‘समाचार र विचारको
साझा चौतारी’




बुद्ध : एक कुशल मनोरोग विशेषज्ञ


भिक्षु निग्रोध

आजभन्दा करिब २६ सय वर्षअगाडि नेपालको लुम्बिनीमा जन्मिएका सिद्धार्थ राजकुमारले ३५ वर्षको उमेरमा भारतको बुद्धगयामा बोधिवृक्ष रुखमुनि बुद्धत्व प्राप्त गर्नुभयो र तथागत भगवान् बुद्धको नामले संसारभर चिनिनुभयो । २६ सय वर्षअगाडिको मानव समाजलाई नै दिशानिर्देश गरेको हुनाले मानव इतिहासमा उहाँको जन्मलाई एक युगपुरुषको जन्मको रुपमा लिइन्छ र अद्वितीय व्यक्तिको प्रादुर्भाव भएको मानिन्छ ।

बुद्ध भइसकेपछि करिब ४५ वर्षसम्म उहाँ ४५ घण्टामा २२ घण्टा सत्वप्राणीहरुको हितकल्याण र अनवरतरुपमा बहुजन हित र सुखको निमित्त लाग्नुभयो । त्यसैले उहाँ त्यो समयदेखि नै कुशल मार्गनिर्देशकको रुपमा रहनुभयो । उहाँ महाज्ञानी तथागतले दिनुभएको उपदेश, शिक्षा र दर्शनलाई मानिसहरुले धर्म तथा अनुशासनको रुपमा अनुशरण गर्न थाले । पछि यही धर्म तथा ज्ञानमार्गमा लागेका अभ्यासकर्तालाई संघ भनियो । यसरी लोकमा बुद्ध, धर्म र संघ (त्रिरत्न) स्थापित भयो ।

बुद्धका सम्पूर्ण उपदेशहरुलाई तीनवटा समूहमा विभाजित गरी सङ्ग्रह गरिएको हुँदा ‘त्रिपिटक’ भनिन्छ । समाजका व्यावहारिक कुराहरु, घर गृहस्थीको विधि व्यवहारका बारे प्रकाश पारिएका र सरल उपदेश संग्रह नै पहिलो पिटक हो, जसलाई सूत्रपिटक भनिन्छ । यस पिटकले मानिसहरुको काम, चरित्र, रुप र शरीरलाई संयमित, नियमित तथा प्रगति गर्न धेरै मद्दत पु¥याउँछ ।

त्रिपिटकको दोस्रो पिटक विनय पिटक हो । यसले भिक्षु, भिक्षुणी एवं सर्वसाधारण मानिसहरुको विधिविधान, आचरण, बोली र वाणीलाई संयमित, नियन्त्रित र व्यवस्थित बनाउनमा मद्दत पु¥याउँछ । त्रिपिटकको तेस्रो र अन्तिम पिटक अभिधर्म पिटक हो । जसरी सूत्र र विनयले काय र वाकलाई व्यवस्थित गर्दछ, त्यसरी नै अभिधर्मले मानिसको ज्ञान, विज्ञान र मनोविज्ञानको अन्तर गहिराइमा परमार्थ चित्तको शुद्धि, ध्यान र ज्ञानका बारेमा दिशानिर्देश गर्दछ ।

शास्त्रीय मान्यता अनुसार सूत्र, विनय र अभिधर्ममा ८४ हजार धर्मस्कन्धहरु समाहित गरिएका छन् । प्राणीहरुको मनोविज्ञान र चित्तसम्बन्धी बुद्धको गम्भीर, सूक्ष्म र गहन उपदेशहरुको सङ्गालो अभिधर्म हो । मनले उच्च भएको हुनाले मानिसलाई मनुष्य भनिएको हो भन्ने भनाइ अभिधर्मको रहेको पाइन्छ । तेजस्वी भगवान् बुद्धको शिक्षाअनुसार ती मनुष्यहरुले जन्मसँगसँगै स्वाभाविकरुपमा तीनवटा रोगहरु लिएर आएका हुन्छन्– मानसिक, शारीरिक र प्राकृतिक रोग ।

