‘समाचार र विचारको
साझा चौतारी’






‘कृष्ण लीला र मनसँग मन’ को रिलिज मिलाउन पुष्पको पहल


फिल्मीखबर, काठमाण्डौ, 2021/02/15
कोरोनाका कारण ९ महिनासम्म बन्द रहेका सिनेमा हल गएको पुष १० गतेबाट सञ्चालनमा आए । तर, जुन अपेक्षासहित हल व्यवसायीहरुले सिनेमा हल खोल्ने निर्णय गरेका थिए, त्यसअनुरुप दर्शकको साथ मिल्न सकेको छैन । नयाँ फिल्म ‘एउटा यस्तो प्रेम कहानी र मास्टर’ ले समेत हलमा दर्शक तान्न नसक्दा तत्काल नयाँ फिल्म प्रदर्शन गर्ने आँट निर्माताले गर्न सकेका छैनन् ।

अहिले सिनेमा हलमा नयाँ फिल्मको खडेरी छ । आउँदो चैत २७ गते भने तीन ठूला नेपाली फिल्मबीच भिडन्त हुँदैछ । यो मितिमा ‘कृष्ण लीला, लप्पन छप्पन २ र मनसँग मन’ प्रदर्शनका लागि तयार छन् । यी तीन फिल्मले सिनेमा हलमा दर्शकको भीड फर्काउने अपेक्षा धेरैको छ । तर, अभिनेता पुष्प खड्का भने आफू अभिनीत दुई फिल्म एकै मितिमा भिड्ने भएपछि तनाबमा छन् ।

फिल्म ‘कृष्ण लीला र मनसँग मन’ मा उनको मुख्य भूमिका छ । करीब डेढ वर्षको अन्तरालमा काम गरेका दुई फिल्मको प्रदर्शन मिति जुधेपछि यतिबेला उनले दुवै फिल्मका निर्मातासँग रिलिज मिलाउन पहल सुरु गरेका छन् । शनिवार पोखराबाट फिल्म ‘तिम्रो मेरो साथ’ को छायांकन सकेर काठमाडौं फर्किएका उनले दुई फिल्मको रिलिज मिलाउन आफूले कुनै कसर नछाड्ने बताए ।

उनले भने- ‘दुवै फिल्मको गीत र प्रदर्शन मिति घोषणा भइसकेको छ । म एकपटक दुवै टिमलाई भेटेर रिलिज मिलाउने प्रयास गर्छु । सायद हुन्छ होला जस्तो लागेको छ । विशेषगरी यो कुरा निर्माता र वितरकले बुझिदिए राम्रो हुन्छ । एउटै कलाकारको दुईटा फिल्म एकसाथ रिलिज हुनु राम्रो होइन ।’ दुवै फिल्म एकसाथ रिलिज भए आफूलाई ठूलो समस्या उत्पन्न हुने उनी बताउँछन् ।

‘दर्शकहरुले एउटै कलाकारको दुईटा फिल्म हेर्न भ्याउँदैनन् र दुईटै फिल्म हेरिदिनु भन्न मलाई पनि गाह्रो हुन्छ । दर्शक पनि बाँडिन्छन् । प्रमोसनमा हिँड्न पनि गाह्रो हुन्छ । त्यसैले मेरो लागि दुईटा फिल्म नजुधेको राम्रो,’ उनले भने । लकडाउनका कारण आफू अभिनीत फिल्मको रिलिज विग्रिएको उनको तर्क छ । उनले ‘मनसँग मन’ मा लकडाउनभन्दा अगावै काम गरेका थिए ।

कोरोनाका कारण धरासायी अवस्थामा पुगेको फिल्म क्षेत्रलाई चलायमान बनाउन यो समयमा फिल्म प्रदर्शन गर्न अगाडि सर्ने निर्मातालाई सबैले साथ र सहयोग गर्नुपर्ने उनको भनाई छ । पुष्प भन्छन्, ‘अहिले दर्शक हलमा आउँछन् कि आउँदैनन्, यो सबैभन्दा ठूलो च्यालेन्ज हो । यस्तो अवस्थामा फिल्म प्रदर्शन गर्ने जोखिम उठाएका निर्मातालाई दर्शकहरुले साथ दिनुपर्छ ।’

प्रतिकृया दिनुहोस्