‘समाचार र विचारको
साझा चौतारी’






पाखण्डी धर्मदूतहरु !


२०७७ माघ २९
– इश्वरचन्द्र ज्ञवाली

मैले नै मन्दिर बनाएँ
त्यसकाे धुरीमा चढेर मैले नै माैलाे र गजूर राखें
रङ्गराेगन भरें र चम्काएँ
त्याे पावन, शुद्ध र पवित्र छ
मैले नै पूजाका थाली वत्तीका पाला
अर्थात् पूजाका सर्जाम बनाएँ
ती सबै न जुठा न बिटिला मानिन्छन्
अम्खरा, पानी खाने झारी, करुवा
पानीका गाग्री ताउला सबै सबै पवित्र छन्
तर म नै अछूत र बिटिलाे मानिन्छु
मैले नै मन्दिरकाे बलेनी नाघ्नु हुन्न ।
मैले बनाएका थालमा खान हुन्छ
गिलास कटाैरा सबैबाट
मेरै पसिना मिसिएकाे साेमरस पिउन हुन्छ
मैले काटेकाे रक्त मिश्रित मासुले विलासी भाेज चल्छ
मैले बनाएकाे मुर्चुङ्गा,सनई वा मुरली मुखमा राखेर बजाउनु हुन्छ
सारङ्गी मादल सितार वा एकतार सबै चल्छ
मेरै भाका गीत संगीत वा लय मुखले गाउन हुन्छ
मेराे रगत लिपिएका श्रमका सबै उत्पादन
सास भरिएका, सुस्केरा अनि पसिना पाेतिएका कलाका साधन
मैले बनाएका जुत्ता, सिलाएका वश्त्र /परिधान लाएर
मन्दिर मन्दिर घुम्न हुन्छ
मेरा हातका शीप काैशल, पाइजु बाला शिरफूल वा
अाभूषणले सजिएर भाेज पूजा वा मन्दिर जान हुन्छ
मैले दिएर रगत उपल्लाे जात कति बाँचेकाे छ
मेरै रगत चढाएर मर्न लागेकाे बाहुनले जीवन पाएकाे छ
मेरै कलिलाे शिशु साटेर छाेराे बनाउन हुने
निःसन्तानले काेख लिएर कन्यादानमा जल खान हुने
तर मलाई छुन नहुने ।
मैले बनाएकाे सातु चिउरा बिस्कुट झाेल रस सबै त खान्छाै
मैले पालेका गाई भैंसीकाे घिउ नाैनी चिजविज सबै तखान्छाै
मैले दुहेकाे दुध राखेकाे दही बनाएकाे माेही पनि त सबै निल्छाै
मैले नै बनाएका ठेकी हर्पे चुल्ठी ढुङ्ग्राे साेमर्न हुने
मेरै ठेकाेमा माेही पार्न हुने मचाहिं अछुत हुने ।
अाेह ! धर्मका ठेकेदार कति विवेकहीन छ तिम्राे धर्मशास्त्र ?
मैले खनेकाे जमिन, मैले हालेकाे जग, मैले ठड्याएकाे घर
मैले पाेतेकाे पसिनाकाे नीलाे रङ्ग, मैले लिपेकाे राताे अाँगन
मैले खनेकाे ईनार मैले नै बनाएकाे गाेमुखी धारा
मेराे हाडखाेर गलेकाे भुईमा उभिएकाे महल
सबथाेक त पवित्र छ तर मै किन अपवित्र !!
मैले नसिलाएकाे भए के लाउथ्याै ?
मैले नउब्जाएकाे भए के खान्थ्याै ?
मैले न बनाएकाे भए कहाँ बस्थ्याै ?
मैले नदिएकाे भए कुन सास फेर्थ्याै ?
मैले नबनाएकाे भए मूर्ति र मन्दिर
कहाँ कसकाे पूजा गर्थ्याै ?
मैले नसिर्जिएकाे भए कुन भजन गाउँथ्याै के नाच्थ्याै ?
बाहुनहरुलाई लुकेर मेरा छाेरी चेली रातबिरात चल्ने
तर पानी नचल्ने !!
कुनचाहिं मदिरालयमा जाँदा तिमीले
जातपात खुट्ट्याएका छाै ?
कुनचाहिं नगर वधु घरमा बाेलाउँदा तिमीले
नामथर साेधेका छाै ?
भन त ए ! पाखण्डी अभिजात कर्मकाण्डीहरु ?
मैना सुनारकाे अस्मिता लुट्दा जात साेध्याै ?
भन त ए पुराेहित उँच पण्डाहरु
कुनचाहिं काेठीमा पुग्दा वेश्यासँग कुल र नाम साेध्याै ?
कति लुकेका छन् तिमीमा अाडम्बर र पाखण्ड
हाम्रा अाँसु पसिना रगत लुट्न बनाइएका तिम्रा सङ्कीर्ण धर्मशास्त्र ?
तिम्रा जड रुढ अन्ध नीच संहिता र मन्त्र ।
मेराे हृदयभित्र वसिरहेकाे जीवनरुपी ईश्वर
कर्मकाे धर्म र स्पन्दित-अात्मालाई लात हानेर
मेराे मुटुमा समाहित मानवत्व
सारा शीप कला काैशल र अस्तित्वलाई हेपेर निच्याएर
नक्कली उच्चता र शुद्धताकाे स्वाँग रच्ने
ए धूर्त छली ब्राह्मणवादी उच्च जात ?
भन त तिमीमा कहाँ छ मानवता
छ कहाँ तिम्राे धर्म र आस्था ?
मैले जाेतेका खेतकाे अक्षता निधारमा टाँसेर
तिमी उँच हुने मचाहिं नीच ?
मनमा सधै घृणा निन्दा तिरष्कार पकाएर
भेदभाव र अपमानका रक्सीकाे गन्धमा गनाएर
तिमी जस्ता ढाेंगी र पाखण्डी अझ सभ्य हुने ?
तिम्रा मन्त्र र धर्मशास्त्र जङ्गली युगका नियम हुन्
ती त दासहरुलाई जेलेर राख्ने धर्मका क्रूर कानून हुन् ।

moolbato.com/from

प्रतिकृया दिनुहोस्