‘समाचार र विचारको
साझा चौतारी’




नेपालीपनको समाजवाद !


रमेश भट्टराई ‘सहृदयी’ ।

सबै मिलेर परिश्रम गर्ने तथा उपभोग्य वस्तुमा साझा अधिकार स्थापित हुने मान्यतालाई सरल अर्थमा समाजवाद भनिन्छ । उत्पादनका साधनमा सामूहिक स्वामित्व स्थापना गर्दै ‘सबैलाई क्षमता र योग्यता अनुसारको काम र काम अनुसारको दाम दिनुपर्छ’ भन्ने नीतिमा माक्र्सवादी सिद्धान्तले पुँजीवादको अन्त्य चाहन्छ ।

अर्थात्, यसमा नेपाली बाम राजनीतिको एउटा प्रमुख नारा “जनताको बहुदलीय जनवाद” को अर्थ गाँसिन पुग्छ । ‘जनवाद’ शब्दको अर्थ सामन्ती शासनको अन्त्य भएपछि स्थापित हुने जनतान्त्रिक राजनीतिक विचारमा आधारित दर्शन भन्ने हुन्छ ।

जनवादले श्रमजीवी वर्गको हितमा समानतावाद (आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक आदि कुनै पनि क्षेत्रमा भेदभाव नभई समानता हुनुपर्ने मान्यता) को धारलाई प्रश्रय दिन्छ ।

यो एउटा राजनीतिक–सामाजिक सिद्धान्त हो । यसको अर्थ पुँजीवाद, सामन्तवाद लगायतको एकाधिकारको अन्त्य गर्नु हो अनि भूमिसुधारका आधारमा जनताको स्तरोन्नति पनि गर्नु हो ।

तर, व्यक्तिलाई समूहमा स्थापित तुल्याएर राज्यको दायित्व नै साझा अर्थमा हुनुपर्छ भन्ने समाजवादी सिद्धान्तलाई हामी कति स्वीकार गर्न सक्छौँ !

अब पुँजीवाद भनेको के हो त भन्ने प्रश्न उब्जिन्छ । नेपालको सन्दर्भमा पुँजीवादको अर्थ राजा र राणालाई विलासी, एकतन्त्री भनेर गाली गर्ने सिद्धान्तजस्तो मात्रै देखिन्छ । श्रम गरेर सम्पत्ति जोडेकालाई पनि पुँजीवादी भन्ने शैलीतिर हामी मोडिँदा हामीले हाम्रै परिवेश अनुकूल व्याख्या गर्नु आवश्यक छ ।

माथिल्लो जातले तल्लो जातलाई हेपिरहेको कुरा गरिरहँदा माथिल्लो जातका विपन्नका दशालाई छोड्नु पनि सन्तुलित व्याख्या हुँदैन किनकि जातकै आधारमा शोषक र शोषितको व्याख्या गर्ने हो भने धेरै क्षेत्री÷बाहुनले पनि बनिबुतो गरेर दुःखले परिवार पाल्नु परिरहेको यथार्थ छ नै ।

नेपालमा यो भन्दा अलिक मास्तिर उक्लेर आजको तहमा रहेर व्याख्या गरिनु अपरिहार्य छ । यो विषय समाज–राजनीतिमा अलिक बढी ढल्कँदा धर्म राजनीति र अर्थ राजनीतिसँग मिसिएर देखा पर्छ । किनकि, हरेक इतिहासलाई सोही समयको परिवेश, परिस्थिति र बाध्यतामा आधारित भएर व्याख्या गरिनुपर्छ ।

विगतलाई दोषै मात्र देखाएर गाली गर्ने अनि आज पटक्कै सुध्रिन नसक्ने पद्धतिमा हामी सर्वहारा वर्गका सिद्धान्तलाई बोकेर नबुझ्नेका अघि ठूला कुरा गरिरहेका छौँ ।

त्यागको अर्थ जेल, नेल र हिंसाको राजनीति मात्रै हो त ! हुँदाहुँदा नेपाली प्रगतिवादी चिन्तक पनि समालोचना भन्दा बढी समर्थनको एक किस्सामा लहसिनु पनि कतै पूर्वाग्रही र अल्पव्याख्या पद्धति पनि पटक्कै होइन !

