‘समाचार र विचारको
साझा चौतारी’




भारतीय सेनाध्यक्ष नरवाणेलाई नेपाल भ्रमणमा ल्याउने तयारी


२०७७ आश्विन २८

काठमाडौं । नेपाल सरकारको मन्त्रीपरिषद्को स्वीकृतिमा नेपाली सेनाले भारतीय सेनाका सेनाध्यक्ष मनोजमुकुन्द नरवाणेको नेपाल भ्रमणका लागि तयारी सुरु गरेको छ । गएको माघ २० गते नै मन्त्रीपरिषद् बैठकले भ्रमणको लागि आमन्त्रण गर्ने निर्णय गरेको भएपनि नेपालबारे विवादास्पद अभिव्यक्ति दिएपछि भ्रमण रोकिएको थियो । कालापानी क्षेत्रमा भारतद्वारा नेपाली भूमि अतिक्रमणको नेपालले गरेको विरोधबारे नरवाणेले दिएको अभिव्यक्ति विवादास्पद भएका कारण र कोरोना महामारीले गर्दा उनको भ्रमण तालिका प्रभावित भएको सेनाको स्रोतले जानकारी दियो ।
भ्रमणको मिति तय भइनसकेको तर कात्तिकमा हुने गरी तयारी सुरु गरिएको सेनाले जनाएको छ । नेपाल भ्रमणका क्रममा भारतीय सेनाध्यक्षले राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानार्थ प्रधानसेनापतिको उपाधी ग्रहण गर्ने बताइएको छ । नेपाल भारतबीच एक अर्काका सेनाध्यक्षलाई मानार्थ प्रधानसेनापतिको उपाधी प्रदान गर्ने चलन रहेको छ ।
यसअघि भारत भ्रमणका क्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले भारतीय सेनापतिको मानार्थ ग्रहण गरेका थिए । सेनाध्यक्ष नरवाणेले भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री ईश्वर पोखरेल र आफ्ना नेपाली समकक्षी पूर्णचन्द्र थापासँग भेटघाट गर्ने भए पनि त्यसको पूर्ण तालिका तयार भइनसकेको सेनाले जनाएको छ ।
नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितका आफ्ना भूभाग समेटेर नक्सा जारी गरेसँगै भारतसँगको सम्बन्ध चिसिएको छ । त्यसपछि नरवाणे पहिलो पटक नेपाल भ्रमणमा आउन लागेका हुन् । नेपालले कालापानी, लिपुलेक तथा लिम्पियाधुरामा भारतले गरेको अतिक्रमणको विरोध गर्नुका साथै नेपालको सो भूमि समेटेर नयाँ नक्सा जारी गरेपछि नरवाणेले एक कार्यक्रममा चीनको उक्साहटमा नेपालले यी कदम चालेको बताएका थिए । उनको सो अभिव्यक्तिको नेपालमा चौतर्फी रुपमा कडा विरोध भएको थियो ।moolbato.com

प्रतिकृया दिनुहोस्