विचार

बा त बा हुन्, तरुलको नाश

मंसिर ५, २०७७

श्यामल अधिकारी

देशको भविष्यलाई दुई चार जना नेताको घरमा लगेर थुनिएको छ मैले ४६ सालताकाको दृष्टिको कुनै अङ्कमा प्रसंगवश मेरो गृहजिल्ला दैलेखमा प्रचलित एक लोककथाका आडमा एक लेख लेखेको थिएँ । यो कथा मेरी आमाले उहाँकी आमाबाट र उहाँकी आमाले पनि आफ्नी आमाबाट सुन्नुभएको थियो । अर्को एक कथा मेरा बाले आफ्ना बा अर्थात् मेरा बाजेबाट र बाजेले जिज्युबुवाबाट सुन्नुभएको थियो । लोकविवेकका यस्ता अनगिन्ती कथाहरूले हाम्रो समृद्ध सभ्यता र संस्कृतिको निर्माण गरेका छन् । तिनमा ठाडै केही भनिएको हुन्न, पात्र र परिवेशको सहारामा हामीलाई विवेक दिइएको हुन्छ ।
अहिले सत्तासीन नेकपाभित्रको रडाकोका सन्दर्भमा ती दुईटै कथा सान्दर्भिकजस्ता लाग्छन् । नेकपा माक्र्सवादी पार्टी रह्यो कि रहेन, लामै
बहस गर्न सकिन्छ । कम्तीमा पनि माक्र्सवादीहरू परिस्थितिको ठोस विश्लेषण गर्नमा रुचि राख्छन् । अहिलेको परिस्थितिमा भने ऊ सत्तासीन छ । तर, क्रमशः मनोरोगग्रस्त, कर्तव्यच्यूत, विवेकले नचल्ने, भावुकता र भावावेशमा जे पनि गर्न तम्सने र अन्ततः गहिरो विषादले घेरिएर आफ्नै कन्चटमा गोली दाग्न लागेको सिपाहीजस्तो छ । टाढाबाट यस्तो भद्रगोल अवस्था देखिरहेकाहरू भन्छन्– भावावेशमा उसले कतै कन्चटमा गोली नदागोस् ।
प्रधानमन्त्री ओलीप्रति निकै आक्रामक छन्, उहाँकै कामरेडहरू भन्छन् । उहाँलाई गरिएका गल्तीका लागि त राजावादी, राप्रपा, काँग्रेस, राप्रपा र राजपाले पनि क्षमा दिने छैनन् र तिनका ऐतिहासिक भुलहरूबाट आत्तिएर तिनलाई भ¥याङको फेदैमा रोक्ने महान् नेपाली जनताले पनि अन्ततः क्षमा दिने छैनन् । तर, नगरिएको गल्तीका लागि कदाचित् राम्रा कामका लागि समेत आफ्नै कामरेडहरूले कुनै पनि हालतमा काम गर्न नदिने कसम खाएजस्तो गरी पछि लागेको देखिनु उदेकलाग्दो विषय हो । पद्धति र अनुशासनका कुरामा विश्वास गर्नेहरूका लागि यो कमरेड्ली व्यवहार हुँदै होइन, बर्बर आखेटक व्यवहार हो । प्रधानमन्त्रीका रूपमा ओलीले गरेका तीन महŒवपूर्ण काम हुन् ः पहिलो, भारतको क्षेत्रीय प्रभुत्व अस्वीकार गर्नु र भारतले थोपरेको नाकाबन्दीका बेला नेपालको शिर ठाडो पारेर नेपाली जनभावनाअनुरूप दृढ रूपले उभिएर सामना गर्नु । दोस्रो, राजनीतिक सङ्क्रमणका नाममा खस्कँदै गएको राष्ट्रिय मनोविज्ञानलाई उकासेर जनतालाई केही हुन्न भन्नेबाट केही हुन सक्छ भनी स्वप्नशील बनाउनु र तेस्रो, राजनीतिक अस्थिरताको अन्त्य गरी नेपालीलाई स्थायित्वको सन्देश दिन बहुमत प्राप्त गर्नु । तर, उहाँलाई पार्टीका विधि र पद्धति नमानेको आरोप लगाएर दुई÷चार महिनामै दुई–दुईपटक अपदस्थ गर्ने प्रयास भएको देखिन्छ । सरकार सञ्चालनका विधि, पद्धति संविधानले निर्धारण गरेको हुन्छ र पार्टी सञ्चालनका विधि, पद्धति पार्टी विधानले तय गरेको हुन्छ भन्ने कुरामा बहस गरिरहनुको कुनै अर्थ छैन । विडम्बना त के हो भने, यिनै कामरेडहरूसमेतले बनाएर लागू गरेको संविधान वेस्टमिन्स्टर ढाँचामा छ, कामरेडहरू त्यसमा सि चिनफिङको जस्तो