समाजवाद र हामी

उत्पादनका लागि पुँजीको लगानीलाई प्रोत्साहन गर्ने तथा स्वतन्त्र बजार र प्रतिस्पर्धात्मक आर्थिक प्रणालीलाई पुँजीवादी मान्यताले प्रश्रय दिन्छ । दार्शनिक माक्र्सको विचारलाई हेर्ने हो भने आर्थिक कारोबार र उत्पादनका प्रमुख साधन तथा उत्पादित वस्तुमा पुँजीपतिको व्यक्तिगत स्वामित्व हुन्छ ।

यो मान्यताले श्रमभन्दा पनि पुँजीलाई सर्वाधिक महŒव दिन्छ । नेपाली समाज त्यो भन्दा फरक आदर्श समाजमा बाँचिरहेको सकारात्मक पक्षलाई भुल्न मिल्दैन । तथापि, नकारात्मक धारमा आपसी विभेदलाई प्रश्रय दिएर हुर्किएका वर्गीय असमानताको जडलाई उखेल्न त हिंसाभन्दा पनि प्रेमको ओखती दर्बिलो हुने देखिन्छ ।

विभेद वा असमान वितरणका कमजोरीका बिचमा पनि मानवतावाद (मानिसले मानिसप्रति गर्ने समताभाव, दया–करुणा तथा कल्याणकारी कार्य) को एक ठूलो हिस्सा राम्रोसँग हुर्केको थियो जुन कुरालाई माक्र्सवादी व्याख्याभित्र मात्रै समेट्न सकिँदैन ।

विभेद, छुवाछुत, सतीप्रथा, दासप्रथा लगायतका कुसंस्कारको अन्त्यसँगै यदि नेपालमा शिक्षा र चेतनास्तरलाई बढावा दिने हो भने त्यहाँ नेपालीपनको विकास सम्भव हुन्छ । विकृतिले भिन्न तरिकाले प्रभुत्व जमाएर पुस्तान्तरण हुँदा नेपाली समाजको आदर्श भावसमेत विकृतिकै कित्तामा पर्न गयो ।

अतः निकै मै हुँ भन्नेले नेपाली समाजलाई व्याख्या गर्दै जाँदा उदारवाद (पुँजीवादी राजनीति र आफन्तप्रति अनुरागी), नस्लवाद (मानिसहरूलाई फरक–फरक नस्ल (समूह) मानेर हेरिने अर्थात् नस्लमा उँच र नीचको घेरो बनाएर नीच भनिएकालाई सताइने एक नाजीवादी भन्ने सिद्धान्त), फासीवाद (व्यक्तिगत सम्पत्तिको प्रभुत्ववाद वा सर्वसत्तावाद) आदिको पश्चिमी सोचकै तहमा मात्र रहेर हेर्ने गरेको देखिन्छ ।

नेपाली समाजको मिहिन अर्थ–संस्कृति र बन्धुत्वमैत्री सामाजिकीकरणलाई भुल्न मिल्दैन । परिणामतः नेपाली समाजवादभित्रको ‘आदर्श मानवतावादी समतावाद’ लाई बिर्सेर गरिएको पश्चिमी पद्धतिको व्याख्यामा आज हामीले आफ्नोपनको अस्तित्वलाई कुल्चिरहेका त होइनौँ ?

पुँजीवादको अन्त्य समाजवाद हो भने समाजवादको पूर्ण विकसित अवस्थालाई साम्यवाद भनिन्छ । माक्र्सवादी सिद्धान्तमा पूर्ण मानवीय समानतायुक्त वर्गविहीन, शोषणविहीन र राज्यविहीन स्थितिको परिकल्पनालाई साम्यवादले समाजलाई चलाउन चाहन्छ ।

साम्यवादी मान्यतामा लोकतन्त्र, प्रजातन्त्र, पार्टी, नेताविहीन मान्यताले व्यक्तिवादको अन्त्य हुँदा वर्ग संघर्षको समेत अन्त्य हुन्छ भन्ने मान्यता छ । हाम्रो समाज र मुलुकले यो धारलाई कसरी ग्रहण गर्ला ?

