‘समाचार र विचारको
साझा चौतारी’




आइसोलेसनका कहालिलाग्दा ती दिन


२०७७ मङ्सिर ५
सन् २०१९ डिसेम्बरमा चीनको वुहान सहरबाट देखापरेको कोभिड–१९ ले छोटो समयमा नै विश्वव्यापी रूप लियो। अमेरिका लगायत युरोपेली मुलुकमा व्यापक भएलगत्तै भारत हुँदै नेपालमा पनि यसको प्रभाव बढ्यो।

सुरूवातीका दिनमा यसको नामदेखि नै अत्तालिएका हामीबीच करिब ५–६ महिनापछि मात्र द्रुतगतिमा संक्रमण फैलिन गयो भने त्यसको वास्तविक अनुभव मैले १० महिनापछि मात्र संक्रमित भएर गरेँ।

सुरुवाती दिनहरू जति कहालीलाग्दा थिए, विश्वभरका सबै सञ्चार माध्यम कोरोनामा केन्द्रीकृत थिए। सामाजिक सञ्जालभर त्यसैको चर्चा–परिचर्चा थियो, नयाँ–नयाँ शब्द र तरिकाहरूको प्रयोग, लकडाउन, क्वारेन्टाइन र आइसोलेसन सेन्टरको स्थापना आदिमा देशभरका सरकारी एवं गैरसरकारी संघसंस्था केन्द्रित थिए र यसको प्रयोग गाउँबस्तीका कुनाकुनासम्म भयो।

मलाई लाग्छ, यसको मापदण्ड बुझाइ र प्रयोग ठाउँ अनुसार भिन्नभिन्न रूपले गरियो। जेहोस, क्वारेन्टाइन र आइसोलेसनको निर्माण र प्रयोग पद्धति हामी सबैका लागि नौलो नै थियो। देवदह नगरपालिकाद्वारा स्थापना गरिएको ‘एकीकृत कोरोना राहत कोष’ मा नगद तथा जिन्सी संकलन भइरहेको थियो भने सुरूमा सुविधासम्पन्न क्वारेन्टाइन पनि निर्माण गरिसकिएको थियो।

विश्व लकडाउनको अवस्थामा रहँदा हाम्रा टोल–छिमेकमा पनि कडाइका साथ त्यसको पालना भयो। अफिस जाँदा करिब ५–६ ठाउँमा कतै प्रहरीले त कतै टोलबासीले चेकजाँच गरेर मात्र ओहोर–दोहोर गर्न दिए। कुनै ठाउँमा कहिलेकाहीँ, ‘तपाईँ जहाँको कर्मचारी हो त्यतै बस्ने गर्नूस्’ भनेर हप्काउँथे त कहिलेकाहीँ कुनैले स्वास्थ्यकर्मी हुनुहुँदोरहेछ भनेर सहानुभूति पनि दिने गर्दथे। सिङ्गो समुदायले नै सजगता अपनाएको थियो। फेरि स्वास–प्रश्वास माध्यमबाट सर्ने र निर्जीव वस्तुमा पनि लामो समय रहने गुण यो भाइरसमा भएकाले नडराउने कुरै भएन। दिनैपिच्छे तथ्यांकमा आज कोरोना संक्रमित हेर्दाहेर्दै विश्वमा पाँच करोड र मृत्युको संख्याले १२ लाख पार ग¥यो तर हाम्रो दिनचर्या भने सदाजस्तै दैनिक सेवामा समर्पित थियो।

