‘समाचार र विचारको
साझा चौतारी’






खाँचो क्रान्तिकारी पार्टी एकताको


– सम्पादकीय

नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्न छरिएर रहेका कम्युनिस्ट क्रान्तिकारीहरुको एकता अनिवार्य रहेको नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ले बताउँदै आउनु भएको छ । उहाँले अहिलेको परिस्थितिमा ती सबै कम्युनिस्ट क्रान्तिकारीहरुलाई एकताको सूत्रमा बाँध्ने दायित्व आफ्नो र आफ्नो पार्टीको भएको पनि बताउने गर्नुभएको छ । डिसेम्बर ११ अर्थात् माओ दिवसका दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पनि महासचिव किरणले उक्त कुरा दोहो¥याउनु भएको थियो । सो अवसरमा उहाँले केही राजनीतिक पार्टीहरुसँग क्रान्तिकारी संयुक्त मोर्चा र पार्टी एकताका लागि पहल भइरहेको पनि खुलासा गर्नुभएको थियो । त्यसको केही दिनमै नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (विप्लव), नेकपा (ऋषि कट्टेल) र आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीबीच संघीय जनगणतन्त्र तथा वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि रणनैतिक क्रान्तिकारी संयुक्त मोर्चा निर्माण गर्ने सहमतिको घोषणा गरियो । सहमति भएको घोषणा गरिएको वक्तव्यमा केपी ओली सरकारको निरंकुशता, फासिवाद र दलाल तथा प्रतिक्रियावादी राज्यसत्ताका विरुद्ध अग्रगामी राजनीतिक निकासको ऐतिहासिक पहलकदमीका निम्ति रणनैतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति र यसको अवधारणा, संरचना र आगामी कार्यक्रम शिघ्र घोषणा गरिनेछ समेत बताइएको छ ।
यो संयुक्त मोर्चा निर्माणको सहमतिले नेपाली कम्युनिस्ट आन्दोलनको देशभक्त तथा क्रान्तिकारी पंक्तिलाई र आमूल परिवर्तनका पक्षधर जनपंक्तिलाई समेत उत्साहित बनाएको छ । अर्कोतिर यो सहमतिले यथास्थितिमा गोलचक्कर मारिरहेको र पुनरुत्थानवादीहरुले समेत टाउको उठाउन लागेको विकसित राजनीतिक परिस्थितिमा अग्रगामी तथा क्रान्तिकारी राजनीतिक निकासका लागि मार्ग प्रशस्त गरेको छ र नेपाली राजनीतिक रंगमञ्चमा क्रान्तिकारी राजनीतिक धार अगाडि आएको छ । यो धारलाई नेपाली राजनीतिको अबको मूलधार बनाउन र मुलुकलाई अग्रगामी तथा क्रान्तिकारी राजनीतिक निकास दिन यो धारलाई सबल र प्रबल बनाउन जरुरी छ । त्यसका लागि अब चाँडै बाँकी क्रान्तिकारीहरुलाई पनि संयुक्त मोर्चामा ल्याउन र यो क्रान्तिकारी संयुक्त मोर्चालाई क्रान्तिकारी पार्टी एकतामा रुपान्तरण गरी शक्तिशाली क्रान्तिकारी पार्टी निर्माण गर्न जरुरी छ । कार्यगत एकतामा रहेका २३ राजनीतिक संगठनबीच पनि संघीय जनगणतन्त्र र वैज्ञानिक समाजवादको मुद्दामा एक ठाउँ आउने, ल्याउने वातावरण सिर्जना गर्न जरुरी छ । यो अहिलेको समयको माग र इतिहासले क्रान्तिकारीहरुलाई सुम्पेको प्रमुख जिम्मेवारी र दायित्व पनि हो ।

यसरी संयुक्त मोर्चालाई पार्टी एकतामा विकसित गर्न सकिएको खण्डमा क्रान्तिकारी ध्रवीकरणले तीव्रता पाउने वस्तुगत अवस्था सुदृढ बनेर गएको छ । क्रान्तिका लागि स्वर्णिम अवसर रहेको अहिलेको वर्तमान अवस्थामा क्रान्तिकारीहरुको आत्मगत अवस्थालाई सुदृढ पार्ने र विकसित राजनीतिक परिस्थितिमाथि पहलकदमी बढाउँदै परिस्थितिलाई लक्ष्य र उद्देश्य अनुसार दिशा दिन सक्ने स्थिति प्रबल बनेर गएको छ। केही निहीत महत्वकांक्षा र आग्रहहरुलाई तपशीलमा राखेर मिलेका कुराहरुबाट एकताको प्रक्रिया अगाडि बढाउने र नमिलेका कुराहरुलाई पार्टीका विभिन्न निकायहरुमा छलफल बहस गर्दै टुंग्याउने गरी पार्टी एकताको कोर्स अगाडि बढाउनु अहिलेको अपरिहार्य आवश्यकता बनेको छ । संघीय जनगणतन्त्र र वैज्ञानिक समाजवादलाई केन्द्रमा राखेर गरिने सिद्धान्तनिष्ठ एकताले अबरुद्ध बनेको समाजको आर्थिक–सामाजिक रुपान्तरणलाई अवश्यै पुनः तीव्रता दिनेछ । र, वास्तविक रुपमा शोषित उत्पीडित वर्ग र समुदायको राजनीतिक व्यवस्था स्थापना गर्न सकिने  । जसले बर्षौदेखि हल गर्न नसकेको राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरुको दीर्घकालीन समाधान दिन सक्नेछ । यसतर्फ सबै छरिएर रहेका कम्युनिस्ट क्रान्तिकारीहरुले बेलैमा ध्यान दिन जरुरी छ । र, इतिहासले सुम्पेको जिम्मेवारी बहन गर्न सबैले आ–आफ्नो ठाउँबाट पहल बढाउन जरुरी छ । क्रान्तिकारी रुपान्तरणसहितको सिद्धन्तनिष्ठ एकता आजको आवश्यकता हो ।moolbato.com/from,२०७७ पुस २३

प्रतिकृया दिनुहोस्