‘समाचार र विचारको
साझा चौतारी’




नेकपाको विवाद : परालको आगो


११ मंसिर २०७७

कृष्ण प्रजापति

लोग्ने–स्वास्नीको झगडा परालको आगो भन्ने नेपाली उखान प्रचलित उखान हो । आज नेकपाभित्र पनि आफ्नै पार्टीभित्रका नेताहरुबीच लोग्ने–स्वास्नीको झगडाजस्तै गरी विभिन्न खालका झीना–मसिना कुरामा पनि झगडा भइरहेका छन् । कहिले पार्टी फुटाउन खोज्यो भनी झगडा त कहिले पदलाई आफूखुशी चाल्न नपाएको कुरामा झगडा । कहिलेकाहीँ फेरि आफूलाई मन्त्री पदबाट हटाएको विषयलाई लिएर झगडा । आफू पदमा रहुन्जेल जस्तोसुकै पार्टीविरोधी तथा जनविरोधी कार्य गरे पनि केही नहुने । जब आफ्नो मन्त्री पद हट्छ अनि आफ्नै पार्टीको सरकारविरुद्ध तथानाम गाली गर्ने ? यस्तो पागलपन हाम्रा नेताहरुमा झल्किएको पाइन्छ ।

यस्ता विभिन्न कारणले गर्दा गत साता नेकपाका नेता सुरेन्द्र पाण्डेलाई चितवनको एउटा सार्वजनिक कार्यक्रमबाट जनताले लखेट्न थालेपछि मुस्किलले ज्यान जोगाएर भाग्नुपर्ने अवस्था सिर्जना भयो । पृथ्वीनारायण शाहलाई कीर्तिपुरका बहादुर जनताले खेदेर पक्राउ गरी मार्न लागेको जस्तो दृश्य झल्किने गरी फेसबुकमा अपलोड भएको उक्त दृश्यको भिडियो सार्वजनिक भएपछि नेकपाभित्रको अनमेल अझ स्पष्ट झल्किएको थियो ।

नेकपा गठन कालदेखि नै विभिन्न खालका अनमेल रहँदै आएको पार्टी हो । देशमा बहुदलीय प्रजातन्त्र पुनः बहाली भएसँगै चुनाव जित्ने नियतले मात्रै माक्र्सवादी र माक्र्सवादी लेनिनवादी पार्टी मिलेर नेकपा एमालेको गठन भएको थियो । त्यो बेलादेखि कायम रहेका ती दुई पार्टीबीचको बेमेल हालसम्म मेटिएको छैन । एकातिर पार्टी कुनै पद, लाभ वा सुविधाको कुरा हुने बेला यो कुन धारबाट आएको वा माक्र्सवादीबाट आएको हो कि माक्र्सवादी लेनिनवादी धारबाट आएको भनी हेर्ने चलन देखिएको थियो ।

पहिलोपल्ट २०५१ सालमा आफूहरु सरकारमा गएको बखतमा समेत माक्र्सवादीबाट आएको मनमोहन अधिकारीलाई प्रधानमन्त्री बनाएर माधव नेपाल माक्र्सवादी लेनिनवादीबाट आएकोलाई गृहमन्त्री बनाइयो । आज आएर केपी ओली पक्ष, झलनाथ पक्ष, माधव नेपाल पक्ष र अझ स्पष्टरुपमा देखा नपरे पनि वामदेव गौतम पक्ष भनी अलग्ग–अलग्ग मन्त्रीहरु राखेर सत्तालाई भागवण्डा गर्ने परिपाटी चलेको पाइन्छ । एक पक्षलाई खत्तम गर्नको लागि अर्को पक्षका मन्त्री राख्नुपर्ने भएर पनि प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल पुनः गठन गरी नयाँ–नयाँ मन्त्रीहरु ल्याएपछि नेकपाभित्र घोर असन्तोष उत्पन्न भएको हो । त्यसको परिणामस्वरुप आज पार्टीभित्रका नेताहरुलाई सांघातिक हमला गर्न शुरु गरिएको छ ।

यो क्रम अब यो भन्दा चर्किंदै जाने कुरामा दुईमत नहोला । आज माधव नेपाल पक्षका नेतालाई कडा कारबाही गर्न खोजियो, भोलि केपी ओली कतै गयो भने उनलाई बहिष्कार गर्ने कार्यक्रम तय हुनेछ । पर्सि झलनाथ र बामदेव गौतमलाई पनि यस्तै सजायको पालो आउन सक्छ । यस्तो टक्कर हुने बखत नेकपा आफैं चकनाचुर भएर सकिनुभन्दा अरु केही हुन्न । अनि कसरी माओवादीबाट आएका प्रचण्ड, बादल, भक्कु र नारायणकाजी श्रेष्ठजस्ता नयाँ अनुहारसँग टक्कर लिने समय आउने हो ? नेपाली कांग्रेसलाई त यसैले पनि हाइसन्चो हुने भयो नै ।