हामी दुवै जना श्रीमान–श्रीमती अहेव भएकाले छुट्टाछुट्टै पालिकाको स्वास्थ्य संस्थाको क्वारेन्टाइन र कहिले आइसोलेसन सेन्टरमा ड्युटी चलिरहेको थियो। घरमा साना बाबुहरू (ठूलो १० वर्ष र सानो ३० महिनाको) लाई दिनभर एक्लै कोठामा छाडेर ड्युटीमा जान्थ्यौँ। विद्यालय बन्द रहेको अवस्थामा ठूलो बाबुलाई घरको पूर्ण जिम्मेवारीसँगै भाइको रेखदेख गर्न लगाई छाडेर जान्थ्यौं भने रातको समयमा अल्टरनेट ड्युटी सिफ्ट मिलायर गर्ने ग¥यौं। दिनभर आफू ड्युटीमा भए पनि मन चाहिँ घरमा नै हुने गर्दथ्यो। समयमा खाना खाए कि खाएनन्, कुनै दुर्घटनामा पर्छन् कि? त्यो भन्दा आफू कोरोनाको उच्च जोखिम ठाउँमा काम गर्ने हुँदा कतै संक्रमण भई घरका निर्दोष बालबालिकालाई पो सार्ने हौँ कि? आफ्नोभन्दा बालबालिकाको स्वास्थ्यका बारेमा चिन्ता हुने गर्दथ्यो।

यस्तै मानसिक तनावको बीचमा उपलब्ध सुरक्षा सामग्रीको प्रयोग गरी सेवामा सक्रिय रहेर आफ्नो कर्तव्य पूरा गरिरहेका थियौँ। स्वास्थ्य क्षेत्रमा रहेर सेवा गर्न थालेको पनि १२ वर्ष पुग्दा आफ्नो कार्य अवधिमा सिकेका स्वास्थ्य सुरक्षाका उपाय त्यसको प्रयोग र व्यवहारमा आमुल परिवर्तन भइसकेको थियो दिनभरमा करिब २०–२५ पटक साबुनपानीले हात धुनेदेखि मास्क, सेनिटाइजर, ग्लोभ्स लगायत आवश्यक परेमा पिपिईको प्रयोग लगायत सुरक्षाका सामग्रीको भरपूर प्रयोग गरिरहेका थियौँ।

समुदायमा द्रुतगतिमा संक्रमण फैलिएको थियो। हामी पनि मानसिक रूपमा तयार नै थियौँ, कोरोना एक दिन अवश्य नै लाग्छ, कोरोना सँगसँगै बाँच्न सक्नुपर्छ भन्ने तर्क गरिरहेका थियौँ। नभन्दै हामीले अपनाएको सुरक्षालाई पार गर्दै कोभिड–१९ पोजेटिभ भएर नै छाड्यो। पर्खिरहेको त्यो दिनको अनुभूति भयो।

ड्युटी सकिएर घर फर्केको केही समयपछि शारीरिक रूपमा अलि अस्वस्थ अनुभव गरेँ। सामान्य टाउको दुख्यो, शरीर पनि दुखेको थियो, मन्द ज्वरो आएको अनुभव गरेँ तर पनि नुहाएर अफिसको ड्रेस चेन्ज गरेर बसें। बेलुकाको खाना खाएर सुतेको राति अलि बढी नै टाउको दुख्यो र बान्ता पनि भयो। तापक्रम पनि १०१ डिग्री फरेनहाइट थियो। चिसोले भेट्यो भन्ने लाग्यो अनि परासिटमोल खाएर त्यो रात गुजारेँ।

भोलिपल्ट सामान्य खोकीसँगै छाती दुख्यो। त्यसपछि मैले चिकित्सकको सल्लाहबिनै एन्टिबायोटिक खाने निणर्य गरें र तीन दिनसम्म खाइरहें। चौथो दिनमा अफिसबाट, पिसिआरको लागि आउन सक्नुहुन्छ भन्दै युवराज सरको फोन आयो। त्यसपछि पिसिआर टेस्टको लागि स्वाब दिएर फर्किएँ।

त्यतिन्जेलसम्म मलाई ज्वरो आउन छोडिसकेको थियो। टाउको र छाती दुख्न पनि कम भएको थियो। बेलाबेलामा नाक थुनिने र टाउको तातेको जस्तो अनुभव हुन्थ्यो। मैले खाएको औषधिलाई पाँच दिनसम्म निरन्तरता दिएँ। घरेलु जडिबुटी गुर्जो, बेसारपानी, मह, ज्वानोपानी मरिच, टिमुर, अदुवा, लसुन, कागती, बोजो र पटकपटक तातोपानी खाइरहेको थिएँ। सादा पानीको बाफ लिँदा धेरै हदसम्म ठिक हुने गर्दथ्यो।

मैले सामान्य महसुस गरिरहेको थिएँ। त्यतिकैमा छैटौं दिन पिसिआर रिपोर्ट पोजेटिभ आयो। त्यसपछि मेरो मानसपटलमा हलचल भयो। रोग त ठिक हुँदै गएको छ तर परिवार र समुदायको लागि त आइसुलेट हुनैप¥यो! मैले केही सोच्न सकिनँ। नास्ता खाने समय थियो, सबै स्टाफ साथीहरुले सान्त्वना दिनुभयो। त्यसै क्रममा देवदह नपा स्वास्थ्य संयोजकको फोन आयो। सान्त्वना दिँदै, बसाईको व्यव्स्थापन कसरी गर्ने? हाम्रो आइसोलेसन सेन्टरको एउटा कोठामा बसे हुन्छ, खान, बस्नको राम्रो प्रबन्ध छ भन्नुभयो।

मलाई कोरोना भएको सियारी गापा संयोजकले पनि थाहा पाउनु भएछ र फोन गर्नुभयो। उहाँ लगायत म्याडमलाई पनि कोरोना पोजेटिभ भएको थियो, म्याडमलाई अलि गाह्रो भए पनि आफूलाई सामान्य रहेको उहाँले सुनाउनुभयो। उहाँले मलाई सियारीकै आइसोलेसनमा बस्न सुझाव दिनुभयो।

मेरो बसाइ पश्चिम अमुवा स्वास्थ्य चौकीको क्वाटरमा थियो, जुन म्याडमको काम गर्ने संस्था हो र मैले पनि परिवार र प. अमुवा स्वास्थ्य चौकी प्रमुखसँग सल्लाह गरी प. अमुवा स्वास्थ्य चौकीमा रहेको आइसोलेसनमा बस्ने निर्णय गरेँ। त्यो रात आइसोलेसन बेडमा रहँदा, जसको निमित्त तयार पारिएको बेडमा आफू सुत्नु पर्दाको अनुभवः

ग्राउन्ड फ्लोर र पर्याप्त भन्टिलेसनको अभाव। एकातर्फको बेडमा सुत्नको लागि मिलाएर बसेँ। म एक्लै थिएँ। त्यस क्रममा अनेकौँ कुराहरु मनमा खेलिरहेका थिए। त्यसै क्रममा ठूलोबाबुले थाहा पाएछ र फोन गरेर भन्यो– बाबा! कत्ति नराम्रो खबर सुनें, के तपार्इंलाई कोरोना लागेको साँचो हो! सान्त्वना दिँदै नआत्तिन आग्रह गरें तर नरमाइलो लाग्यो। मलाई शारीरिक रूपमा त्यति बिघ्न समस्या थिएन तर मैले क्वारेन्टाइन स्थापनाको सुरूको रात र त्यहाँ लिएको पहिलो व्यक्ति भाइ रविलाई सम्झिरहेँ।

साँझको करिब ६ बजेको थियो, एक जना व्यक्ति भारतबाट घरमा आएका छन्, तिनलाई क्वारेन्टाइन लैजानु प¥यो भन्ने स्थानीयको माग बमोजिम उनलाई देवदह नगरपालिका स्वास्थ्य संयोजक सरको टिमले लिएर आउनु भएको थियो। हेल्प डेस्कमा लिएर उनको हिस्ट्री फेरि एक पटक सोधियो। त्यसबखत उनको एक मात्र प्रश्न थियो, मेरो कोरोनाको जाँच कहिले हुन्छ?

तर, हामीले, यहाँ आइसकेपछि न्यूनतम १४ दिन निगरानीमा बस्नुपर्ने र त्यसपछि मात्र जाँच हुन्छ भनेर बुझायौं र उनको हिस्ट्री रेकर्ड गरी क्वारेन्टाइन बस्दा पालना गर्नुपर्ने नियम र सर्तहरू बारेमा जानकारी गराई मन्जुरी नामामा हस्ताक्षर गर्न लगाई कोठामा प्रवेश गरायौँ र हामी अफिस कोठामा आयौँ। प्रत्येक कोठामा सिसिटिभी क्यामेरा जडान गरेको कारण निगरानीमा राख्न सजिलो थियो। तर उनी विल्कुलै उदास र आफू छिन्नभिन्न भएको जस्तो देखिन्थे र चाहन्थे, छिटो जाँच गरी घरमा पठाइदिए हुन्थ्यो।

खाना खाइसकेपछि सबैको ध्यान उनीमाथि थियो। उनले छोएको फाइल र कलम पनि छुन हामीलाई डर लागिरहेको थियो। रातको १० बज्यो उनलाई निगरानी गरिरहेका थियौँ। उनी भने कहिले झ्यालबाट त कहिले ढोकाबाट बाहिर हेरिरहेका थिए। कहिले फ्यान त कहिले भित्तातर्फ टोलाउँथे। ११ बज्यो उनी सुतेनन्, हामी पनि ड्युटीमा बसेकाले सुत्ने कुरै भएन।

त्यसपछि ११M३० तिर स्वास्थ्य संयोजकको फोन आयो। उहाँले पनि सिसिटिभी क्यामेरा जाँच गरिराख्नुभएको रहेछ। धेरै छट्पटी मानेको र असामान्य जस्तो देखिएकोले मध्यरातमा कतै जालान् अथवा कुनै घटना होला भनी सजग बनाउनु भयो। त्यसपछि १२ बजेतिर हामीले फोन ग¥यौं। कुरा गर्न खोज्यौं तर फेरि पनि उनले खुलेर कुरा गरेनन्। ‘यो आफ्नो सामाजिक दायित्व हो, पूरा गरेर समुदायलाई जवाफ दिनुपर्छ, नआत्तिनूस्, नडराउनूस् हामी नजिकैको कोठामा छौँ’ भन्यौँ तर उनले धेरै कुरा गर्न खोजेनन्, हुन्छ भनेर फोन राखे।

घरको एक्लो छोरो। आमा मात्र रहेको, बुबाको मृत्यु भइसकेको बताएका थिए। आमासँग पुलपुलिएकाले कतै मानसिक बिचल्लीमा परेर समस्या निम्त्याउँछन् कि भन्ने डर लाग्यो। सुत्ने, उठ्ने, बाहिर–भित्र गर्ने, फोन गर्ने व्यवहार नछाडेकले उनलाई फेरि सजग बनाई बाहिरबाट ढोका लगाई दियौँ र कुनै समस्या भएमा फोन गर्न भनी हामी पनि सुतेको कुरा मानसपटलमा नाचिरह्यो।

उनको त्यो असामान्य रात जसै मेरो पनि छट्पटीमा बित्यो। घरका बालबालिका लगायत श्रीमतीको पनि कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्‍यो भने के हुने हो? रिपोर्ट के आउने हो? अहिलेसम्म त ठिकै छ, समस्या बढेमा कसरी परिवारको म्यानेज गर्ने? नजिक आफन्त छैनन्, फेरि यस्तो अवस्थामा आफन्त र छिमेकी पनि हिचकिच्याउलान् आदि। यतिकैमा रात बित्यो।