अतृप्त चाहना, तृष्णा र असीम इच्छा नै मानिसको सबैभन्दा ठूलो मानसिक रोग हो, जुन उसले जन्मजात आपैmंसँग लिएर आएका हुन्छन् । आमाको गर्भदेखि नै लाग्ने भोक र प्यास सबैभन्दा ठूलो शारीरिक रोग हो । जन्मेदेखि समयक्रमअनुसार पुरानो जीर्ण हँुदै क्षय हुने वृद्ध (जरापन) सबैभन्दा ठूलो प्राकृतिक रोग हो ।
यी तीन प्रकारका रोगहरुलाई पनि सजिलोका लागि बुद्धले दुई प्रकारमा बाँड्नुभएको पाइन्छ– शारीरिक रोग (प्राकृतिकसमेत समेटेर) र मानसिक रोग । अहिलेको परिवेशमा पनि चिकित्सक दुई प्रकारका छन् ।

शारीरिकसम्बन्धी उपचार गर्ने र मनसम्बन्धी उपचार गर्ने चिकित्सक ।
त्रिपिटकअन्तर्गत सुत्तपिटकको अंगुत्तरनिकाय ग्रन्थको चतुक्कनिपात खण्डको रोगसूत्रमा बुद्धले भन्नुभएको छ– ‘विसन्ति भिक्खवे सत्ता कायिकेन रोगेन एकम्पिं वस्स्ां आरोग्यं पतिजान मान, दो यं पि वस्सानि आरोग्यं पतिजान मान…वस्सा सत्तापि आरोग्यं पतिजान मान भिक्खवे सत्ता दुल्लभा लोकस्मिं ये चेतसिकेन रोगेन मुहुत्तमांपि आरोग्यं पतिजानाति अयं त्वं खीणासवाति ।’ अर्थात् शारीरिक रोग र मानसिक रोग गरी दुई प्रकारका रोग रहेका छन् । यहाँ कोही १, २, १०, ३०, ५० वर्ष हुँदै १०० वर्षभन्दा बढी बाँचेका हुन्छन् भने यी मध्ये कोही–कोही त शारीरिक रोगी नभईकन, निरोगी भई बलियो भएर बाँचेका पनि हुन्छन् । तर चैतसिक रोग (मनोरोग वा मानसिक समस्या) नहुने गरी बाँचेकाहरु पाउन दुर्लभ छन् । यसमध्ये पनि आर्यज्ञानमा पुगी अर्हत् भएका मात्रै मनोरोगविना कुशलपूर्वक बाँचेका हुन्छन् ।

माथि उल्लिखित दुई प्रकारका चिकित्सक वा डाक्टरमध्ये तथागत भगवान् बुद्ध एक कुशल मनोचिकित्सक हुनुहुन्छ । उहाँ मनोरोग विशेषज्ञ हुनुहुन्छ । मानव इतिहासमा उहाँजस्तो अग्रणी मनोचिकित्सक अरु भेट्टाउन गाह्रो पर्नेछ भनेर आधुनिक युगका मनोचिकित्सकहरुले पनि स्वीकारेका छन् । तथागत भगवान् बुद्धले आफूभित्रका सम्पूर्ण मानसिक क्लेश, मैला तथा रोगहरुलाई पूर्णतया निर्मूल पारी आफूले आपैmंलाई शुद्ध र स्वस्थ बनाउनुभयो र सयौं–हजारौं मात्र होइन लाखौं–करोडौंको संख्यामा मानिसहरुलगायत अन्य सत्वप्राणीहरुको मानसिक रोगको पनि उपचार गर्नुभयो ।