हाम्रा प्राज्ञिक अनुसन्धेय, व्यावहारिक नैतिक, मानवतावादी, सुरम्य शान्तिमय पद्धतिलाई समेत बिर्सिन खोजेर गल्ती गर्दै त छैनौँ ! के आजका सभ्य र शिक्षितहरूका व्याख्याभित्र नेपालीपन पनि समावेश भएको छ त ? यो एउटा अहम् सवाल हो !

‘हामीभित्रको हाम्रो’ कि ‘राम्रोभित्रको राम्रो’

माक्र्सवादी मान्यतालाई प्रश्रय दिएर नेपालमा कम्युनिस्ट शासन (कम्युनिज्मका अनुयायी) को जग बसाल्ने काम वि.सं. २००६ मा पुष्पलालद्वारा भयो । पार्टी उदाएको ६८ वर्षपछि बल्ल नेकपाले स्पष्ट बहुमत प्राप्त गर्ने सौभाग्य पाएको हो ।

अहिले भइरहेको विवादास्पद अवस्थालाई हेर्ने हो भने यो गरिमा जोगाउने आस्थाको धरोहरमा नराम्ररी खिया लागेको छ । यसमा सत्ताको बागडोर सम्हाल्नेको दोष हुनेछ किनकि अहिले पनि स्वार्थका लागि शक्ति र सत्ताको सिँगौरीमा होमिएको प्रष्ट छ ।

मौकामा चौका मार्न लम्कने उमेदवारको लामै लर्को देखिन्छ । अहिलेको सरकारले प्रदर्शन गरिरहेको व्यवहार अनि अर्कोतिरको जनआक्रोस र वितृष्णाको बाढी दुवै कुरालाई सल्टाउन सत्ताधारी नै जिम्मेवार हुनुपर्छ ।

माक्र्सको युरोपमुखी घोषणापत्रभित्र नेपालको माटो नमिल्नु अचम्म हुँदै होइन । वर्ग संघर्षद्वारा समानताका लागि रक्तपातलाई समेत स्वीकार गर्नुपर्छ भन्ने माक्र्सको विचार नेपाली भूमिका लागि कदापि स्वीकार्य होइन ।

हामी त क्रान्तिले भन्दा शान्तिले समानता र साम्यवादभन्दा मास्तिरको मानवतावादमा रम्न चाहने माटोमा हुर्केका छौँ । सबाल्टर्नको अवधारणासम्मका लागि पनि हाम्रो समाजले शान्तिपूर्ण चैतन्यलाई अघि सारेर चाहेको परिवर्तन गराउन सक्छ ।

यस अवधारणाले मात्रै आवाजविहीनका आवाज बोल्न सक्छ, सदियौँदेखि पिछडिएकाहरूको दशालाई बोलिदिने बाटो खुला हुन सक्छ । आर्थिक, सामाजिक, भाषिक, राजनीतिक तहमा समेट्ने भन्दै गर्दा फेरि छोडिरहिएका भुइँमान्छेको आवाजलाई बुलन्द गर्न सक्छ ।

हाम्रा लागि त बुद्धको सिद्धान्त विपरीत रक्तपातपूर्ण क्रान्ति अफापसिद्ध हुनेछ र त्यो दिगो हुने छैन । हो, जनताको मनमा शोषक र शोषितको व्याख्या गर्ने र सोच्ने बुद्धि माओवादी द्वन्द्वदेखि अलिक बढी नै अगाडि आयो ।

यो हत्या, हिंसा, विनासले निम्त्याएको त्रास, वेदना, संवेदनहीनताको जर्जर अवस्थाभित्र पनि विकसित भएको एउटा सकारात्मक पाटो हो । यो एक हदमा चेतना स्तरको वृद्धि गराउने झिनो इतिहास चाहिँ हो तर चेतनास्तर बढाउने मूल धार भनेको सूचना र सञ्चारलाई प्रविधिले बढावा दिने परिवेश नै बढी हो ।

