‘समाचार र विचारको
साझा चौतारी’






कोरोनाविरुद्ध जनचेतना जनप्रतिनिधि घरघर पुग्न जरुरी


मंसिर ७, २०७७

काठमाडौँ। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना भाइरस (कोभिड–१९) महामारी नियन्त्रणका लागि जनप्रतिनिधिको भूमिका महìवपूर्ण हुने बताउनुहुँदै सचेतना फैलाउन जनप्रतिनिधि घरघरमा पुग्नुपर्ने बताउनुभएको छ ।
काठमाडौँमा शनिबार आयोजित ‘कोरोना महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरूको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले कोरोना नियन्त्रणका लागि स्वास्थ्यकर्मीले मात्र नभई जनप्रतिनिधिले आफ्ना मतदातालाई सचेत गराउनुपर्ने बताउनुभएको हो ।
कोरोना महामारीको हालसम्म कुनै उपचार नरहेकाले नियन्त्रणका लागि सबै नागरिक स्वास्थ्य अनुशासनमा बस्नुपर्ने उहाँले बताउनुभयो । जनताले आफ्ना प्रतिनिधिलाई बढी विश्वास गर्छन्, बागमती प्रदेशका सांसदहरू सहभागी कार्यक्रममा उहाँले भन्नुभयो, ‘‘आफ्ना मतदातालाई स्वास्थ्य अनुशासनमा राख्न तथा स्वास्थ्य मापदण्ड पालना गराउने दायित्व सरकारको मात्र नभई तपाईं हामी सबैको हो ।’’
कोरोना महामारी सुरु हुँदा र अहिले लाखौँको सङ्ख्यामा पुग्दा एउटै धारणा वा तयारीले नपुग्ने भन्दै उहाँले परिस्थिति अनुसार सरकारले योजना बनाउनुपर्ने बताउनुभयो । त्यसैगरी जनप्रतिनिधिले विश्व स्वास्थ्य सङ्गठनले जारी गरेको मापदण्ड तथा सरकारको निर्देशनलाई कार्यान्वयनमा साथ दिनुपर्ने सुझाव दिनुभयो ।
कोरोना सुरु हुँदा सरकारले गरेको बन्दाबन्दी पालना गराउन हामीले आफ्ना जनतालाई घरमै बस्ने आग्रह ग¥यौँ, उहाँले भन्नुभयो, ‘‘अहिले सङ्क्रमण लाखौँमा पुगिसकेको छ, उपचार नभएको अवस्थामा जनप्रतिनिधिले भोट माग्न पुगेजस्तै घरघरमा जनचेतना फैलाउन पुग्न जरुरी छ ।’
महामारी नियन्त्रणसम्बन्धी सचेतना फैलाउन राजनीतिक दलले आफ्ना सङ्गठनलाई गाउँगाउँमा परिचालित गर्नुपर्ने अध्यक्ष तिमिल्सिनाले बताउनुभयो । आपत् परेका बेला हामी जनतामा पुगेर आफ्नो भूमिकालाई प्रभावकारी बनाउन सक्छौँ भन्दै उहाँले थप्नुभयो, ‘‘राजनीतिक दलसँगै नागरिक समाज र निजी क्षेत्रले पनि महामारी नियन्त्रणका लागि सकारात्मक सहयोग गर्न सक्नुपर्छ ।’’
कोरोना विकसित मुलुकमा समेत भयावह भइरहेको बताउँदै अध्यक्ष तिमिल्सिनाले पैसाले नभई स्वास्थ्य मापदण्डको पालना गर्दा कोरोना नियन्त्रण हुने बताउनुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोरोना नियन्त्रणका लागि सरकारले अधिकतम प्रयास गरिरहेको बताउनुभयो । कोरोना नियन्त्रणका लागि सरकार र स्वास्थ्यकर्मीसँगै सांसद, स्थानीय जनप्रतिनिधि र जनताको

भूमिका जरुरी हुने उहाँले बताउनुभयो ।सरकारले सुरुमा जनसङ्ख्याको दुई प्रतिशतको कोरोना परीक्षण गर्ने लक्ष्य लिएको थियो, मन्त्री ढकालले भन्नुभयो, ‘‘नेपालमा हालसम्म १६ लाख ५० हजारको कोरोना परीक्षण भइसकेको छ । अहिलेको अवस्थालाई हेर्दा करिब दुई प्रतिशत नेपाली सङ्क्रमित हुनसक्ने अनुमान गरेर सरकारले तयारी गरिरहेको छ ।’’ उहाँले सङ्घ, प्रदेशस्तरीय अस्पतालको स्तरोन्नति र सबै स्थानीय तहमा अस्पताल निर्माणको काम अगाडि बढाएको जानकारी दिनुभयो ।
कार्यक्रममा विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)का स्वास्थ्यविज्ञ डा. विनोदप्रसाद गुप्ताले कोभिड–१९ पछाडिको विज्ञानबारे कोरोना सङ्क्रमणबारे चर्चा गर्नुभयो  । त्यसैगरी स्वास्थ्य सङ्गठनका रणनीतिक, जोखिम तथा सङ्कट सञ्चारविज्ञ डा. सुनुर वर्माले कोरोना जोखिम सञ्चार तथा समुदायको संलग्नताको महìवबारे जनमानसमा बुझाउनु आवश्यक रहेको बताउनुभयो । उहाँले सही सूचना नै कोरोनाविरुद्ध लड्ने हतियार हो भन्नुभयो ।
डब्लूएचओका विज्ञहरूले सरकारले बिरामीको परीक्षण, आइसोलेसन व्यवस्थापन, उपचार तथा सम्पर्कमा आएका व्यक्तिको खोजतलास, क्वारेन्टाइनको व्यवस्थापन गर्न र जनतालाई सूचित गर्नुपर्ने सुझाव दिनुभयो । सबै व्यक्तिको दायित्वका रूपमा भौतिक दूरी कामय गर्ने, मास्कको उचित प्रयोग गर्ने र बेला बेलामा साबुनपानीले हात धुने वा सेनिटाइजर प्रयोग गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाको वर्तमान अवस्था र सरकारले गरिरहेको तयारीबारे जानकारी गराउनुभएको थियो ।गोरखापत्र अनलाइन

प्रतिकृया दिनुहोस्