‘समाचार र विचारको
साझा चौतारी’




नेपालबारे छुद्र टिप्पणी गरेका नरवाणेको भ्रमणबाट दिन खोजिएको सन्देश


२९ आश्विन २०७७
जनादेश विश्लेषण ।

केही समय अघि नेपालबारे छुद्र टिप्पणी गरेका भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरवाणे नेपाल आउने पक्का भएको छ । नेपाली सेनाले बुधबार जारी ‍गरेको प्रेस विज्ञप्तिअनुसार भारतका स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवाणेले आगामी नोभेम्बरमा नेपाल भ्रमण गर्नेछन्।

दुई देशबीच कुटन‍ीतिक र राजनीतिक सम्बन्ध चिसिएका बेला नेपाली सेनाले भारतीय सेनाध्यक्षलाई औपचारिक भ्रमणको निमन्त्रणा दिनु र यही समयमा रक्षामन्त्रालयको जिम्मेवारी ईश्वर पोखरेलबाट खोसेर प्रधानमन्त्री ओलीले आफैसँग राख्नुलाई धेरैले चासोका साथ हेरेका छन् ।

विश्लेषकहरुले दुई देशबीच सीमा विवादकैबीच पनि सरकारका अंकहरुसँग भारतीय सेनाको सम्बन्ध पुरानै स्तरमा रहेको तथा संवादको कडी नटुटेको सन्देश दिन खोजेको आँकलन गरेका छन् ।

नेपाल र भारतका सेनाप्रमुखले जिम्मेवारी सम्हालेपछि एक अर्काको देशमा गएर मानार्थ सेना प्रमुखको उपाधि लिने चलन छ। सन् १९५० देखि दुई देशका प्रधानसेनापति बहाल भएपछि एकअर्कोमा गएर मानार्ध उपाधि लिने चलन सुरु भएको हो। नेपालका प्रधानसेनापति पूर्णचन्द्र थापाले भारत पुगेर उक्त उपाधि लिइसकेका छन्। तर नारवाणे नेपाल आएका छैनन् ।

कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नेपालले नयाँ राजनीतिक नक्सा जारी गरेपछि यी दुई छिमेकी देशबीच सम्वादहीनताको अवस्था छ ।

अगस्ट १५ मा भारतीय स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको फोन संवादपछि त्यो गतिरोध हटेको मानिएको छ।

गत मे ८ तारिखमा नरवाणेले नेपाल अर्कैको उक्साहटमा (चीनलाई संकेत गर्दै) नक्सा युद्धमा उत्रिएको टिप्पणी गरेका थिए । त्यतिबेला नेपालमा मानार्थ महारथीको प्रचलन हटाउनुपर्ने आवाज समेत जनस्तरमा उठेको थियो। तर नरभानेको नेपाल भ्रमणले दुई देशबीच सैनिक कुटनीतिमार्फत थप अन्तरक्रियालाई खुल्ला गर्न भारत इच्छुक रहेको सन्देश दिन खोजेको देखिएको छ।

चीनसँग तनाव बढिरहेको बेला भारतले छिमेकीहरुसँगको सम्बन्ध सुधारका लागि गरेको सैन्य कुटनीतिक प्रयासका रुपमा पनि अर्थ्याइएको छ।

प्रतिकृया दिनुहोस्