‘अब्सोलुट’ नेतृत्व खोजिरहेका छन् ।
ओली बहुमतप्राप्त प्रधानमन्त्री हुनुहुन्छ भन्नेसम्मको हेक्का नराख्ने एक तप्का सके उहाँलाई सिंहदरबारबाट घिसारेर त्यहाँ अरू कसैलाई विराजमान गराउन चाहन्छ, नसके उहाँलाई रबरछाप बनाएर भए पनि तुष्टि पूरा गर्न चाहन्छ । अझ उनीहरू यसअघिको कुनै पनि वामपन्थी सरकार आरामदायी बहुमतसाथ सत्तामा थिएन भन्ने कुरालाई तपसिलमा समेत राख्न चाहन्नन् । र, त्यसैले भनिरहेका छन्– अमूक व्यक्ति नभएको भए ओली यसरी सत्तामा आउन पाउने थिएनन् । ती माक्र्सवादको परिस्थितिको ठोस विश्लेषण गर्ने मौलिक अवधारणाबाट उछिट्टिएर तरल र मनोगत धारणा बनाउँदै प्रधानमन्त्रीका अवशिष्ट अधिकारहरूलाई समेत छिन्नुपर्छ भन्ने लाइनमा लागेका छन् । उनीहरूले सोचेजस्तो गरी दुर्घटना त नहोला, कदाचित् भइहाले तिनले स्वयम् यसै नजिरको सिकार हुनुपर्नेछ ।
म सानै हुँदा हाम्री निरक्षर आमाले
‘बा त बा हुन् तरुलको नाश’ भन्ने एक लोककथा सुनाउनुभएको थियो । त्यसले हामीलाई उपयोगितावादी सोच र मानवीय मूल्यको अबहेलनाको परिणामबारे गम्भीरतापूर्वक सोच्न प्रेरित गर्छ ।
गधापच्चिसे छोरा र बुढ्यौलीतिर लाग्दै गरेको उसको बाबु नजिकैको जङ्गलमा वनतरुल खन्न गए । तरुलको लहरो भेट्टाएपछि उत्साहित हुँदै छोरो क्रमशः खन्न थाल्यो । जति भित्र गयो उति बढी ठूला र राम्रा तरुल भेटिन थाले । ऊ खनेकै ठाउँमा तरुल थुपार्दै अझ भित्रभित्र जान थाल्यो। खाल्डो दुईजना मानिस तेर्सिन मिल्नेसम्म भयो । अझै राम्रा र सग्ला तरुल भेटिँदै थिए । यसरी ऊ लोभिएको थियो ।
छोरालाई थकाइ लाग्यो होला भन्ठानेर बाबुले उसलाई बाहिर निकालेर आफूभित्र जाने मनसायले छोरालाई बोलायो । थकाइ लागेको हुनाले ऊ पनि बाहिर निस्क्यो । ‘तरुल अझै धेरै छन् बा, भेटेजति लैजानुपर्छ,’ स्वाँ–स्वाँ र फ्वाँ–फ्वाँ गर्दै उसले बाबुलाई भन्यो । बाबु भित्र पसेर अझ भित्र खन्दै गयो । तरुल अझै भेटिँदै थिए । केही छिनपछि खाडलको माथिको भाग भत्केर उसको बाबुमाथि बज्रियो । ऊ यस्तो दृश्य हेरिरहेको थियो। ‘बा–बा,’ ऊ चिच्यायो । तर यतिन्जेल बाबु निष्प्राण भइसकेको थियो । खाडलबाहिर थुपारिएको थोरै मात्र तरुलतिर करुणामय दृष्टिले हेर्दै उसले सोच्यो, ‘बा त बा हुन्, तरुलको नाश भो ।’ बस्, कथा यत्ति हो । लोकले अकारण कथा बनाउँदैन । त्यतिबेलाको समाजमा बलवती भएकैले हो, हाम्रो समाजमा प्रचलित कथामा यस्तै भष्मासुर नामक पात्रको सिर्जना भएको । अन्धविश्वास नै सही, भूतप्रेतहरू पनि समाजमै बन्ने र ब्युँतने हुन्। तिनको उपचार गर्ने क्षमता पनि समाजले नै राख्छ । माक्र्सवादको आवरणमा झाँगिएको गहिरो अन्धविश्वासको उपचार अहिले गर्न सकिएनभने त्यो दुःखान्तमा जानेछ । मानव जगत्मा सुन्दर सपनाको अन्त्य त हुने छैन, त्यसले अचिन्त्य दुःख भने निम्त्याउनेछ । भावुकताजन्य र कब्जावादी सोचबाट प्रेरित मोडलको पतनडिएन अदित, पोलपोट, खिउ सामफान र गोन्जालोका पार्टीको जस्तो हुन्छ । पुँजीवादी मुलुकका दुष्प्रचारका बाबजुद पनि तिनका सैद्धान्तिक प्रस्थापना व्यवहारतः गलत र आत्मघाती साबित भएका छन् । जनता सङ्गठित हुनुको अर्थ छ, जनमतको अर्थ छ र कुनै पनि बहानामा जनमतको अबहेलना गर्ने दल वा व्यक्ति जनताबाट अस्वीकृत हँुदै जान्छ भन्ने कुरा सबैलाई थाहा छ ।
आज ती देशका कम्युनिस्ट आन्दोलन थला परेका छन्, किनभने ती पार्टी नोकरशाहीको सिकार भए र विश्वासिलो मिजासले जनताका आकाङ्क्षाहरूसँग तिनले आफ्ना कार्यक्रमलाई जोड्न सकेनन् । इन्डोनेसियाको कम्युनिस्ट पार्टी त अझ वैधानिकताप्राप्त सबैभन्दा ठूलो पार्टी भइसकेको थियो । त्यसमा सङ्गठित सदस्यहरूको सङ्ख्या मात्रै पनि २० लाख थियो । त्यत्रो ठूलो सङ्गठित जनमतलाई रचनात्मक कार्यक्रम दिन सकेको भए अमेरिकाको डिजाइनमा सरकारी सेनाले यसरी उठ्नै नसक्नेगरी सिध्याउन सक्ने थिएन । पार्टीभित्र हुर्केको नोकरशाहीले यो वास्तविकता बुझेन र सोभियतहरूको निर्माण र युद्धको रचनामा मात्र ध्यान दियो । फलतः पार्टीकै कतिपयले अमेरिकी दूतावासलाई मुख्य–मुख्य नेताहरूको सूची बनाउन मद्दत गरे । अन्ततः त्यत्रो ठूलो कम्युनिस्ट आन्दोलनको दुखद् पतन भयो । जनमत र कार्यकर्ताहरूका आकाङ्क्षाहरूको व्यवस्थापनभन्दा नेताहरूको अहम्को व्यवस्थापनले प्राथमिकता पाएपछि हुने यही नै हो । मेरा पिताजीले म बालखै छँदा सुनाउनुभएको कथा हो, भटमासको गेडो खोज्दा आफ्नै सर्वनाश । एकजना भेडा गोठालो दुई÷तीन सय भेडाको बथान चराउन जङ्गल गयो । दिनभरि भेडा चराउनुपर्ने हुनाले भोक मेट्न दुई÷चार मुठी भुटेको भटमासलाई गोजीमा राखेर गएको थियो ऊ । भेडाहरूलाई भोक लागेपछि उसले गोजीबाट भटमास निकाल्दै खान थाल्यो । खाँदै गर्दा एउटा गेडो उछिट्टिएर नजिकै कतै झारभित्र खस्यो । उसले झार पल्टाउँदै खोज्यो, फेला परेन । खोज्दै अलि टाढासम्म पनि झार पल्टाइ–पल्टाइ हे¥यो, अझै पनि फेला परेन । उसले भटमासको त्यो गेडो भेटाइछाड्ने विचार ग¥यो । ऊ एकोहोरियो । कसरी पाउन सकिएला भनी सोच्तै गर्दा उसलाई एउटा उपाय सुझ्यो । झारमा आगो लगाएपछि भेटिन्छ भन्ने लागेर उसले झारमा आगो लगायो । आगो विस्तारै सल्कँदै जङ्गलतिर बढ्दै गयो । तर, भटमासको गेडो कसै गरे पनि भेटिएन । आगोले जङ्गल पूरै लपेटेपछि उसका भेडा जलेर नष्ट भए । ऊ भाग्दै–भाग्दै, रुँदै–रुँदै घर फर्कन लाग्दा आगोले उसलाई पनि लपेट्यो । जाबो एउटा भटमासको गेडाका लागि उसको सर्वनाश भयो ।