भोलि पल्ट श्रीमतीको पिसिआर टेस्टका लागि स्वाब दियौँ तर बिडम्वना उनको पनि रिपोर्ट पोजेटिभ आयो। परिवारमा अब फेरि अर्को समस्या थपियो। १० वर्षको बच्चा जसले पूर्ण रूपले खाना बनाएर खान सक्दैन, एक्लै रातमा पनि बस्न सक्दैन, सानो बाबुले पनि आजसम्म आमाबाबुलाई रातमा छोडेको छैन, अरूसँग मान्ने र बस्ने अवस्था रहेन। फेरि कोरोना लागेका आमाबाबुका बालबालिकालाई नजिक आएर हेरचाह त टाढाको कुरा, सौच गर्न त डराउँछन्।

अब पिसिआर टेस्ट गराउँ त रिपोर्ट आउन समय लाग्छ। पोजेटिभ आए त सँगै बस्ने, नेगेटिभ आएमा अलग राख्दा चिसो बढेको छ, खान र बस्नको राम्रो प्रबन्ध नभएमा यसै बिरामी पर्ने सम्भावना छ। फेरि बिरामी परेमा हस्पिटल कसले लैजाने? यस किसिमका अनेकौँ समस्या आउन सक्छन्। त्योभन्दा परिवार नै आइसोलेट हुने, हाम्रो नजरमा बाबुहरू नेगेटिभ तर हामी पोजेटिभ र समुदायको लागि परिवार नै पोजेटिभ रहेको व्यवहार अपनाएर बस्ने निर्णय गरी त्यसै अनुरूप व्यवस्थापन गरियो।

मेरो अनुभवमा समुदायमा कोरोना ३ प्रकृतिका छन। १. कुनै लक्षण नै नभएको २. सामान्य लक्षण सहितको र ३. जटिल। जटिल प्रकृतिकोमा दीर्घरोगी र कमजोर प्रतिरक्षा शक्ति भएका व्यक्ति छन् जसका लागि कोरोना अभिशाप नै बन्न सक्छ तर अन्यका लागि यो सामान्य नै रहेको छ। जुन समुदायमा धेरै मात्रामा छन् निदान हुन सकेको छैन। सामान्य परिवारले अलिअलि लक्षण देखा परे पनि जाँच गरेका छैनन्। तर यो रोगप्रतिको सामाजिक दृष्टिकोणमा भने व्यापक परिवर्तन आउन जरूरी छ र सामाजिक सञ्जाल र सञ्चार माध्यममा पनि सकारात्मक सन्देशको भूमिका ठूलो छ।

कोरोनालेभन्दा सामाजिक व्यवहारले धेरै तर्साइरहेको छ। समाजको डरले गर्दा मानसिक रूपमा बिछिप्त भएको व्यक्तिलाई कोरोना संक्रमणले प्रतिरक्षा शक्ति कमजोर भएको अवस्थामा अन्य स्वास्थ्य सम्बन्धी समस्या थपिँदै जान्छन् र त्यो समयमा पोषिलो खाना र उचित शारीरिक व्यायामको अभावले बिरामी थलिँदै जाँदो रहेछ। जसले गर्दा बिरामीको अवस्था जटिल हुन जान्छ। त्यसैले परिवारको पूर्ण रेखदेख, साथीभाइको सहानुभुति तथा सकारात्मक सोचले आत्मबल बढ्न जान्छ।

यो रोगको आजसम्म कुनै औषधि नबनेको र आत्मबललाई उच्च बनाई सन्तुलित आहार, समय तालिका अनुसार खानपिन र शारीरिक व्यायाम गरी रोग प्रतिरोधी क्षमता बढाउने काम गर्नु नै वैकल्पिक उपचार हो, मेरो अनुभवमा।

(कुँवर रुपन्देहीस्थित देवदह स्वास्थ्य चौकीका अहेब हुन्।)swsthyakhabarpatrika/from

प्रतिकृया दिनुहोस्