खेलकुद

दश वर्षपछि एटलेटिकोले बार्सिलोनालाई हरायो

मंसिर ७, २०७७

एजेन्सी – एटलेटिको म्याड्रिडले स्पेनिस ला लिगामा अपराजित यात्रा कायम राख्दै १० वर्षपछि लिगमा बार्सिलोनालाई पराजित गरेको छ ।

घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा एटलेटिकोले १-० को जित दर्ता गर्दा यानिक फरेर करास्को जितको नायक बने । उनले पहिलो हाफको इन्ज्युरी समयमा गोलरक्षक मार्क आन्दर टेर स्टेगनको गल्तिको फाइदा उठाउँदै गोल गरेका थिए । सन् २०१० पछि एटलेटिकोले पहिलो पटक बार्सिलोनालाई हराउँदा डिएगो सिमिओनीले पहिलो पटक बार्सिलोनालाई पराजित गरेका हुन् ।

खेलको चौथो मिनेटमा नै बार्सिलोनाले अग्रता लिने अवसर गुमायो । ओस्मान डेम्बेलेको पासमा एन्टोइन ग्रिजमनको प्रहार पोस्टभन्दा माथि गएको थियो । लगत्तै अर्कोतर्फ साउल निगुएजले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई बार्सिलोनाका गोलरक्षक मार्क आन्दर टेर स्टेगनले विफल पार्दै खेल गोलरहित राखे ।

दशौं मिनेटमा एन्जल कोर्रियाको पासमा मार्कोस लोरेन्टेको प्रहार क्रसबारमा लागेर बहिरिंदा एटलेटिको अग्रता लिनबाट चुकेको थियो । त्यसअघि कोर्रियाकै क्रसलाई पिकेले गोलपोस्ट अगाडी क्लियर गर्दै खतरा टारेका थिए । १३ औं मिनेटमा लिओनेल मेस्सीको चिप प्रहार पोस्टभन्दा थोरैले बाहिरिंदा खेल बराबरीमा नै रहयो ।

४० औं मिनेटमा बार्सिलोनाका कप्तान मेस्सीले अग्रता दिलाउने अर्को अवसर चुकाए । जोर्डी अल्बाले डिफेन्स लाइनलाई बिट गर्दै निकालेको पासमा मेस्सीले वन भर्सेस वनमा फितलो प्रहार गरेपछि गोलरक्षक जान ओब्लाकले सहज बचाउ गरे ।

पहिलो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा यानिक फरेरा करास्कोले गोल गर्दै एटलेटिकोलाई अग्रता दिलाए । काउन्टर अट्याकमा अघि बढेको एटलेटिकोका लागि करास्कोले झन्डै ४० यार्ड टाढाबाट खाली पोस्टमा गोल गरे । एन्जल कोर्रियाले मिडफिल्डबाट डिफेन्सलाई बिट गरेर दिएको पास लिन निकै अघि बढेका गोलरक्षक टेर स्टेगनलाई करास्कोले नटमेग गरेपछि खाली पोस्टमा गोल गरेका थिए ।

दोस्रो हाफको ५७ औं मिनेटमा बार्सिलोनाले खेल बराबरी गर्ने अवसर गुमायो । मेस्सीको क्रसमा पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेका क्लेमेन्ट लेङलेटले हेडर प्रहार सिधै गोलरक्षक ओब्लाकको हातमा दिए । ६९ औं मिनेटमा फेलिक्सले लामो दुरीबाट गरेको परार पोस्टसम्म पुग्न सकेन ।

७२ औं मिनेटमा करास्कोले पेनाल्टी क्षेत्रको दायाँ तिरबाट गरेको प्रहार बाहिरियो । ८० औं मिनेटमा मेस्सीले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको फ्रिकिक वालमा लाग्दै बाहिरियो । त्यसको एक मिनेटपछि नै मेस्सीको क्रसमा ग्रिजमनको हेडर गोलरक्षकले डाइभ दिँदै बचाए ।

८९ औं मिनेटमा सर्जी रोबर्टोको प्रहार एटलेटिकोका डिफेन्डरलाई लाग्दै बाहिरियो । उक्त प्रहार गर्ने क्रममा चोट बोकेपछि रोबर्टोले मैदान छाडेका थिए । त्यसअघि खेलको ६२ औं मिनेटमा चोटका कारण डिफेन्डर जेरार्ड पिके पनि बाहिरिएका थिए ।

यस जितसँगै एटलेटिकोले शीर्षस्थानको रियल सोसिडाडसँग अंक बराबर गरेको छ । एटलेटिकोले ८ खेलमा २० अंक जोड्दा सोसिडाडले एक खेल बढी खेलेको छ । बार्सिलोना भने ८ खेलमा ११ अंकसहित अंक तालिकाको दशौं स्थानमा छ ।hamrokhelkud/from

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button