बुद्धले एक प्रसङ्गमा ‘संसारका सबै मानिस मानसिकरुपमा विक्षिप्त भएका पागल हुन्’ भन्नुभएको पाइन्छ । (उम्मतका वियहि सब्बे पुथुजना दिस्सति) । हुन पनि धेरैजसो मानिस शारीरिकरुपमा स्वस्थ र सबल देखिए तापनि मानसिकरुपमा बिरामी हुन्छन् । मानिसको मनमा थुप्रै अशुद्धिपन रहेको हुन्छ ।

एकजना शल्यचिकित्सकले रोग पत्ता लगाई, शरीरको भित्रसम्म पुगी, चिरफार गरेर उपचार गरी निको पारेजस्तै बुद्धले पनि मानिसको मनको गहिराइसम्म गएर मनको चिरफार (विश्लेषण) गरेर रोगलाई निको पार्नुहुन्छ । सूत्रपिटकको सल्लेख सूत्र उपदेशमा मानिसको मनमा ४४ प्रकारका रोगहरु हुन्छन् भनी उल्लेख गरिएको छ । ती रोगहरुको निवारण पनि ४४ प्रकारकै हुन्छन् भनी बताइएको छ ।

चवालीस रोग र तिनको निवारण
१) अरुलाई दुःख–पीडा दिने– अरुलाई दुःख पिडा नदिने
२) प्राणी हिंसा गर्ने– प्राणी हिंसा नगर्ने
३) अरुको सामान चोरी गर्ने– अरुको सामान चोरी नगर्ने
४) यौन दुव्र्यवहार गर्ने– यौन दुव्र्यवहारमा नगर्ने
५) असत्य बोल्ने– सत्य बोल्ने
६) चुक्ली गरी कुरा काट्ने– चुक्ली नगर्ने
७) कडा वचन बोल्ने– कडा वचन नबोल्ने
८) अर्थहीन कुरा गर्ने– अनर्थक कुरा नगर्ने
९) अरुको वस्तुमा लोभ गर्ने– अरुको वस्तुमा लोभ नगर्ने
१०) भ्रष्ट अशुद्ध मन– गुणयुक्त शुद्ध मन
११) गलत दृष्टि– सही दृष्टि
१२) नकारात्मक सोच– सकारात्मक सोच
१३) झर्किने शब्द– नम्र शब्द
१४) गलत क्रियाकलाप– सम्यक क्रियाकलाप
१५) गलत जीविका– सही जीविका
१६) गलत प्रयत्न– सम्यक प्रयत्न
१७) गलत समझदारी– सही समझदारी
१८) गलत तरिकाले ध्यानमग्न हुनु– सही तरिकाले ध्यानमग्न हुनु
१९) गलत काम गरी सही ठान्नु– सम्यक ज्ञान सही ज्ञान
२०) गलत मुक्ति– सही मुक्ति
२१) अल्छियुक्त लोस्याइँ– अल्छीबाट छुटकारा
२२) घमण्ड गर्नु– नम्रता हुनु
२३) शंंका गर्नु– शंका उपशंका नगर्नु
२४) आवेग रिस राख्नु– शान्त शालीन हुनु
२५) क्लेश दुर्भावना राख्नु– क्लेश दुर्भावना नराख्नु
२६) कपट, स्वाङ पार्नु– स्वाङ वा देखावटी नगर्नु
२७) मनमा दुविधा हुनु– दुविधालाई मनबाट हटाउनु
२८) ईष्र्यालु हुनु– ईष्र्या नगर्नु
२९) कन्जुस हुनु– कन्जुस्याइँ नगर्नु
३०) छलकपट धोका दिनु– छलकपट नगर्नु
३१) बहानाबाजी गर्नु– बहानाबाजी नगर्नु
३२) जिद्दी लिँडेढिपी गर्नु– जिद्दी लिँडेढिपी नगर्नु
३३) अहङ्कार घमण्ड गर्नु– अहङ्कार घमण्ड नगर्नु
३४) अनादर, अटेरी गर्नु– आज्ञाकारी हुनु
३५) मूर्ख–पापी साथीहरुको संगत गर्नु– असल साथीहरुको साथ हुनु
३६) असन्तोष र अनिच्छित हुनु– सन्तोष र परिश्रमी हुनु
३७) निष्ठावान्को अभाव– निष्ठावान हुनु
३८) लाज सरमको अभाव हुनु– लाज सरम हुनु
३९) पाप गर्न नडराउनु– पाप गर्नमा डराउनु
४०) ज्ञानको अभाव– ज्ञानको वृद्धि
४१) अल्छी उदासी– उद्योगी हुनु
४२) मानसिक जागरणको अभाव– मानसिक सचेतना
४३) मूर्खपन– ज्ञानले युक्त अवस्था
४४) आफ्नो धारणालाई समाइराख्नु– आफ्नो धारणालाई समाई नराख्नु ।

