‘समाचार र विचारको
साझा चौतारी’




‘डिसेम्बर फल्स’ मा आर्यन र सलोन


फिल्मीखबर, काठमाडौं, 2020/11/21

चकलेटी अभिनेताको रुपमा परिचित आर्यन सिग्देल लामो समयपछि नयाँ फिल्ममा आबद्ध भएका छन् । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘चच हुईं’ पछि नयाँ फिल्म साइन नगरेका उनले प्रविण झाको निर्देशनमा बन्न लागेको लभस्टोरी थ्रिलर फिल्म ‘डिसेम्बर फल्स’ मा अभिनय गर्ने भएका छन् । शनिवार यो फिल्मको राजधानीमा एक कार्यक्रमका बीच घोषणा गरिएको छ ।

२०७८ साउन १ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्मको अभिनेत्रीको टुंगो लागेपछि छायांकन सुरु हुनेछ । आर्यनको अपोजिटका लागि अहिले एक अभिनेत्रीसँग कुराकानी भइरहेको फिल्मका कार्यकारी निर्माता लक्ष्मण रिजालले जानकारी दिए । फिल्ममा सलोन बस्नेत, सुमन थापा, नगेन्द्र रिजाल, दयाराम दाहाल, नरेश भट्टराईलगायतका कलाकारहरुको अभिनय रहनेछ ।

राम प्रसाद रिजालको प्रस्तुतीमा निर्माण हुने फिल्मको निर्मातामा राज कुमार भट्ट छन् । केदार भुषालको पटकथा तथा संवाद रहेको फिल्मलाई रवि नाइडुले खिच्नेछन् । उनले थुप्रै दक्षिण भारतीय फिल्म र हिन्दी फिल्मको छायांकन गरिसकेका छन् । उनी हिन्दी सिरियल ‘नागिन’ का पनि छायाँकार हुन् । भारतमा बस्ने भएकाले नाइडु र निर्देशक झा कार्यक्रममा उपस्थिति हुन सकेनन् ।

आर्यन सिग्देलले ‘डिसेम्बर फल्स’ मा दर्शकले आफूलाई भिन्न रुपमा देख्न पाउने बताए । यो फिल्म गर्न आफूलाई स्क्रिप्टले आकर्षित गरेको उनको भनाई छ । अर्का अभिनेता सलोन बस्नेतले फेरि आर्यन सिग्देलसँग काम गर्ने अवसर जुटेकोमा खुसी व्यक्त गरे । फिल्मलाई शुभकामना दिन उक्त कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल उपस्थिति भएका थिए ।

प्रतिकृया दिनुहोस्