सरकारले गरेको घोर कमजोरीलाई लुकाउने खेलको रुपमा नै नेकपाभित्र चर्को विवाद देखाएको हुनुपर्दछ । होइन भने केपी ओली र प्रचण्डको बीच यति चर्को विवाद सिर्जना भएर बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने खेल यता न उता परिरहेको यो समयमा माधव नेपाल पक्षका एक नेतालाई आक्रमण गर्नुपर्ने अवस्था किन आयो ? भन्न त पार्टीका नेताले सार्वजनिक कार्यक्रममा बोलेको कुरालाई लिएर भएको त्यस आक्रमणमा सहभागी कोही पनि कार्यकर्तालाई बाँकी नराखी कारबाही गर्ने भनी केन्द्रीय समितिले निर्णय गरिसकेको छ । तर यसबाट पार्टीलाई कहाँ पु¥याउला भनी सीधै अनुमान गर्न सकिने कुरा हो । यो पहिलोपल्ट भएको आक्रमणको घटना पनि होइन । उनीहरुबीच धेरैपल्ट त्यस खालका आक्रमण, प्रत्याक्रमण तथा मारपिटका घटनाहरु हुने गरेका छन् । पार्टी महाधिवेशन हुने बेला माधव नेपाल र केपी ओलीको पक्षमा प्रचार हुने बेला दुईवटा अलग–अलग ध्रुवका पार्टीभित्रका नेता–कार्यकर्ताजस्तै प्रचार हुन्छन् ।

यसरी नेकपाभित्र देखिएको यो विवादले आज नेपाली जनतालाई अन्यौलमा पारेको छ । देशको विकास निर्माण, शिक्षा र स्वास्थ्यको राम्रो व्यवस्थाका साथै अन्तर्राष्ट्रिय हस्तक्षेपबाट बच्नेजस्ता राष्ट्रिय मामलासमेत आज छायामा पर्ने गरेको छ । त्यसको मूल कारण भनेको आफू शासक दल भएर पनि उनीहरुले शासन पद्धतिलाई राम्ररी सञ्चालन गर्न नचाहेको हो । बेमानहरुको पक्ष लिएर सरकारमा गएका दलहरुले काम गरिरहेका कारण आज देश नै रसातलमा पुग्ने गरेको छ । उद्धारको लागि आएका नयाँ दलले नाममात्रै प्रतिपक्षी बनेर मौन बसिरहेको छ । सारा जनताले चाहेको बजार भाउ सस्तो गर्ने, समयमा कृषकहरुलाई मल ल्याइदिने जस्ता विभिन्न कुराहरु छायामा पर्ने गरेको छ । सारा जनतालाई खान, बस्न र लाउन व्यवस्था गर्ने कुरामा ध्यान नै नदिएर अन्न उत्पादन गर्ने कृषकहरुको मागलाई बेवास्ता गरी यहाँ जनतालाई सरकारले दुःख दिइरहेको छ ।

यस्तो शासन पद्धतिलाई पन्छाएर सरकारमा गएका नेताहरुले राम्ररी काम गर्न नसकेको अवस्थामा उनीहरुलाई गुनासो गर्ने, हुन्न भन्ने र सके हटाएर आफू सरकारमा जाने प्रतिपक्षीको दायित्व हो । तर शासन पद्धतिभित्र चल्ने त्यो निरन्तर कार्यलाई निहुँ बनाएर सरकारको आलोचनाको नाममा सीधै विरोध गरी सरकारलाई नै घुँडा टेक्न लगाएर अराजकता सिर्जना गर्न खोज्यो भने त्यसबाट पार्टीलाई त सीधा नोक्सान हुने नै भयो, जनताले पनि अवश्य दुःख भोग्न तयार हुनुपर्ने बेला आउन सक्छ ।

नेकपा त्यसै पनि मिस्कट पार्टी भइसकेकाले यसबाट स्पष्ट सोच, धारणा र सैद्धान्तिक अवधारणा बाहिरिने अपेक्षा गर्नु नै बेकार भएको छ । आज नभए पनि भोलि कम्युनिस्टहरु सबै एक ठाउँमा अवश्य आउनेछन् । तर कम्युनिस्टको नाम नै बदनाम हुने गरी गुट–उपगुटको नेता भएर पार्टी नेतृत्व गर्ने काममा सदा आफूलाई समर्पण गरी हिँड्ने नेताहरुका कारण हाम्रो देशमा जनताले कहिल्यै पनि सुख, शान्ति र अमनचयन प्राप्त गर्ने अवस्था सिर्जना भएको छैन । नेपालमा कम्युनिस्टको नाममा पुँजीवादी शासन पद्धति चलिरहेको कारण तुलनात्मकरुपमा प्रगतिशील विचारले काम गर्न नसकिरहेको हो । नाम मात्रै गणतन्त्र, समाजवाद उन्मुख संविधान भनेर वास्तविकतामा पुँजीवादमा चुर्लुम्म डुबेको देश भएर पनि आज कतै पनि नयाँ पद्धति र नयाँ अवधारणाले स्थान ओगट्न नसकिरहेको हो ।newsofnepal/from

 

प्रतिकृया दिनुहोस्