वर्तमान समयमा थुप्रै मानसिक विकारका कारण समाजमा झै–झगडा, कलह, वैमनस्यता, असमझदारी तथा द्वन्द्व, अपराध भइरहेको छ । प्रत्येक मानिसको मनमा दुविधा, चिन्ता, तनाव, निराशापन, एक्लोपन, चिड्चिडाहट, डर, हतास र मनोत्रास पाइन्छन्, यी सबै मानसिक कमजोरीका लक्षणहरु हुन् । मनलाई संयमित र सही दिशामा पु¥याउन नसक्दा मानिसहरुले मानसिक सन्तुलन गुमाएको पनि देखिन्छन् ।

हाम्रो समाजमा हत्या, हिंसा, दुव्र्यसन, यौनकुण्ठा तथा आत्महत्याजस्ता जघन्य अपराधतिर लागेर जीवन बर्बाद गर्नेहरु पनि छन् । यी सबै प्रकारका मानसिक समस्याहरुबाट उन्मुक्ति पाउन बुद्धको शिक्षा औषधिको रुपमा प्रयोग गर्न सकिन्छ । बुद्धको पालामा असाध्यै नाम चलेका जीवक भन्ने वैद्यले समेत भगवान् बुद्धलाई अग्रणी कुशल चिकित्सकको रुपमा मानेका छन् ।

बुद्धले मनोरोगको उपचारार्थ ३७ वटा बोधिपक्षीय औषधिहरु बताउनुभएको छ । यी औषधि उपचार पद्धति यस प्रकारका छन् ः
१) चत्तारो सतिपठ्ठाना ः चार स्मृतिप्रस्थान भावना (कायानुपस्सना, वेदनानुपस्सना, चित्तानुपस्सना, धम्मानुपस्सना (शरीर, इन्द्रिय, अनुभूति, मन, धर्म, अनित्यताबारे होस राख्नु ।)
२) चत्तारो सम्मप्पधाना ः चार सम्यक प्रधान (कुविचार उत्पन्न हुन नदिन प्रयत्न, कुविचार नष्ट गर्ने प्रयत्न, सुविचार उत्पन्न गर्ने प्रयत्न र सुविचार वृद्धि गर्ने प्रयत्न ।)
३) चत्तारो इद्धिपादा ः चार ऋद्धिबल (इच्छाशक्ति, निरन्तर प्रयास, सजगता, खोज वा अनुसन्धान) ।
४) पञ्च इन्द्रिय ः पाँच इन्द्रीय (श्रद्धा, वीर्य, स्मृति, समाधि र प्रज्ञा) ।
५) पञ्च बल ः पाँच बल (श्रद्धा, वीर्य, स्मृति, समाधि र प्रज्ञा) ।
६) सत्त बोज्झङ्ग ः सातबोध्यङ्ग (स्मृति, धर्मविचय, वीर्य, प्रीति, प्रश्रब्धि, समाधि र उपेक्षा) ।
७) अरियअट्ठङ्गिकमग्ग ः आर्य अष्टाङ्गिक मार्ग (ठीक धारणा, संकल्प, वचन, कर्म, जीविका, प्रयत्न, स्मृति, एकाग्रता) ।

गलत गुरुको संगतमा परेर बाटो बिराएका हत्यारा डाकु अंगुलिमाल, आफन्त परिवारको वियोगबाट मानसिक सन्तुलन गुमाएका पटाचारा, आफ्नो छोरा मरेकोले वज्रपातमा परेकी कृषा गौतमी तथा आत्महत्या गर्न लागेका भिक्षुलाई समेत बुद्धले उनीहरुको चरित्र, स्वभाव र मनोदशा बुझी उनीहरुलाई मानसिक दुःखबाट उन्मुक्ति दिलाएर उचित मार्गनिर्देशन दिनुभएको थियो ।

यसै गरी विभिन्न व्यक्तिलाई विभिन्न प्रकारका मनोवैज्ञानिक तरिकाले उपचार गरेका घटनाहरु त्रिपिटकमा यथेष्ट पाइन्छन् । यसबाट प्रमाणित हुन्छ कि तथागत भगवान् बुद्ध एक कुशल मनोरोग विशेषज्ञ मात्र नभई उहाँ एक बेजोड मनोवैज्ञानिक पनि हुनुहुन्छ ।

मानसिक रोगको उपचारका अलावा शारीरिक रोगको औषधिबारे पनि भगवान् बुद्धले महावग्ग पालिको भैषज्य खण्डमा उल्लेख गरेको पाउँछौं । त्यस ताका भिक्षुहरु जंगलमा गएर बस्ने हुँदा विषधारी सर्पहरुबाट बच्न बुद्धले चारवटा महाविकटहरु राखेर सर्पबाट बच्ने उपाय भन्नुभएको पाइन्छ ।

मल– फोहोर, मूत्र– पिसाब, चारिका– तातो खरानी र मातिका– माटो प्रयोग गर्नुपर्ने, त्यसै गरी जन्डिस हुँदा तरुला फल, गाईवस्तुको पिसाब मिसाएर प्रयोग गर्ने, पेट दुख्दा नुनको ढिको प्रयोग गर्नुपर्ने, विभिन्न रोगहरुका लागि रुखका बोक्रा, जडीबुटी, गोबर, आयुर्वेदिक गुणयुक्त फलपूmल, जराहरु प्रयोग गर्नेबारे पनि बुद्धले भन्नुभएको छ ।

पापस्मि रमति मनो अर्थात् यो मन पापमा छिट्टै रमाउने गर्दछ । समग्रमा मानिसहरुको मन कुवामा उम्रिएको पानीसरह नै शुद्ध, निर्मल तथा पवित्र हुनुपर्ने हो तर बिस्तारै आँखा, कान, नाक, मुख र शरीररुपी पाँच इन्द्रियसँग मिसिँदा यो तुरुन्तै अशुद्ध र दूषित हुने गर्दछ ।

जीवन जिउने क्रममा मानिसहरुमा इगो (अहङ्कार), इको (आर्थिक कारोबार) र इक्हो (आहारविहार तथा वातावरण), परिस्थितिसँग सामना गर्दै जाँदा विभिन्न मानसिक कमी–कमजोरी पैदा हुने गर्दछ । लोभ, द्वेष, भय तथा मोहको वशमा परेर मानिसहरु मानसिक रोगबाट ग्रस्त हुन्छन्, तसर्थ यसको उचितरुपमा समाधान गर्न भगवान् बुद्धले यस्ता मनोरोगीहरुलाई सही दिशा प्रदान गरी जीवन जिउने कला सिकाउनुभएको पाइन्छ ।
(लेखक विश्वशान्ति बौद्ध शिक्षालयका प्रिन्सिपल हुनुहुन्छ ।)newsofnepal/३० आश्विन २०७७

 

प्रतिकृया दिनुहोस्