालनमा आएका क्षेत्रमा पनि सीमित कामदार राखेर काम भइरहेको छ । जसका कारण हजारौं श्रमिकको रोजीरोटी गुमेको छ । दशैंको मुखमा रोजगारी गुम्दा शहरी क्षेत्रमा बसोबास गर्ने श्रमिकलाई रोगभन्दा भोकले सताएको छ । अहिले भोकले आक्रान्त भएर खाना खोज्नेहरु काठमाडौंका सडकमा अनगिन्ती भेटिन्छन् ।

रोजगारी गुमेर समस्यामा परेकालाई काठमाडौंका विभिन्न स्थानमा विभिन्न संघ-संस्थाहरुले निःशुल्क खाना वितरण गरिरहेका छन् । यो कार्यमा नेपाली कलाकारहरुले पनि साथ दिएका छन् । यसबीच, अभिनेत्री पूजा शर्माले सोमवार अप्ठ्यारोमा परेकाहरुलाई खाना वितरण गरेकी छन् । साझा पार्टीको तातो भात अभियानमा सहभागिता जनाउँदै उनले भोकाहरुलाई खाना बाँडेकी हुन् ।

पूजाले आफ्नो आधिकारिक इन्स्टाग्राम स्टोरीमा खाना बाँडिरहेको तस्विरहरु शेयर गरेकी छन् । उनले कोरोनाका कारण रोजगारी गुमाएकाहरुलाई खाना बाँड्न पाएकोमा खुसी व्यक्त गरेकी छन् । उनले सोमवार साँझ लगनखेलको सडकमा आफ्नै खर्चमा भोकाहरुलाई खाना बाँडेकी हुन् । उनले यसअघि फिल्म प्राविधिकहरुलाई २ लाख बराबरको खाद्यन्न सहयोग गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्