‘समाचार र विचारको
साझा चौतारी’




लकडाउनमा बर्षालाई फिल्मको अफर आएन


फिल्मीखबर, काठमाडौं, 2020/10/14

कोरोनाका कारण सात महिनादेखि फिल्म निर्माण र प्रदर्शन भएको छैन । जसले गर्दा फिल्ममा सीमित कलाकारहरु फुर्सदिला भएका छन् । तर, यो समयमा उनीहरुलाई फिल्म अफरको भने कमी भएन । राजेश हमाल, दयाहाङ राई, बर्षा सिवाकोटी, उपासना सिंह ठकुरी, विपिन कार्कीलगायतले लकडाउनमा आधा दर्जन बढी फिल्मबाट प्रस्ताव आएको बताएका छन् ।

तर, अभिनेत्री बर्षा राउत लकडाउनको समयमा आफूलाई नयाँ फिल्मबाट प्रस्ताव नआएको धक नमानी बताउँछिन् । ‘अहिले मेरो पाइपलाइनमा दुई फिल्म छ- ‘दुई नम्बरी र के घर के डेरा’ । यी दुई फिल्मको छायांकन पूरा नभएसम्म नयाँ फिल्ममा हात हाल्ने सोचमा छैन,’ उनले भनिन्, ‘लकडाउनको समयमा म्यूजिक भिडियोमा बढी व्यस्त भएँ । फिल्मबाट भने प्रस्ताव आएन ।’

लकडाउनको समयमा सीमा विवादको विषयमा दिएको अभिव्यक्तिले बर्षा ठूलो विवादमा तानिएकी थिइन् । यो विवादले उनको फिल्मी करिअरमा असर गर्ने कतिपयले आँकलन गरेका थिए । लकडाउनमा फिल्मबाट प्रस्ताव नआउनुको कारण कन्ट्रोभर्सी त होइन ? भन्ने प्रश्नमा उनी भन्छिन्, ‘कन्ट्रोभर्सी अरु कलाकारको पनि भइरहेको हुन्छ । यसले गर्दा हो जस्तो मलाई लाग्दैन ।’

बर्षा राउत पछिल्लो पटक फिल्म ‘जात्रै जात्रा’ मा देखिएकी थिइन् । यो फिल्मको सफलतापछि उनले लामो समय नयाँ फिल्म साइन गरिनन् । कतिपयले विवाहपछि उनलाई फिल्मबाट अफर नभएको टिप्पणी समेत गरे । उनीहरुलाई जवाफ दिन उनले एक हप्ताको अन्तरमा दुई फिल्म साइन गरिन् । उनले विकासराज आचार्यको फिल्म ‘नाईं नभन्नू ल ६’ मा पनि काम गर्ने चर्चा छ ।filmykhabar/from

प्रतिकृया दिनुहोस्