‘समाचार र विचारको
साझा चौतारी’




सरकारले फिल्म छायांकनमा अवरोध गरेको छैन : बोर्ड अध्यक्ष दाहाल


फिल्मीखबर, काठमाडौं, 2020/11/21
कोरोना भाइरसको महामारी रोक्न सरकारले चैत पहिलो साताबाट देशभर लकडाउन घोषणा गर्‍यो । यसपछि नेपालका हरेक क्षेत्र बन्द भए । फिल्म क्षेत्र भने लकडाउन हुनुभन्दा अगावैदेखि बन्द भएको थियो । लकडाउन अन्त्य र निषेधाज्ञा खुकुलो भएपछि सरकारले विभिन्न क्षेत्रलाई सञ्चालनको अनुमति दिएको छ । तर, फिल्म क्षेत्रमा लगाइएको प्रतिबन्ध अझै फुकुवा भएको छैन ।

सरकारले भीडभाड हुने अन्य क्षेत्र खुल्ला गरेर फिल्म क्षेत्रमा प्रतिबन्ध कायमै राखेपछि फिल्मकर्मीहरु आक्रोशित भएका छन् । आठ महिनाभन्दा लामो समयदेखि सिनेमा हल, फिल्म निर्माण र प्रदर्शन ठप्प हुँदा हजारौं फिल्मकर्मीलाई समस्या परेको छ । प्राविधिकहरुलाई आर्थिक संकट उत्पन्न भएको छ । तर, सरकारले फिल्म क्षेत्रका समस्यालाई नजरअन्दाज गरेको देखिन्छ ।

हल सञ्चालकहरु सरकारले सिनेमा हल सञ्चालनको अनुमति दिने आशमा बसेका छन् । उनीहरु स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर हलमा ५० प्रतिशत दर्शक राखेर फिल्म प्रदर्शन गर्न तयार छन् । तर, सरकारले सिनेमा हल खोल्न आनाकानी गरेको अवस्था छ । दशैंदेखि फिल्मको छायांकन भने भइरहेका छन् । यसले फिल्म क्षेत्रमा केही हदसम्म चहलपहल सुरु भएको छ ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले एकपछि अर्को फिल्मको घोषणा भएर छायांकन सुरु हुन थालेकोमा खुसी व्यक्त गरेका छन् । अब फिल्म क्षेत्र विस्तारै उठ्न थालेको उनको भनाई छ । सरकारले चाँडै फिल्म क्षेत्रलाई सञ्चालनको अनुमति दिने विश्वास व्यक्त गर्दै उनले सरकारले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर फिल्मको छायांकन गर्न आग्रह गरेका छन् ।

सानो टिमका लागि सरकारले फिल्म छायांकनमा अवरोध नगरेको उनले बताए । शनिवार एक कार्यक्रममा दाहालले भने- ‘मैले सरकारका मन्त्रीहरु र सम्बन्धित क्षेत्रका व्यक्तिसँग पनि फिल्म क्षेत्र सुचारु गर्न आग्रह गरिरहेको छु । फिल्म क्षेत्रका गतिविधि ठप्प हुँदा दैनिक श्रम गरेर जीवनयापन गर्ने फिल्मकर्मीलाई समस्या भएको छ । त्यसैले फिल्म क्षेत्र खुलाउनु पर्छ भन्ने मेरो मान्यता हो ।’

‘मैले दुई महिना अगाडिदेखि सरकारसँग चाँडोभन्दा चाँडो सिनेमा हल र फिल्म छायांकनको अनुमति दिन माग गरिरहेको छु । कोरोनाले श्रमजीवि फिल्मकर्मीको पहिचान नै मेटिने अवस्था आयो भनेर मैले सञ्चार मन्त्रालयलाई पत्रचार गरेको थिएँ । सञ्चार मन्त्रालयले पनि सिसिएमसीलाई सिनेमा हल र फिल्म छायांकन खोल्न स्वीकृति दिनु भनेर प्रस्ताव पठाइसकेको छ,’ उनले भने ।

फिल्मको छायांकन गर्नुअघि स्थानीय वडा र नगरपालिकासँग सम्वन्य गर्न उनले निर्माता तथा निर्देशकलाई सुझाव दिएका छन् । सरकारले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर काम सुचारु गर्नुपर्ने उनको भनाई छ । कुनै व्यक्ति विशेष वा राजनीति दलको दबाबले फिल्म क्षेत्रका गतिविधि नरोकिएको बताउँदै उनले कोरोनालाई सामान्य रुपमा नलिन पनि आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस्