‘समाचार र विचारको
साझा चौतारी’




अक्सर दासहरु यसै गर्छन्


जी एन शर्मा

कविता

दासहरु अक्सर यसै नै गर्छन्
किनकी दास हुनुको परिचय नै यही हो
सत्य र झुठो उनीहरुको सरोकार होइन
मात्र जान्दछन् त केवल मालिकको वचन
मालिकले कालोलाई र सेतो हो भन्छ, दासहरु हो हो भन्छन्
मालिकले फेरि सेतोलाई कालो हो भन्छ, उनीहरु हो त भन्छन्
रात दिन उनीहरु याद गर्दैनन्, किनकी यो पनि मालिकले नै भन्छ
जब मालिक बोल्छ , दासहरु बोल्छन्
मालिक मौन हुन्छ, उनीहरु मौन रहन्छन्
किनकी दास हुनुको असल परिचय दासहरुलाई थाहा हुन्छ

मालिक नै उनीहरुको सत्य हो अनि आफु दास हौँ भन्ने पनि उनीहरुको सत्य हो
आफ्नो विवेकको कहिल्यै उनीहरु प्रयोग गर्दैनन्
आफ्नो अक्कलको कहिल्यै ख्याल गर्दैनन्
किनकी दासहरु मालिकलाई हेर्छन् र त्यसैलाई सत्य हो भन्छन्
मालिकले मर भन्दा हस् भन्छन् , मालिकले बाँच भन्दा हस् भन्छन्
मालिकले जे जे भन्छ उनीहरु त्यही त्यही गर्छन्
दास हुनुको मज्जा दासहरुलाई नै थाहा छ
कुनै मिहेनत, नत कुनै अन्यौल किनकी उनीहरुसँग सबै थोक मालिक हुन्छ
अक्सर दासहरु यसै भन्छन् जे जे मालिकले भन्ने गर्छ
उनीहरु त्यसै गर्छन् मालिकले जे जे सिकाउँछ

आगोलाई उनीहरु पानी पनि भन्छन्, पानीलाई उनीहरु राँको पनि भन्छन्
दिनलाई रात र रातलाई दिन
सत्यलाई झुठो र झुठोलाई सत्य
किनकी उनीहरु दास हुन्
दासको अर्थ मालिकको सेवक हो
त्यो सेवक जो आजन्म बाँचेको स्वरुपमा मरिरहेको हुन्छ
हाँसेको रुपमा रोइरहेको हुन्छ
नाचेको मुद्रामा हल न चलको हुन्छ
स्वतन्त्रको नाममा मुर्दामा चिच्याई रहेको हुन्छ
अक्सर दासहरु यस्तै हुन्छन् र यसै गरिरहेका देखिन्छन्

प्रतिकृया दिनुहोस्