अर्को तहसम्ममा पुगेपछि बहुजाति, बहुभाषी, बहुसांस्कृतिक समाजभित्रको एकतालाई बिर्सेर झुण्ड–झुण्डको राज्य प्रदान गर्ने नीति चाहिँ भोटका लागि फालिएको कुटनीतिक अस्त्र मात्रै हो ।

यो सोचले नेपाली समाज अनुरूपको समाजवादी मान्यताभित्र विकसित हुनुपर्ने अपनत्वको स्तरलाई स्वार्थको झुण्डमा लगेर धकेलिदियो । तब ‘मानवतावादी समतावाद’ भन्दा तल झरेर एक किसिमको आन्तरिक कलह र दलदलभित्र ‘साम्प्रदायिक खेमा’ को जालो बुनियो ।

एक हदमा यो कुटनीति तत्कालीन माओवादीका महारथीलाई नै भारी हुन पुगेको देखिन्छ । यही जालोमा लगेर अल्झाइएका विचारमाथि विश्लेषण हुँदा संघीयताको विरोध गर्नुपर्ने एउटा दर्बिलो विषय आम मानिसमा विकसित भएको हो भन्न सकिन्छ ।

अलिकति नेपाली राजनीतिको कोणबाट हेर्ने हो भने क्रान्तिको व्याख्यालाई व्यावहारिक रूप दिनुपर्ने व्यक्तित्वमा नै आन्तरिक खिचातानी प्रष्ट देखियो । आज त्यो सबल पार्टी नै धुजा–धुजा भएर तितरवितर भएको छ ।

यो पदीय बाँडफाँडमा सत्ताको महत्तालाई बिर्सेको कारुणिक इतिहास हो । हालको राजनीतिक माहोलमा बाम संयोजनको विषय प्रष्ट छ । यसमा क्षमता र भविष्य हेरिएन बरु ६०–४० को भागबण्डा मिलनविन्दु बन्न पुग्यो ।

तन मिलेको देखिए पनि मन नमिलिइरहेकाले बाम राजनीतिको ध्रुवीकरण उही पूर्व माओवादी र पूर्व एमालेकै कोणबाट, टाउके नेताको खातिरदारी गर्नेकै धारमा गएर ठोक्किएको छ ।

यसले न माओत्सेतुङको विचारलाई बुझ्छ न त एङ्गेल्सको मान्यतालाई नै । सिद्धान्त र व्यवहारमा देखिने फासलाले पारदर्शिता र गुणस्तरलाई क्षीण तुल्याइदिएको छ । अहिले न त माक्र्सको समाजवाद प्रष्ट छ न त जननेता मदन भण्डारीको जबजको सिद्धान्त नै ।

फलतः क्षमतावान्लाई पाखा लगाइयो र ‘हाम्रोभित्रको हाम्रो’ खोज्दा ‘राम्रोभित्रको राम्रो’ लाई गलहत्याएर पाखा लगाएको कुरा छर्लङ्ग देखिन्छ ।

आखिर रक्तपातमुखी हतियारको क्रान्तिले देशको ठूलो जनधनको क्षति गराएपछि परिणाममा बाध्यकारी सहमति गराउने रहेछ । माओले त आफ्नो देश सुहाउँदो क्रान्ति गरे ।

कार्ल माक्र्सले युरोपेलीहरूको जागरणको एउटा क्रमलाई बोल्दै गर्दा अर्थात् फ्रान्सेली राज्य क्रान्तिको प्रभावले कमाउ धन्दामा लहसिएका मानिसका लागि भनेर आफ्नो विचार राखे । तथापि, क्रान्तिको निष्कर्ष पनि केवल शान्ति बाहेक अरू केही हुँदै होइन ।

क्रान्तिको बाटोबाट कदापि नेपालीपनको समाजवादमा झाँगिन सक्ने अमूल्य मानवतावाद सम्भव हुँदैन । ‘मानवतावाद’ नेपालीहरूको आफ्नोपना हो जुन साम्यवादभन्दा निकै बलियो हुन्छ ।

अतः नेपालका लागि समतावाद र समाजवादी मानवतावादको सिद्धान्त मात्रै बढी प्रयोग सान्दर्भिक हुने देखिन्छ ।janadesh.com/from,२१ कार्तिक २०७७

प्रतिकृया दिनुहोस्