पार्टीका लाखौँ कार्यकर्तालाई एकताको सन्देशसम्म पनि प्रवाहित गर्न नसकेका नेतागण पार्टीका महŒवपूर्ण बैठकका अनौपचारिक ख्यालठट्टालाई समेत सूचना प्रविधिको चरम दुरुपयोग गर्दै आफ्ना निकटका वा आफूद्वारा प्रायोजित अनलाइनमा पठाइरहेका हुन्छन् । भद्दा गाली, भजन, स्तुति र आलोचनाबीचको भेद समाप्त हुँदै गएको छ । नेताका फ्यान क्लबहरू बनिरहेका छन् । पार्टी संस्कृति कतै दृष्टिगोचर हुँदैन । यस्तो लाग्छ– एक मानसिक महाभारतको मञ्चन भइरहेको छ । यस्तो भद्रगोलमा कर्मचारीतन्त्र अब के हुन्छ भनेर थरीथरीका अनुमान गर्दै हात बाँधेर बसेको छ । नेता रिझाएर आकर्षक पदमा नियुक्ति हातमा पार्नु नै उपल्ला तहका कर्मचारी र पार्टी नेताका वरिपरि घुम्नेहरूको अन्तिम गन्तव्य बनेको छ । तिनले
‘प्रभावशाली’ नेताहरूलाई स्वस्ति गरेर सेवा प्रवाहका कामलाई जनताको पहुँचभन्दा बाहिर पु¥याइरहेका छन् । सरकार र पार्टीका विभिन्न तहमा हुनुपर्ने सार्थक संवादका मञ्चहरू निष्क्रिय बनाइएका छन् र देशको भविष्यलाई दुई÷चारजना नेताको घरमा लगेर थुनिएको छ । यस्तो अवस्थाको सिर्जनाका लागि कुनै एक व्यक्तिलाई जिम्मेवार बनाउनु युक्तिसङ्गत हुँदैन ।
यस्तो परिस्थितिमा पार्टी र सरकार दुवै प्रभावकारी हुनु सम्भव छैन । किनभने यहाँ बाको चिन्ता छैन, तरुलको चिन्ता तरुलभन्दा बढी झाँगिएको देखिएको छ । किनभने यहाँ त्यत्रो जङ्गल र सयौँ भेडाको चिन्ता छैन, हराएकोे एक गेडा भटमास खोज्ने चिन्ता छ । बा र जङ्गलमा चरिरहेका भेडा पार्टी र सरकारका मूल्य प्रणाली हुन्, विधि र पद्धति तरुल र भटमासको गेडो हो । छँदाछँदैको आरामदायी बहुमत गुमाएर गएपछि, पार्टीका उपल्ला प्राधिकारहरूले खोजेको तरुल र भटमासको गेडो पनि तिनका हातमा पर्ने छैन । अहिलेको चिन्ता त निकट विगतको जनादेशलाई सम्मान गर्दै आमजनता र विश्व समुदायलाई स्थायी र प्रभावकारी सरकारको अनुभूति दिलाउनु हो । अहिलेको प्रमुख चिन्ता राजनीतिक अस्थिरताका कारक तŒवको पहिचान गर्दै तिनलाई उठ्नै नसक्ने गरी धुलिसात् गर्नु हो । सरकार फेर्ने होइन, अहिलेको काम त जनतालाई सामाजिक न्यायसहितको अत्यावश्यक सेवा कसरी सुनिश्चित गर्ने हो, त्यसका रणनीतिक उद्देश्य र ती उद्देश्य प्राप्त गर्न सरकारलाई आवश्यक पर्ने सहयोगी संयन्त्र र संसद्मार्फत कानुनी प्रबन्ध उपलब्ध गराउनु हो । तर, त्यसो भएको देखिन्न । पार्टी र सरकारका फरक र विशिष्ट प्रकारका भूमिकाहरूलाई घोलमेल पारेर शक्तिको अभ्यास गर्ने खेल बन्द नगरिए, अबको दुई वर्षपछि राजनीतिक परिदृश्य बदलिन सक्छ । त्यसैले पार्टी विवादको प्रभावकारी व्यवस्थापनका लागि आ–आफ्नो हैसियतको ख्याल गर्नु नै उचित हुनेछ ।
(लेखक राष्ट्रिय समाचार समितिका अध्यक्ष हुनुहुन्छ ।)gorkhapatraonline/from

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button