‘समाचार र विचारको
साझा चौतारी’




हामीबीच टकराव छैन : पल-पुष्प


फिल्मीखबर, काठमाडौं, 2021/01/06

म्यूजिक भिडियो हुँदै फिल्ममा फड्को मारेका अभिनेता हुन्, पल शाह र पुष्प खड्का । पलले फिल्म ‘नाईं नभन्नू ल ४’ बाट लिड अभिनेताको रुपमा ब्रेक पाएका थिए भने पुष्प पहिलो फिल्म ‘अझै पनि’ मा सहायक भूमिकामा थिए । पललाई डेब्यू फिल्मले नै रातरात स्टार बनाएको थियो। पुष्पको करिअरले भने गति लिन केही समय लाग्यो । फिल्म ‘मंगलम’ बाट उनी स्टार बनेका थिए ।

म्यूजिक भिडियोबाट राम्रो क्रेज बनाएका उनीहरुबीच निकै राम्रो सम्बन्ध छ । तर, फिल्मवृतमा पल र पुष्पलाई एकअर्काका प्रतिस्पर्धी भन्ने गरिन्छ । यद्यपि, उनीहरु यो कुरा स्वीकार गर्दैनन् । आफूहरुबीच कुनै प्रकारको प्रतिस्पर्धा नभएको उनीहरुको भनाई छ । पलले छाडेको फिल्म ‘तिम्रो मेरो साथ’ पुष्पले साइन गरेपछि भने उनीहरुबीच अघोषित टकराव सुरु भएको चर्चा छ ।

तर, यो कुरालाई दुवैले अफवाह बताएका छन् । फिल्म ‘मनसँग मन’ को एक गीतको छायांकनको क्रममा पलले आफूहरु मिल्ने साथी रहेको र सधैं हुने बताए । पुष्पले पनि उनको कुरामा सहमति जनाउँदै भने- ‘हामी म्यूजिक भिडियो ब्याकग्राउन्डबाट आएका हौं । हामीबीच पहिल्यैदेखि ट्यूनिङ राम्रो थियो । कारणवश् पलले गर्न नसकेको फिल्म मैले गरेँ । तर, त्यस्तो टकराव छैन ।’

पलले कथावस्तु चित्त नबुझेपछि ‘तिम्रो मेरो साथ’ बाट हात झिकेको चर्चा छ । यद्यपि, यसबारेमा उनले कुनै जानकारी दिएका छैनन् । रमेश एमके पौडेलले निर्देशन गर्ने यो फिल्मको नाम पहिला ‘रेड वाइन’ राखिएको थियो । पलले फिल्म छाडेपछि निर्माण टिमले उनको ठाउँमा पुष्पसँग सम्झौता गरेको हो । फिल्ममा अभिनेत्री साम्राज्ञी आरएल शाह पनि मुख्य भूमिकामा रहनेछिन् ।

प्रतिकृया दिनुहोस्